कोरोनाभाइरसः चीनबाट विदेशीको उद्धार शुरू, के गर्दैछ नेपाल ?

काठमाडौंः चीनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेर करिब छ हजार पुग्दै गर्दा विभिन्न देशहरूले आफ्ना नागरिकहरूको उद्धार शुरू गरेका छन् ।

नयाँ भाइरस सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको अधिकारीहरूले पुष्टि गरेका छन् । त्यो सङ्ख्या १७ वर्षअघि फैलिएको अर्को कोरोनाभाइरस सङ्क्रमण सार्सको भन्दा बढी हो ।

अहिलेसम्म यसका कारण १३२ जनाको ज्यान गइसकेको छ । चिनियाँ चिकित्सा अधिकारीहरूले सङ्क्रमितहरूको सङख्या अर्को सातासम्म बढ्ने क्रममा नै रहनसक्ने बताएका छन् ।

जापान र अमेरिका अगाडि
जापानले उद्धार गरेका जापानीहरूले वुहानबाट टोक्यो पुग्दा आफूहरूले ठूलो राहत पाएको अनुभव साटेका छन् । भाडामा लिइएको एक विशेष विमानमा उनीहरूलाई उडाइएपछि विमान भित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

याे पनि पढ्नुस  प्रदेश–१ मा १०३ जनाको रिपोर्ट नेगेटिभ

अमेरिकाले भाडामा लिएको विमान अलास्का पुगेको बताइएको छ । अस्ट्रेलिया, न्यूजील्यान्ड र युरोपेली सङ्घ ईयूले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएको छ ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु र्पुयाएर उनीहरूको स्वास्थ्य जाँच गरेपछि मात्र घर फर्कन दिने योजना बनाएको छ ।

नेपालले के गर्दैछ ?
चीनमा अहिले सात हजारको आसपास नेपाली नागरिक रहेको नेपाली दूतावास बेइजिङको भनाइ छ । तीमध्ये भाइरस प्रभावित हुबेको वुहान वरपर करिब एक सय नेपाली रहेका छन् ।

याे पनि पढ्नुस  नेपालमा आज ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

सङ्क्रमण फैलिएपछि केही दिनअघि वुहानमा मृत्यु भएका एक नेपालीको शव समेत नेपाल फिर्ता ल्याउन नसकिएको दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताएका थिए ।

‘हामी चिनियाँ परराष्ट्र मन्त्रालयसँग निरन्तर परामर्शमा छौँ । हामी वुहानका नेपालीहरूसँग पनि निरन्तर सम्वादमा छौँ’, लम्सालले भने, ‘आत्तिनु पर्ने अवस्था छैन । हामीले पनि आफ्ना नागरिक नेपाल फिर्ता लैजानेबारे आवश्यक सम्वाद र समन्वय गरिरहेका छौँ ।’

याे पनि पढ्नुस  चीनसँग रिसाए ट्रम्प, भने, ‘हामी खुसी छैनौं’

यूएईमा पहिलो सङ्क्रमण
यसैबीच संयुक्त अरब इमिरेट्स यूएईमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति वुहानबाट फर्किएका थिए। उनको अवस्था स्थिर रहेको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गहब्रहयससले नयाँ भाइरसको सङ्क्रमण रोक्नु डब्लूएचओ र चीनको पहिलो प्राथमिकता भएको बताएका छन् ।

डब्लूएचओले महामारी रोक्ने पहललाई सघाउने छिट्टै अन्तर्राष्ट्रिय विज्ञहरूको एक टोली चीन पठाउन लागेको बताएको छ । बीबीसी

कमेन्ट गर्नुहोस्