प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

जनकपुरधामः प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै तोक्ने सहमति भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएको छ’ उनले भने, ‘संसदीय प्रक्रिया भने पूरा गर्न बाँकी छ ।’

यादवका अनुसार प्रदेश राजधानीको सीमा उत्तरमा पूर्वपश्चिम राजमार्गस्थित ढल्केबर, दक्षिणमा भारतीय सीमासम्म तथा पूर्व र पश्चिम परिक्रमा रोड रहनेछ ।

सबै दलको सहमतिमा राजधानी तोक्ने काम भएकाले प्रदेशसभाबाट पारित हुने सभामुख यादवले बताए । ‘सर्वसम्मत निर्णय भए पनि प्रदेशसभामा मतदान गर्नैपर्ने हुन्छ’ उनले भने, ‘पक्षमा दुई तिहाई मतदान भए मात्रै यो पारित हुन्छ ।’

५ भदौमा दलहरुले प्रदेशको स्थायी राजधानीका लागि चार वटा फरक फरक प्रस्ताव दर्ता भएको छ । सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमा प्रस्ताव दर्ता गराउँदा राजधानी जनकपुरधाम मिथिला माध्यमिकी परिक्रमा सडक र धनुषाको उत्तरमा ढल्केबर पूर्वपश्चिम राजमार्गको पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सिमासम्मको भागलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो ।

कमेन्ट गर्नुहोस्