पूँजीवादी शिक्षा र सर्वहारा वर्गीय शिक्षा

–अपत्य शर्मा
विश्वको जुनसुकै भागमा दिइने शिक्षा पूंजीवादी शिक्षा हो। पूंजीवादी शिक्षा भनेको नै व्यक्तिवादी शिक्षा हो, व्यक्तिवादी शिक्षा भनेको मै मात्र खाऊँ,मै मात्र लाउँ भन्ने आफू र आफ्नो परिवार, आफ्ना नातागोताको भलाईलाई प्राथमिकता दिने शिक्षा हो। व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने, सामूहिक स्वार्थलाई गौण महत्व दिने, श्रमप्रति, श्रमजीवी वर्गप्रति घृणा, उपेक्षा र अपमान गर्ने (विशेष गरेर नेपालको सन्दर्भमा ठूलासाना महंगा बोर्डिङ स्कूलहरूका) पूंजीवादी संस्कार र प्रवृत्तिको ठूलो परिमाणमा विकास भइरहेछ ।

नेपालमा दिइने पूंजीवादी शिक्षा पनि विकसित पूंजीवादी तथा साम्राज्यवादी मुलुकहरूमा दिइने पूंजीवादी मूल्य मान्यतारहित शिक्षा दिइन्छ । साम्राज्यवादी तथा विकसित पूंजीवादी मुलुकहरूमा असमानताका खाडलहरू ज्यादै चौडा भए पनि श्रमप्रति घृणा र उपेक्षा गर्ने प्रवृत्ति कम हुन्छ। किनभने अधिकांश श्रमजीवी हुने र ठूला ओहोदामा पुग्ने, ठूला पूंजीपतिको स्थानमा पुग्नेहरू पनि बरफ बेच्ने, पत्रिका बेच्ने काम गरेर आएका हुन्छन् । पूंजीवादी व्यक्तिवादी समाज व्यवस्था युवा अवस्थामा प्रवेश गरेपछि आफ्ना खुट्टामा आफै उभिनुपर्ने हुन्छ। यसकारण बाँच्नका लागि जस्तोसुकै सानोभन्दा सानो काम पनि गर्नुपर्ने हुन्छ ।

पूंजीवाद भनेको नै व्यक्तिगत उपयोगका लागि उत्पादन गर्ने नभएर नाफाका लागि माल उत्पादन गर्ने स्वतन्त्र आर्थिक पद्धतिका साथै उत्पादन सम्बन्धलाई पूंजीवाद नामाकरण गरिएको हो । पूंजीवादभित्र पूंजी रहेको हुन्छ । यही पूंजीले नै ज्यालादारी काम गर्ने सर्वहारा वर्गको अतिरिक्त श्रमशक्तिको शोषण गरेर पूंजी लगानी गर्ने पूंजीपति वर्गले आफ्नो पूंजी लगानीमा बृद्धि गर्दै जान्छ । पूंजीपतिले अतिरिक्त श्रमशक्तिको शोषण गर्ने तरिका पनि अनेकौं छन् ।

जस्तै अतिरिक्त श्रम समय बढाएर, मजदुर वर्गको ज्याला घटाएर, नयाँ–नयाँ अत्याधुनिक मेसिन र उपकरण उपयोग गरेर आवश्यक श्रम समय घटाउँछ र मोटो नाफा कमाउँछ । पूंजीपति मजदुरवर्गको क्रुरतम रूपले अतिरिक्त श्रमशक्तिको शोषण गरेर अर्बपति, खर्बपति बन्छ । तर मजदुरवर्ग सधै गरिबी, अभाव, अपमानित जीवन र सधैभरी टाउकोमाथि झुन्डिरहने बेरोजगारीको तरवार यही नै हो सर्वहारावर्गको भागमा पर्ने पूंजीवादी प्रजातन्त्रको विशेषता वा वरदान !

पूंजीवादको अर्को विशेषता हो उत्पादनहरू सामाजिक हुन्छन् तर आम्दानी चाहिं सम्पूर्ण रूपमा व्यक्तिगत हुने भएकाले अन्तर्विरोध पनि यसैमा रहेको हुन्छ । पूंजीवादी व्यवस्थाको अन्त्य गर्ने वर्ग सर्वहारावर्गलाई पूंजीवादी दासताको सिक्रीले बाँध्न पूंजीवादी शिक्षा, संस्कृति, राजनीति तथा अर्थनीति लागु गर्ने गर्छ । केटाकेटीहरूलाई दिइने शिक्षा पूंजीवादी र सर्वहारावादी दुई खाले हुन्छ किनभने शिक्षा पनि वर्गीय स्वभावको हुन्छ । शोषक शासक पूंजीवादीहरूले अर्बौंको लगानी शिक्षामा गरेर पूंजीवादी शोषणतन्त्रलाई बलियो बनाउन नै पूंजीवादी शिक्षाविद्हरूलाई पाठ्यक्रम, पाठ्यपुस्तकहरू तयार पार्न लगाएको हुन्छ ।

पूंजीवादी शिक्षाशास्त्रीहरूले मिहिनपाराले केटाकेटीदेखि नै पूंजीवादीकरण गर्ने काम हुन्छ । तर आधुनिक संशोधनवादीहरूले (आफूलाई सर्वहारावादी मुखले भन्ने तर एक्काइसौं शताब्दीको मार्क्सवाद भनेर पूंजीवादी वर्गीय शिक्षालाई स्वीकार गर्ने) ‘संसारभरीका महिलाहरूका मुटु एउटै हुन्छन्” भन्छन् र “सबै आमाहरूले एउटै कुरा सोच्छन्’ भन्ने सिद्धान्तलाई गौर गरौं । यो मत वर्ग्विभाजित समाजमा वर्गसंघर्षलाई अस्वीकार गर्ने प्रश्नै उठ्दैन। सर्वहारा समाजवादमा त वर्गसंघर्ष कायम रहन्छ भने अन्य पूंजीवादी तथा सामन्तवादी समाज व्यवस्थामा नहुनै प्रश्न नै उठ्दैन । किनभने भिन्नभिन्न वर्गका आमाहरूको आ–आफ्ना केटाकेटीहरूप्रतिको दृष्टिकोण भिन्नाभिन्नै हुन्छ ।

सर्वहारावादी क्रान्तिकारी आमाहरूले उनीहरूका केटाकेटीहरू क्रान्तिकारी लडाकु हुन् जो जनताका लागि जस्तोसुकै बलिदान गर्न पनि तयार हुन् । यतिमा मात्र सीमित नभएर आफ्नो मुलुकका शोषित पीडित जनताको मुक्तिका लागि मात्र होइन, विश्वका अरबौं श्रमजीवी वर्गको दासता र शोषणका विरूद्धको मुक्ति संघर्षमा एकताबद्ध हुन भन्ने चाहन्छन्। सामूहिक भलाइका लागि निडर बनेर जुझारू बनुन् भन्ने चाहन्छन् । तर जमिन्दार, दलाल, नोकरशाही, पूंजीपति वर्ग जो श्रमजीवी वर्गको शोषण, दमन गरेर उनीहरूकै आर्जनमा बाँचेका मोजमस्ति गर्ने आमाहरूले आफ्ना केटाकेटीहरूलाई सानैदेखि ‘ठूला’ मान्छे डाक्टर, इन्जिनियर, मन्त्री आदि हुने आर्शिवाद र शिक्षा दिन्छन् ।

ठूलो मान्छे हुनु भनेको धनी हुनुु हो । शिक्षित हुनु भनेको भोका, नांगा, गरिब किसान तथा मजदुर वर्गलाई कजाएर शोषण गर्न जालझेल झुटको खेती गर्न सक्ने आकाश पाताल जोड्ने पान्डित्याइँ छाँटेर धुवाँधार भाषण गर्न सक्ने भनेर मजदुरवर्गले बुझ्न थालेका छन् नेपालको परिप्रेठघयमा ।

नेपालको परिप्रेठघयमा शिक्षित दीक्षितहरूको संख्या बढ्दैछ। ठूलठूला भ्रष्टाचार गर्नेमा, लुटतन्त्र, डकैती, तस्करी, जघन्य हत्या, अपहरण, मानव तस्करी, बेचविखनदेखि सम्पूर्ण अपराधहरूका संरक्षक डनहरूका छहारी राजनैतिक ठूला साना दलहरू हुन् भन्ने कुरा दिनहुँ संचारमाध्यममा आइरहेका छन् । नेपालका शिक्षितहरू नै सम्पूर्ण अपराधकर्ममा लागेका तथ्यांकले देखाएका छन् । व्यक्तिवादी व्यक्तिगत धनसम्पत्तिका लागि धनी हुनु गौरवको विषय भएकोले शिक्षित युवायुवतीले आफ्ना बुढाबुढी बाबुआमालाई आर्थिक बोझ सम्झेर जिउँदै बोरामा हालेर तथा फुटपाथमा भोकै तड्पि तड्पि मर्न फ्याँकेका खबरहरूदेखि शारीरिक, मानसिक यातना दिएर अपांग बनाएका खबरहरू संचारमाध्यममा आइरहेछन् ।

समाजसेवी दिलसोभाका आश्रममा चियाउने हो भने यस्ता पीडित बृद्धवृद्धालाई प्रतिनिधि पात्रका रूपमा जान्न सकिन्छ । सत्ता (नाफा) प्रधान, व्यक्तिप्रधान हुने शिक्षाको परिणाम नै अस्पताल जस्तो ज्यादै संवेदनशील मानवीय सेवा प्रदान गर्ने क्षेत्रका डाक्टर ‘साहेव’हरूले आफ्ना सेवाहरू सबै बन्द गर्नु (भरतपुर क्यान्सर अस्पतालका सन्दर्भ) लाई प्रत्यक्ष उदाहरणको रूपमा लिन सकिन्छ ।

सत्ता र पैसाका लागि नेपालको तथाकथित क्रान्तिकारी हात्ती पार्टीको भातृ मजदुर संगठनभित्र मजदुर–मजदुरका बीचमा मारामार गराउने नेता के अशिक्षित थिए ? अरू दुईवटा हात्ती पार्टीका मजदुर संगठनका नेताहरू साम्राज्यवादीका पैसामा पालित पोषित तथा संचालित छन् भन्ने कुरा कतैबाट लुकेको छैन ।

साम्राज्यवादीदेखि बुर्जुवा (पूंजीवादी) विश्व दृष्टिकोण राख्ने आधुनिक संशोधनवादी गद्दार गुटहरूका लागि सबैभन्दा डरलाग्दो धारणा (सिद्धान्त) हो सामूहिक शक्ति, सामूहिक स्वार्थ र यसभन्दा पनि माथि उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व हो। अवश्य पनि यो सामूहिकताको सिद्धान्त आधुनिक संशोधनवादी र अमेरिकी जीवनशैलीले पथभ्रष्ट पारिएका युवा तथा केटाकेटीहरूका लागि हाँसीमजाक मात्र हो । तर विश्वव्यापी रूपमा बढ्दो महंगी, खाद्यान्न संकट, बढ्दो गरिबी र अमेरिकी साम्राज्यवादी तथा विकसित पूंजीवादी मुलुकहरूका आर्थिक संकट र तथा कथित प्रजातन्त्र र मानवअधिकारका नाममा गरिरहेका आर्थिक, राजनैतिक तथा बर्बर सैनिक हस्तक्षेप र आम नरसंहारले गर्दा साम्राज्यवाद विरोधी विश्व जनउभार ढिलो वा चाँडो अवश्य आउने छ ।

सम्पूर्ण अपराधको स्रोत व्यक्तिवाद र निजी सम्पत्ति र पूंजीवादी भएकाले पूंजीवादको चिहान खन्ने सर्वहारा वर्गले अवश्य पनि पूंजीवादी स्वर्गलाई ध्वस्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्