‘अर्जुन रेड्डी’को नेपाली रिमेक निर्देशन गर्दै विशाल

काठमाडौंः तेलुगु सफल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने खबरले चलचित्र बजारमा एक खालको तरङ्ग फैलिएको छ ।

चलचित्रको मुख्य पात्रका लागी विभिन्न कलाकारहरूको नाम मिडियामा आइरहेको छ । तर यसबारे कुनै पुष्ट खबर भने आएको छैन । यता कलाकारको चर्चा भईरहदा निर्माण पक्षले भने निर्देशकको नाम सार्वजनिक गरेको छ ।

‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई निर्देशन गर्ने छन्, विशाल सापकोटाले । सापकोटा निर्देशित चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनको सँघारमा रहेको छ । यसका साथै चलचित्र निर्माणमा ‘युवा फिल्म्स’सँग ‘जी २१ फिल्म्स’ले पनि सहकार्य गर्ने भएको छ ।

‘जी २१ फिल्म्स’ जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको ‘युवा फिल्म्स’का केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए । यस अघि ‘जी २१ फिल्म्स’ले निर्माण गरेको चलचित्र ‘दुई रुपैयाँ’ निकै सफल भएको थियो ।

यता ‘जि २१ फिल्म्स’को तर्फबाट आसिफ शाहले ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्नु नेपाली चलचित्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरू चलचित्र निर्माणमा सहभागी भएको बताए ।

चलचित्रको लागि यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकारलगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्