खान नपाएर मर्न लागेका सिंह! तस्बिर भए भाइरल

सुडानको राजधानी खारतोमस्थित एउटा अस्तव्यस्त चिडियाखानामा रहेका सिंहका माया लाग्दा तस्बिरले अहिले निकै चर्चा पाइरहेको छ । पुराना, खिया लागेका खोरभित्र देखिएका तीन वटा पोथी सिंह एकदमै दुब्ला र अस्वस्थ छन्। पार्कभित्र रहेको यो चिडियाघरमा बचेका सबै सिंहको अवस्था यस्तै रहेको टाइम डटकमले लेखेको छ।

झोलिएको छाला, खप्लक्क निस्किन लागेका जस्ता आँखा, करङ मात्र देखिने यी सिंह दुब्ला तर अलि ठूलो कदका बिराला जस्ता मात्र देखिन्छन्। यी तस्बिर सार्वजनिक भएसँगै जनावर अधिकारकर्मीहरूले चिडियाघरमाथि कारवाही हुनुपर्ने माग राख्न थालेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू र सरोकारवालाहरूको पनि यसमा ध्यान खिचिएको छ।

संसारभरबाट सुडानको यो चिडियाखानाका सिंहमाथि सहानुभूति प्रकट भए पनि दुई सिंह बचाएर मात्र नपुग्ने स्थानीय अभियन्ता जुहैर अल–सरागले बताएका छन्।

‘यो अपराध हो’ जुहैरका भनाइ उद्धृत गर्दै टाइमले लेखेको छ, ‘कोही न कोही यो अपराधको जिम्मेवार हुनैपर्छ।’

यो चिडियाघरमा अरू थुप्रै जनावरको अवस्था पनि नाजुक रहेको बताइएको छ। धेरै सिंह र अरू जनावरको खान नपाएरै मृत्यु भएको पनि स्थानीय अभियन्ताहरूले बताएका छन्।

केहीलाई भने चिडियाखानाबाट निकालिएको पनि छ। सुडानको आर्थिक अवस्थाका कारण चिडियाघरका जनावरको अवस्था बिग्रँदै गएको बताइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्