धनगढीः धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजन गर्ने भएको छ । धनगढीको सर्वागिण र योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनबारे सोमबार पत्रकार सम्मेलन आयोजना गरी उप महानगरपालिकाले उक्त जानकारी गराएको हो । धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरू प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए ।
यस्तै विकास सम्मेलनमा नगरबासीहरूले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ ।
नगरको विकासका लागि नागरिकसंग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिइने जनाएको छ । नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाइने लगायतका विषयवस्तुहरू समावेश गरिने जस्ता बिषयवस्तु सम्मेलनमा प्रस्तुत हुने उप महानगरपालिकाले जनाइएको छ ।
प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समन्वय गरी दु्रत प्रभाब छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताइएको छ ।
उक्त प्रस्तुतीहरू सम्बन्धित क्षेत्रका बिशेषज्ञ बाट प्रस्तुत गरी उपस्थित सम्पुर्ण सहभागिहरु माझ बृहत छलफल गरि परियोजनालाई अन्तिम रूप दिइने बताइएको छ । सम्मेलन फल्गुन १८ गते ओम प्यालेसमा हुने छ ।