संगठनात्मक नेतृत्व कसरी निर्माण र कस्तो हुनुपर्छ ? यस्तो छ लेनिनले बिकास गरेको पद्धति

अखिल बिश्वकर्मा
संगठनात्मक सिद्धान्तको क्षेत्रमा लेनिनले बिकास गरेका महत्त्वपूर्ण पक्षहरु यस्ता छन् ।

१. जनवादी केन्द्रीयता
उक्त सिद्धान्त अन्तर्गत पहिलो र महत्वपूर्ण बुंदा जनवादी केन्द्रीयता हो। जनवादी केन्द्रियता भित्र दुईवटा कुराहरू पर्दछन् जनवाद र केन्द्रियता। जनवादविनाको केन्द्रियता वास्तवमा निरंकुशता हुन्छ। केन्द्रियताविनाको जनवाद पनि अराजकतावाद हुन्छ। त्यसैले जनवाद र केन्द्रियता भनौं जनवादी केन्द्रियता एक अर्काका परिपुरक हुन्। न जनवादविना केन्द्रियताले संगठनलाई राम्रो गर्छ न केन्द्रियताविनाको जनवादले। यसरी संगठनमा यी दुवै सिद्धान्तको समान महत्व छ।

जनवादको अर्थ जनतन्त्र ‘प्रजातन्त्र’ हो। जनवादभित्र राय प्रकट गर्न पाउने अधिकार, विरोध गर्न पाउने अधिकार, प्रष्ट गर्न पाउने तथा चुन्न र चुनिन पाउने अधिकार आदि पर्दछन्। वास्त्वमा संगठनभित्रका सदस्यहरूको विचार प्रकट गर्ने अधिकार सबैलाई समान रूपमा हुन्छ। सबैका विचारहरूको निष्कर्ष नै निर्णय हो। त्यसप्रकारको निर्णय नै सही निर्णय हुन्छ।

संगठनभित्र आफूलाई चित्त नबुझेको कुराको विरोध गर्ने अधिकार पनि समान रूपमा रहन्छ। त्यसो नभएर यसो गर्दा के होला भनेर प्रष्ट गर्ने अधिकार पनि जनवादी अधिकार हो। म यो समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष बन्न पाउँ भन्ने अधिकार पनि सदस्यहरूलाई रहन्छ। चुन्न र चुनिन पाउने अधिकार पनि जनवादी अधिकार हो।

यसरी जनवादी अधिकार भनेको आफ्नो मनमा लागेको कुरा संगठनमा खुला हृदयका साथ राख्ने अधिकार हो। अर्का शब्दमा भन्ने हो भने जनवाद भनेको आफ्नो मनमा उब्जेको कुरा खुला दिलले स्वतर्स्फूत रूपमा संगठनमा राख्ने कुरा हो। पार्टी संगठनमा जनवादको खाँचो भोको मान्छेलाई खानाको खाँचो जस्तै हुन्छ।। तिर्खा लागेकोलाई पानीको जति आवश्यक छ ठीक त्यही प्रकारले पार्टी संगठनभित्र जनवादको खाँचो छ।

अर्का शब्दमा भन्ने हो भने भोकमा खाना, तिर्खामा पानी आवश्यक भएझै पार्टी संगठनलाई सही रूपले परिचालन गर्नका निम्ति जनवादी अधिकारको खाँचो पर्दछ। यसरी लेनिनवादी संगठनात्मक सिद्धान्तभित्र जनवादको धेरै ठूलो महत्व छ। जनवादी अधिकारविना पार्टी संगठन पानीविनाको माछा वा प्रशिक्षक विनाका प्रशिक्षार्थी सरह हुनेछन्।

यसरी नै केन्द्रियताको अर्थ कर्तव्यपालन गर्नु हो। हामीले निरपेक्षरूपमा जनतन्त्र, प्रजातन्त्र वा स्वतन्त्रता खोज्न हुँदैन। निरेपक्ष रूपमा स्वतन्त्रता द्वन्द्वात्मकसँग मेल नखाने कुरा हो। त्यसैले केन्द्रियताको महत्व कम छैन। जनवादसँग केन्द्रियता स्वतः जोडिन्छ। केन्द्रियताभित्र निम्न कुराहरू पर्दछन्। व्यक्ति संगठनको माताहतमा हुन्छ, अल्पमत बहुमतको, तल्ला समितिहरू उपल्ला समितिहरूका, सम्पूर्ण समितिहरू केन्द्रीय समितिको अधिनमा र केन्द्रीय समिति पनि सम्मेलन वा महाधिवेशनको अधिनस्त हुनुपर्दछ। यसरी व्यक्ति कहिल्यै पनि संगठनभन्दा माथि हुन सक्दैन।

अल्पमतले आफ्नो बेग्लै मत हुँदाहुँदै पनि बहुमतको निर्णयलाई विना आनाकानी लागु गर्न पर्दछ। वडा समिति, गाउँ समितिको मातहतमा, गाउँ समिति, एरिया समितिको माताहतमा एरिया समिति जिल्ला समितको मातहतमा, जिल्ला समिति केन्द्रको माताहतमा र केन्द्रीय समिति भन्दा माथि सम्मेलन वा महाधिवेशन रहेका हुन्छन्। यसरी केन्द्रियताविना पार्टी संगठनहरू परिचालन हुन सक्दैनन्।

यसरी केन्द्रीयता भनेको अनुशासन हो। त्यसैले स्वतन्त्रताको खोजी गर्दा अनुशासनको पालना हुनुपर्छ। अधिकार खोज्दा कर्तव्य पालन गर्नुपर्छ। जहिले पनि एक हालते ताली बज्दैन। रोटी एकोहोरो पाक्न सक्दैन। ताली बजाउन दुबै हात तथा रोटी पकाउन दुवै पाटोहरू फर्काए झैं पार्टी संगठनमा पनि स्वतन्त्रता खोज्दा अनुशासनको ख्याल वा अधिकार खोज्दा कर्तव्यको पालना गर्नैपर्छ। जनवादी केन्द्रीयताको पनि त्यही रूपमा अन्तरसम्बन्ध छ। लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो बुंदा जनवादी केन्द्रीयताले जनवाद र अनुशासनबारे यसरी नै बताउँछ।

२. आत्मालोचना र आलोचना
संगठनमा सबै सदस्यहरूले क्रमशः आफ्नो गल्ती र कमजोरीहरू बताउनुलाई आत्मालोचना भनिन्छ। आफ्ना कमजोरीहरू आफैद्वारा बैठकमा बताइने सिद्धान्त नै आत्मालोचना हो। यसरी आत्मालोचना गर्दा खुलस्त र नलुकाइकन आफ्ना गल्ती कमजोरीलाई महशुस गर्नु पर्छ। एक पटक आफ्नो कमजोरी बताएपछि त्यस उप्रान्त त्यसप्रकारको कमजोरी गर्नु हुँदैन।

मान्छे असल बन्न संगठनलाई राम्रो बनाउन तथा असल समाजका स्थापना गर्न यो सिद्धान्तको ठूलो महत्व छ। त्यसैगरी आलोचना भनेको संगठनभित्रका सदस्यहरूको गल्ती कमजोरी एकले अर्काको औल्याई दिनु हो। यसरी आलोचना गर्दा साथी रिसाउला कि भनेर हैन खुला दिलले उसका सबै गल्ती कमजोरीहरू विना हिचकिच औल्याइदिनु पर्दछ। तर यसो गर्दा रिसइवि, डाह र प्रतिशोधको भावना राखेर हैन उसका वास्तविक गल्ती र कमजोरी बताइदिनुपर्छ।

साथीलाई सुधार्नका लागि उसलाई गल्ती कमजोरीबाट जोगाउनका निम्ति र वास्तवमा उसलाई सही मार्गमा मार्ग प्रशस्त गराउनका निम्ति नै यो तरिका अपनाइन्छ। यसको विपरीत उसलाई विगार्न, संगठनबाट विमूख पार्न आलोचनाको स्पीरिट हुनु हुँदैन।

यसरी स्वयं आफ्ना गल्ती कमजोरी बताउने र अर्कोले पनि भूले, लुकाएका कमजोरी बताइदिनाले गल्तीबाट बच्नका लागि, व्यक्ति माथि उठ्नका निम्ति धेरै ठूलो बल पैदा हुनेछ र उ असल समाज निर्माणमा योग्य व्यक्ति अवश्य बन्ने छ। यसरी आलोचना र आत्मालोचनाको कसी लगाएपछि असल कम्युनिस्ट बन्न मद्दछ पुग्नेछ। त्यसो गर्दा समाजका धेरै व्यक्तिहरू असल बने भने असल समाज निर्माण हुनेछ। असल समाज भनेको आदर्श समाज हो र आर्दश समाज भनेको न्यायपूर्ण समाज हो। न्यायपूर्ण समाज वास्तवमा कम्युनिस्ट समाजतिर अगाडि बढन् सक्छ।

३. असल व्यक्ति चुन्ने तरिका
समाज र राष्ट्रलाई सुन्दर र आर्दश बनाउका निम्ति संगठनमा असल व्यक्तिहरू चुनिनु पर्दछ। अर्थात् असल नेतृत्व चयन गर्नुपर्दछ। यसो गर्दा निम्न महत्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ।
(१) इमान्दारिता
(२) सक्रियता वा निरन्तरता
(३) समर्पित भावना
(४) रचनात्मक क्षमता वा कार्य दक्षता।
असल व्यक्ति चयन गर्दा पहिलो कुरा इमान्दारिता हो। जो व्यक्ति इमान्दार छ, उसलाई नेतृत्वमा ल्याउँदा पार्टी र क्रान्तिका निम्ति बल पुग्नेछ। इमान्दारिता भन्नाले आर्थिक, राजनैतिक र सामाजिक सबैप्रकारले इमान्दार व्यक्ति छान्नु पर्दछ। बेइमानी महत्वकांक्षी, पदलोलुप व्यक्तिले पार्टीमा नेतृत्व र्गयो भने पार्टीलाई ठूलो धोका हुनेछ।

पार्टी इतिहासतिर फर्केर हेर्ने हो भने कैयौं टाठाबाठा र बुद्धिजीवी हौं भन्नेहरूबाट धोका पाइएको छ। जसले आफूलाई बढि जान्ने, मैले जति कसले पो बुझेको छ भन्नेहरूबाट नै बढी धोका भए जस्तो लाग्छ। त्यसैले व्यक्तिमा भएको इमान्दारितालाई प्रधान बनाएर नेतृत्व चयन गर्नुपर्छ।

इमान्दारिता पछि हामीले निरन्तरतालाई प्राथमिकता दिनुपर्छ। समाज परिवर्तन राजनैतिक परिवर्तन र जनताको मुक्ति एक दुई वर्ष , एक दुई दशकमा मात्रै सम्भव हुँदैन। आमूल परिवर्तन हुन शताब्दीयौं लाग्न सक्छ। त्यसैले निरन्तर रूपले संगठनमा आजीवन लाग्ने मान्छेलाई चिनेर चुन्न कोशिस गर्नुपर्छ। २–४ वर्ष सक्रिय भएका कारणले हामीले नेतृत्व प्रदान गर्दा धोका पाउने सम्भावना रहन्छ। संगठनमा निरन्तर खट्ने मान्छे हेर्नुपर्छ। तर बेइमानी मान्छे केही समय खटेको देखेर हामीले हौसिएर उसलाई नेता बनाउने भूल गर्नु हुँदैन।

इमान्दारिता र निरन्तरता मात्रै हैन, नेतृत्वमा समर्पित भावना हुनैपर्छ। समर्पित भावनाका साथ संगठनमा लाग्ने नेतृत्वले मात्र संगठनलाई राम्रो बनाउन सक्ने छ। त्यसैले हामीले नेतृत्व चयन गर्दा संगठनप्रति समर्पित भावना भएको व्यक्तिलाई चिनेर चुन्ने कोशिस गर्नुपर्नेछ।

नेतृत्वमा ल्याउँदा ध्यान दिनुपर्ने अर्को चौथो कुरा कार्य दक्षता पर्नेछ। रचनात्मक क्षमता भएको व्यक्तिलाई चयन गर्नुपर्दछ। बेइमानी, निरन्तरता नभएको समर्पित भावनाको कमी भएको व्यक्ति जतिसुकै योजनाकार भएपनि चुन्न हुँदैन। तर इमान्दार, निरन्तर समय दिने र समर्पित भावना भएको र दक्ष व्यक्तिलाई संगठनको नेतृत्व प्रदान भएमा संगठन गुणात्मक रूपले अगाडि बढ्नेछ। त्यसैले यी सबै गुणहरू हेरेर मात्र नेतृत्व प्रदान गर्नुपर्दछ। राजनीति डट कमबाट साभार

कमेन्ट गर्नुहोस्