काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूबीच सोमबार दिउँसो झडप भएको छ ।
विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका संघका पूर्व महासचिव कुन्दनराज काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला संस्थापन पक्षले आक्रमण गरेको हो ।
सोमबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले विधान विपरित ५० वर्षीय राजीव ढुङ्गानालाई संघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् । नेविसंघको नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला नेविसंघका नेताबीच कुटाकुट भएको हो ।