काठमाडौंः आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) मा श्रीलंकन स्टार क्रिकेटर उपुल थरंगाले ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका छन् ।
थरंगाले श्रीलंकाबाट तीन वटै प्रारुप खेलिसकेका छन् । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी–२० खेलेका छन् ।
बाँया हाते ब्याट्सम्यान थरंगाले सन् २००५ मा भारतबिरुद्ध टेस्टमा डेब्यू गरेका थिए । सोही सिरीजमा एकदिवसीयमा डेब्यू गरेका थरंगाले टेस्टमा १७ सय ५४ रन बनाएका छन् । र, उनले एकदिवसीयमा ६ हजार ९ सय ५१ रन प्रहार गरेका छन् ।
टी–२० क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका थरंगाले टी–२० मा २६ खेलमा ४ सय ७ रन बनाएका छन् । सो फरम्याटमा उनले सन् २००६ मा इंग्ल्यान्ड बिरुद्ध डेब्यू गरेका थिए ।
ललितपुरले यो सिजनमा बिदेशी खेलाडीका रूपमा थरंगालाई ल्याएको हो । यसका साथै केही दिनमा अरू खेलाडीलाई पनि उसले सार्वजनिक गर्नेछ ।