बुद्धको इतिहाससँग जोडिएको प्राचीन पोखरीमा वडा कार्यालय बनाइँदै

काठमाडौंः पश्चिम नेपालको रूपन्देहीमा गौतम बुद्धको इतिहाससँग जोडिएको मानिने एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएको छ।

तत्कालीन मक्रहर गाउँ विकास समिति वडा नं ६ मा रहेको उक्त पोखरीमा अहिले नगरपालिकाको वडा नं ११ मा पर्छ। पोखरी रहेको स्थानमा वडा कार्यालय बनाउन सुरु गरिएको वडाध्यक्ष मुक्तिराम चौधरीले बताए।

वडा कार्यालय बनाउन पोखरीको झन्डै आधा भागमा कङ्क्रिटको ढलान गरिसकिएको छ। पिलर ठड्याउने बनाउने तयारी पनि हुँदैछ।

वडाध्यक्ष चौधरीले भने, “पोखरी मास्न त मन थिएन, तर त्यो ठाउँ सबैको पायक पर्ने भएकोले पोखरीमै भवन बनाउने निर्णय गरिएको हो।” उक्त पोखरी एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको थियो।

बाँकी पोखरीलाई नमुना बनाउने

पोखरीको संरक्षण गर्ने भन्दै नगरपालिकाले गत वर्ष मात्र वरिपरि पर्खालले घेरेको थियो ।

नगरप्रमुख वासुदेव घिमिरे भन्छन्, “पोखरी मास्ने योजना भएको भए नगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर पर्खाल बनाउने थिएन। तर सबै वडावासीलाई पायक पर्ने ठाउँ भएकोले वडा कार्यालय त्यहीँ बनाउने निर्णय गर्‍यौँ।”

“भवन बनाएर बचेको पोखरीको भागलाई नमुना किसिमले संरक्षण गर्नेछौँ।” तर उनले पोखरी मासेर कस्तो नमुना पोखरी बनाउने भन्ने बारे केही खुलाएनन्।

वडाध्यक्ष चौधरीका अनुसार पानीको सतहमुनिबाट उठाइने पिलरमा भवन बनाइनेछ भने भवनसम्म पुग्न त्यहाँ एक पक्की पुल पनि बनाइनेछ। बीबीसीबाट

कमेन्ट गर्नुहोस्