यी ५ क्रिकेटर, आइपीएलमा उत्कृष्ट गरे विश्वकप खेल्ने मौका पाउन सक्छन्

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) धेरै खेलाडीका लागि अन्तर्राष्ट्रिय म्याचमा ढोका खोल्ने माध्यम पनि बनेको छ । विश्व क्रिकेटकै लोकप्रिय लिग भएकाले यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सबैकाे नजरमा बस्छन् । र, उनीहरुले थुप्रै अवसर पनि पाउँछन् । यसैबीच आज आइपीएलमै शानदार प्रदर्शन गरेर यही वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि टीममा पर्नसक्ने क्रिकेटरको बारेमा चर्चा गर्दैछौं ।

पछिल्लो समय थुप्रै युवा क्रिकेटर चम्किँरहेका छन् । र, युवा खेलाडी उत्कृष्ट प्रदर्शन पनि गर्दै आइरहेका छन् । यदि आसन्न आइपीएलमा उनीहरुले शानदार प्रदर्शन गरे विश्वकपमा पनि मौका पाउन सक्छन् । आज यो सूचीमा रहेका प्रमुख ५ क्रिकेटरको बारेमा चर्चा गर्दैछौंः

४. क्रिस लिनः आइपीएल २०२० को अक्सनमा लिनलाई मुम्बई इन्डियन्सले २ करोड भारुमा टीममा अनुबन्ध गरेको थियो । गत सिजनमा कोलकाता नाइट राइडर्सबाट खेलेका लिनले हालसम्म आइपीएलमा १४०.६ को स्ट्राइक रेटका साथ १२ सय ८० रन बनाएका छन् । यसक्रममा उनले धेरै म्याचमा विस्फोटक ब्याटिङ गरेका थिए । २९ वर्षीय लिन यो वर्ष मुम्बई टीमबाट चौका–छक्काको वर्षा गर्ने सम्भावना छ । मुम्बईको घरेलु मैदान वानखडेको पिच उनका लागि उपयुक्त हुनसक्छ ।

अष्ट्रेलिया टीमसँग अहिले डेविड वार्नर र आरोन फिन्च ओपनरका रुपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर, लिन ‘ब्याकअप’ ओपनर ब्याट्सम्यानका रुपमा आसन्न टी–२० विश्वकपका लागि टीममा समावेश हुन सक्छन् । यदि विश्वपका लागि टी–२० मा स्थान बनाउने हो भने लिनले आइपीएलमा शानदार प्रदर्शन गर्न आवश्यक छ ।

४. श्रेयस गोपालः श्रेयसले आइपीएलमा ३१ म्याच खेलेका छन् । जसमा उनले ३८ विकेट आफ्नो नामा लेखाइसकेका छन् । २६ वर्षीय श्रेयसले गत सिजनमा राजस्थान रोयल्सका लागि सर्बाधिक २० विकेट लिएका थिए । भारतीय टीम चयनकर्ताका लागि स्पिनररुपमा उनी एक विकल्प हुन सक्छन् । साथै श्रेयस अन्तिम ओभरमा शानदार ब्याटिङ पनि गर्न सक्षम छन् । यदि उनले आइपीएल २०२० मा उत्कृष्ट प्रदर्शन गर्नसके विश्वकपको टीममा मौका पनि पाउन सक्छन् ।

३. टम ब्यान्टनः ब्यान्टन विकेटकिपर–ब्याट्म्यासन हुन् । उनले इंग्ल्याण्डको घरेलु टी–२० प्रतियोगितामा १३ खेलमा ५ सय ४९ रन बनाएका छन् । ब्यान्टनले उक्त प्रतियोगितामा शानदार ब्याटिङ गर्दै एक शतक र ४ अर्धतक बनाएका थिए । उनी पहिलोपटक २०२० मा आइपीएल खेल्दै छन् । ब्यान्टनलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले ‘अक्सन’बाट एक करोड भारुमा टीममा अनुबन्ध गरेको थियो । पछिल्लो समय शानदार ब्याटिङ गरिरहेका उनले आइपीएलमा पनि त्यही लय दोहोर्याएमा ब्यान्टन विश्वकपका लागि इंग्ल्याण्डको टीममा पर्ने पक्का जस्तै छ ।

२. क्रिस ग्रीनः यी अष्ट्रेलियन स्पिनर बलिङसँगै ब्याटिङ पनि गर्न सक्षम छन् । अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गर्ने मौका नपाए पनि ग्रीनले विभिन्न लिगमा भने अवसर पाउँदै आएका छन् । र, उनले शानदार प्रदर्शन पनि गरिरहेका छन् । ग्रीनलाई योपटक कोलकाता नाइट राइडर्स (केकेआर)ले २० लाख भारुमा टीममा अनुबन्ध गरेको छ । अष्ट्रेलियाको टी–२० मा एडम जम्पाको दोस्रो विकल्प छैन । यसक्रममा यदि क्रिस ग्रीनले आइपीएलमा शानदार प्रदर्शन गरे उनले विश्वकपका लागि अष्ट्रेलियाको टीममा मौका पाउने सम्भावना बलियो देखिन्छ ।

१. शुभमन गिलः युवा ब्याट्सम्यान शुभमन भारतीय घरेलु प्रतियोगितामा लगातार शानदार प्रदर्शन गरिरहेका छन् । उनले गत सिजनको आइपीएलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । टी–२० विश्वकपका लागि भारतीय टीममा शिखर धवन, रोहित शर्मा, केएल राहूल जस्ता ओपनर छन् । शिखर लगातारको चोटका कारण पछिल्लो समय टीम बाहिर बढी बस्ने गरेका छन् । यदि विश्वकप समयमा शिखर वा अरु ओपनर घाइते भएमा गिलले टीममा मौका पाउने सम्भावना देखिन्छ । साथै आसन्न आइपीएलमा उत्कृष्ट ब्याटिङ गरे भने पनि गिलले भारतीय टीममा अवसर पाउन सक्छन् ।

कमेन्ट गर्नुहोस्