गलत काम गर्ने प्रहरीलाई कारवाही गरिन्छः डिआईजी पोखरेल

काठमाडौंः महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल सहितको टोलीले बुधबार दिउँसो महानगरीय सशस्त्र प्रहरी गण र महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरिक्षण गरेका छन् ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेले विशेष परिस्थितमा गणमा कार्यरत रहेका प्रहरी कर्मचारीहरू परिचालन हुने हुनाले खटिएको ठाउँमा नमूनाको रूपमा रहँदै बोली व्यवहारमा नम्रता, शिष्टता एवं व्यवसायिक र कानूनको उल्लघंन नगरी कार्य गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रहरीको एउटा सदस्यको सानो कमजोरीका कारण ठूलाठूला उपलब्धि पनि छाँयामा पर्ने तथा समग्र संगठनको छवीमा आच आउँछ भन्दै कुनै पनि कमजोरी नगरी जनअपेक्षा, राज्य संयन्त्र र सरकारको अपेक्षा अनुसार व्यवसायिक क्षमतालाई अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाह गर्न उनले निर्देशन दिए ।

प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले एक पटक प्रहरी सेवामा प्रवेश गरि सेवाबाट अलग भएपनि आफ्नो २–३ पुस्तासम्म प्रहरीकै नाम जोडिएर आउने हुनाले प्रहरीको पद वा गरिमालाई बढाउने गरी कार्य गर्न समेत निर्देशन दिए ।

विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यसतर्फ सचेत रहँदै शान्ति सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उनले निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्