राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेश

काठमाडौंः निर्वाचन आयोगले यही माघ ९ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरे ।

परिणाम प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन आयोगले संवैधानिक र कानूनी व्यवस्था बमोजिम राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् विश्वसनीय रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगका पदाधिकारी एवम् कर्मचारी लगायत निर्वाचन सम्पन्न गर्न संलग्न सबै निकाय, संस्था एवम् व्यक्तिहरूलाई धन्यवाद दिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

आगामी फागुन २० गतेबाट रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यहरू मध्ये १८ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा सात प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ दुई जना र अन्य समूहतर्फ सात जना निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्