यू–१९ विश्वकपः भारत सेमिफाइनलमा, घर फर्कियो अष्ट्रेलिया

काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । आज अष्ट्रेलियालाई ७४ रनले हराउँदै भारत विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो ।

भारतले दिएको २ सय ३४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर साम फनिङले सर्बाधिक ७५ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन् ।

बलिङमा भारतीय टीमका कार्तिक त्यागीले ४, आकाश सिंहले ३ र रवि विश्वोनीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएका भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३३ रन बनायो ।

उसका लागि यश्वस्वी जयसवाल र अथर्व अनकोलेकरले अर्धशतक बनाए । यश्वस्वीले आज ८२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए । जारी प्रतियोगितामा उनको यो तेस्रो अर्धतक हो । आसन्न आइपीएलमा राजस्थान राेयल्सले १८ वर्षीय यश्वस्वीलाई पहिलोपटक २ करोड ४ लाख भारु तिरेर टीममा अनुबन्ध गरेको छ ।

अक्सनमा मोटो रकम तिरेर राजस्थानले अनुबन्ध गरेपछि उनी पछिल्लाे समयमा चर्चाको शिखरमा छन् । यस्तै आज अष्ट्रेलियालाई हराउन अथर्वले ५४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ५५ रनको योगदान दिए । बलिङमा अष्ट्रेलिया टीमका कोरी केली र टड मर्फीले सर्बाधिक २–२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्