एजेन्सीः इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासको प्रांगणमा आइतवार तीनवटा रकेट प्रहार गरिएपछि एकजना घाइते भएको एक अमेरिकी अधिकारीले बताएका छन् ।
ती अधिकारीले सैनिकलाई सामान्य चोटपटक लागेको र उनी ड्युटीमा फर्किसकेको बताए । अमेरिकाको परराष्ट्र मन्त्रालयले आइतवार राति आफूहरूलाई इन्टरनेसनल जोनमा रकेटहरू खसेको समाचारको जानकारी रहेको बताए । अमेरिकी दूतावासका कुनै कर्मचारी घाइते भए नभएको भन्ने प्रश्नमा मन्त्रालयले जवाफ दिएन ।
परराष्ट्र मन्त्रालयले यस रकेट आक्रमणको दोष तेहरानमाथि सीधै लगाएन तर प्रवक्ताले उक्त क्षेत्रमा इरानी जोखिमको सन्दर्भ चाहिँ दिए । आक्रमणको जिम्मेवारी तत्कालै कसैले लिएको छैन ।
‘सुरक्षा स्थिति तनावग्रस्त नै छ अनि इरानको समर्थन रहेका समूहहरू अझै पनि जोखिमका रूपमा रहेका छन् । त्यसैले हामी सचेत छौं,’ प्रवक्ताले भने । सेप्टेम्बर महिनादेखि इरानले इराकमा रहेका अमेरिकी सैनिकहरूमाथि १४ भन्दा बढी आक्रमण गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इराकका प्रधानमन्त्री अदिल अब्दुल माहदीले आक्रमणको भर्त्सना गरे अनि इराकी बलहरूलाई यस्ता आक्रमण दोहोरिन नदिन खोज तथा अनुसन्धान गर्न रकेट प्रहार गर्नेलाई पक्राउ गरेर दण्ड दिन आदेश दिए ।
इराकी सरकार सबै कूटनीतिक मिसनको सुरक्षाका लागि प्रतिबद्ध रहेको र यो हासिल गर्न सबै आवश्यक उपाय अपनाइरहेको बताए ।