गायिका आस्था राउत रिहा

काठमाडौंः गायिका आस्था राउत रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई सोमबार चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै गायिका राउतलाई सोमबार राति नै हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

 

कमेन्ट गर्नुहोस्