९१ वर्षको उमेरमा आफू समलिङ्गी भएको स्वीकार्ने पादरी

बीबीसीः “म जन्मिँदै समलैङ्गिक थिएँ। तर मैले त्यो स्वीकार्न सकिनँ। जीवनको अधिकांश समय मैले म त्यस्तो नभएको भए हुन्थ्यो भन्ने सोचेँ,” रेभरेन्ड स्ट्यान्ली अन्डर्हिलले भने।

सानो उमेरमै उनले आफू अरूभन्दा भिन्न भएको अनुभूति गरे। तर कसैलाई भन्न सकेनन्।

“मैले मेरो भाइलाई पनि सन् २०१८ मा किताब लेख्नुअघि आफू समलैङ्गिक भएको बताउन सकेको थिइनँ,” उनले बीबीसी आउटलुककी एमिली वेबलाई भने। त्यतिखेर उनी ९१ वर्षका थिए र उनका भाइ उनीभन्दा दुई वर्ष कान्छा थिए।

“भाइले धेरै केही भनेनन्,” अन्डर्हिलले बताए। “मैले उनलाई र परिवारलाई पहिले नै बताएको भए हुन्थ्यो। तर मलाई उनीहरूले के भन्ठान्लान् भन्ने डर थियो।”

‘ईश्वरको आँखामा घृणित’

“म यस्तो समाजमा हुर्किएँ जहाँ गरिबी, पूर्वाग्रह तथा वर्ग विभाजन थियो,” आफ्नो आत्मसंस्मरणमा उनी दु:खपूर्ण शैलीमा लेख्छन्।

वयस्क हुँदासम्म उनले आफू समलैङ्गिक भएको सङ्केत कतै दिएनन्।

उनको जन्म हुनुभन्दा केवल नौ वर्ष पहिले सन् १९१८ मा इङ्ग्ल्यान्डमा महिलाले भोट हाल्ने अधिकार पाएका थिए। तर समलैङ्गिकतालाई अवैध मानिन्थ्यो। धेरैले यसलाई ‘ईश्वरको आँखा घृणित’ मान्थे।

परिणामस्वरूप अन्य समलिङ्गीले जस्तै अन्डर्हिलले पनि आफ्नो यौनिकता लुकाए।

“मैले जानीजानी यो विषय लुकाएँ – आफैँसँग, अरूसँग र ईश्वरसँग।”

यौनिकताको सङ्घर्ष

सानोमा अन्डर्हिल लज्जालु थिए। उनका आमाबुवा परम्परागत मान्यताका थिए। त्यसैले यौनिकताबारे कुरा गर्नु निकै कठीन थियो।

“मलाई आफू को हुँ भन्नेबारे पनि थाहा थिएन। आफूलाई हुने अनुभूतिबारे म वर्णन गर्न सक्दिनथेँ। अरू कसैले पनि बताइदिएनन्। अनि समलैङ्गिकता भन्ने शब्द त हाम्रो शब्दकोशमै थिएन।”

उनका बुवा बिजुलीको सामान बनाउने एउटा कारखानामा काम गर्थे। ज्याला कम थियो। परिवारमा आधारभूत आवश्यकताभन्दा अर्थोक उपलब्ध थिएन।

अन्डर्हिल भन्छन् उनको बुवासँगको अन्तर्क्रिया केवल उनका केही निर्देशन र गालीमा सीमित हुने गर्थे।

“मलाई लाग्छ उनी मलाई घृणा गर्थे। किन भनेर बताउन चाहिँ सक्दैनथे।”

आमासँगको सम्बन्ध पनि अस्वाभाविक थियो। आमा भन्ने गर्थिन्, “कहाँबाट आउँछन् यस्ता विचार?”

त्यसमाथि स्कूलमा पनि उनलाई सताइन्थ्यो।

पुरुषप्रति आकर्षण

पौडी सिक्ने बेला उनले थाहा पाए कि उनी पुरुषको शरीरप्रति आकर्षित हुन्छन्। आफ्नो आत्मकथा ‘कमिङ आउट अफ द ब्ल्याक कन्ट्री’ मा उनी लेख्छन्, “पौडी पोखरीमा डुबुल्की मार्दा उनको शरीर (पौडी प्रशिक्षक) देख्दा निक्कै मज्जा आयो।”

अठार वर्षको उमेरमा अनिवार्य सैन्य सेवाको क्रममा उनले जलसेनामा नर्सको रूपमा प्रवेश गरे।

द्वितीय विश्व युद्धपश्चात् उनलाई एचएमएस क्वीनमा खटाइयो। उक्त पानीजहाजमा अमेरिकी सैनिकसँग बिहे गरेका दुलहीहरू थिए।

अमेरिकातर्फको उक्त यात्रामा एक महिला यात्रु लडिन् र खुट्टामा चोट लाग्यो। उपचारको लागि अन्डर्हिललाई बोलाइयो। तर धेरै रगत देखेर उनी आफैँ बेहोस भए।

उनलाई रेखदेख गर्न एलेक्स नामक पुरुषलाई डाकियो।

प्रेममा पर्दा

“जब मैले आफ्नो आँखा खोलेँ मैले उनलाई (एलेक्स) मलाई हेरिरहेको देखेँ। उनी केही भन्दै थिए। तर मैले केही सुनिनँ। हाम्रा आँखा जुधे र म उनको प्रेममा परेँ।”

सन् १९४८ मा उनले जलसेना छाडे र एलेक्सका बुवाकहाँ अवैतनिक लेखा सहायकको काम गर्न थाले।

“एलेक्ससँगको सम्बन्ध गजबको थियो। त्यो अवैध वा अप्राकृतिक थियो भन्ने मलाई लागेन।”

कमेन्ट गर्नुहोस्