हिरासतमा रहेकी आस्थालाई ‘हाइपर टेन्सन’, अस्पताल भर्ना

काठमाडौंः स्वास्थ्यमा समस्या आएको भन्दै गायिका आस्था राउतलाई हिरासतबाट अस्पताल भर्ना गरिएको छ । उनलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीका अनुसार सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको हो । उनले भने, ‘हाइपर टेन्सन’का कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो ।’

यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्