केएल राहूल नयाँ कीर्तिमान नजिक, बन्न सक्छन् भारतका लागि यस्तो गर्ने पहिलो!

काठमाडौंः भारतीय क्रिकेट टीमका ओपनर तथा विकेटकीपर केएल राहूल पछिल्लो समय शानदार लयमा देखिएका छन् । उनको ब्याटबाट लगातार अर्धशतक आइरहेको छ । र, राहूल टीमलाई जिताउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । उनी न्यूजिल्याण्डसँगको टी–२० सिरिजमा पनि शानदार लयमा छन् ।

केएलले जारी सिरिजमा लगातार २ खेलमा अर्धशतक बनाएका छन् । योसँगै उनी टी–२० मा लगातार तेस्रो अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि राहूलले श्रीलंका विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा पनि अर्धशतक बनाएका थिए ।

यदि आज पनि उनले अर्धशतक बनाउन सके नयाँ भारतका लागि कीर्तिमान बनाउने छन् । आज अर्धशतक बनाउन सके केएल भारतका लागि टी–२० मा लगातार सर्बाधिक अर्धशतक बनाउने पहिलो क्रिकेटर बन्ने छन् । हालसम्म टी–२० मा भारतका लागि कप्तान विराट कोहली र रोहित शर्माले पनि लगातार समान तीन अर्धशतक बनाएका छन् ।

लगातार ४ टी–२० मा अर्धशतक बनाउने खेलाडी

टी–२० अन्तर्राष्ट्रिय म्याचमा लगातार ४ अर्धशतक बनाउने खेलाडीको सूचीमा मात्र २ जना छन् । यो सूचीमा न्यूजिल्याण्ड क्रिकेट टीमका पूर्वकप्तान ब्रेण्डन म्याक्लम र वेष्ट इन्डिजका क्रिस गेल मात्र छन् । यदि आज राहूलले पनि अर्धशतक बनाउन सके उनी पनि यो सूचीमा अटाउने छन् ।

विराटले तोड्न सक्छन् तीन कीर्तिमान

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले एकपछि अर्को कीर्तिमान बनाइरहेका छन् । विश्व क्रिकेटका चर्चित कप्तान विराटले आज फेरि केही कीर्तिमान आफ्नो नाममा बनाउने सम्भावना बढेको छ । यदि उनले आजको म्याचमा २५ रन बनाउन सके पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड भंग गर्ने छन् ।

भारतका लागि टी–२० मा कप्तानका रुपमा सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा अहिले धोनी शीर्ष स्थानमा छन् । उनले टी–२० मा कप्तानका रुपमा १ हजार एक सय १२ रन बनाएका छन् ।

यो सूचीमा दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिस शीर्ष स्थानमा छन् । उनले कप्तानका रुपमा टी–२० मा १२ सय ७३ रन बनाएका छन् । यस्तै न्यूजिल्याण्डका कप्तान केन विलियिम्सन (११४८) दोस्रो र धोनी (१११२) तेस्रो स्थानमा छन् ।

सर्बाधिक अर्धशतक बनाउने वर्तमान कप्तान!

बुधबार विराटले सर्बाधिक अर्धशतक बनाउने वर्तमान कप्तानको कीर्तिमान बनाउने सम्भावना पनि बलियो छ । यदि सिरिजको तेस्रो खेलमा अर्धशतक बनाउन सके विराटले केन विलियम्सन र फाफ डुप्लेसिसलाई पछि पार्ने छन् । अहिलेसम्म यी तीनै कप्तानले समान ८ अर्धशतक बनाएका छन् ।

सर्बाधिक छक्का प्रहार गर्ने दोस्रो कप्तान!

विराटले बुधबार सर्बाधिक छक्का प्रहार गर्ने कप्तानको सूचीमा दोस्रो स्थानमा उक्लिने सम्भावना पनि छ । यदि उनले ७ छक्का प्रहार गर्नसके टी–२० मा सर्बाधिक छक्का प्रहार गर्ने वर्तमान कप्तानको सूचीमा विराट दोस्रो स्थानमा उक्लिने सम्भावना बढेको हो । उनी बुधबार ७ छक्का प्रहार गरे टी–२० मा ५० अर्धशतक पूरा गर्ने दोस्रो कप्तान बन्ने छन् । यो सूचीको शीर्ष स्थानमा इंग्ल्याण्डका टी–२० कप्तान इओन मोर्गन छन् ।

कमेन्ट गर्नुहोस्