काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारबृद्धि र आर्थिक विकासका क्षेत्रमा ढुक्क भएर काम गर्न नीजि क्षेत्रलाई आग्रह गरेका छन् ।
६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनमा सुधार गर्दै व्यापार सहजीकरणका लागि नीजि क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने बताए । उनले भन्सार कार्यलयहरुलाई प्रविधि मैत्री बनाउँदै पूर्वाधार निर्माण र व्यापार सहजीकरणमा सरकार अघि बढिरहेको स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले भन्सारको कर्मचारीमा सदाचारिता कायम गर्दै स्वविवेकीय अधिकार कम गर्न भन्सार प्रशासनमा सुधार गर्दै लगिएको जानकारी दिए । उनले विधि बसाउन खोलिएका सम्पति सुद्धिकरण, राजश्व अनुसन्धानसँग त्रास र डर नमान्न र बैंकका व्याजदर बृद्धि, व्यापार घाटाजस्ता विषयमा अनावश्यक त्रास र चासो देखाउन आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले नेपाल विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामा नै अग्रस्थानमा रहेकाले व्यापार घाटा बढेर मुलुकमा विदेशी मुद्रा सञ्चिति नहोला भन्ने त्रास मान्न आवश्यक नभएको स्पष्ट पारे ।