सिरहाः शिक्षकको कुटपिटबाट सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीको हात भाँचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका–२ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो । गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबार रितिकमाथि कुटपिट गरेपछि बाँया हात भाँचिएको उनका आफन्तले जनाएका छन् ।
नेपाली विषयका शिक्षक कार्कीलाई विद्यार्थी रितिकले हात कालिएकोले गृहकार्य गर्न सकिन भन्दाभन्दै पनि कुटपीट गरेको बताए । उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन, शिक्षकलाई पनि यही कुरा भनें, तर उहाँले सवैको गृहकार्य चेक गरिसकेपछि मलाई लठ्ठिले हाने, मेरो हात भाँचियो ।’ मैले नकुट्न आग्रह गर्दा पनि शिक्षकले सुन्दै सुन्नुभएन, मलाई लाठीले कुटेको कुट्यै गर्नुभयो’ रितिकले सुनाए ।
कुटपिटबाट यादवको हात भाँचिएको परिवारजनले जनाएको छ । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए । घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घटना भइसकेको छ, यसमा मैले अब के भन्ने रु भन्दै आफूसँग घटनाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।