प्रेम, विवाह र यौनबारे आहुतीः के हो प्रेम, के होइन ?

१) धेरैले प्रेमको विषयमा आ—आफ्नै परिभाषा दिइरहेका हुन्छन् । तपाईँलाई चाहीँ प्रेम भनेको के हो भन्ने लाग्छ ?

—जीव कै जीवनमा र मानिसको जीवनमा एउटा महत्वपूर्ण पक्ष हो — यौन र सन्तान उत्पादन । किनकी सन्तान उत्पादन नभईकन समाज नियमित रुपमा चल्दैन । त्यसको निम्ति उसलाई विपरीत लिङ्गीहरु बीचको यौनको आवश्यकता पर्दछ । त्यो यौन जीवनलाई व्यवस्थित बनाउनका निम्ति मानिसले विभिन्न अवधारणाहरु, व्यवहारहरु निर्माण गरेका छन् । त्यो चाहीँ समाजको स्थिति जस्तो हुन्छ त्यही अनुसार निर्मित हुन पुगेको हुन्छ । त्यसकारणले हर युगको प्रेमको परिभाषा फरक फरक हुन्छ ।

जुन बेलामा परिवार, नीजि सम्पत्ति वा राज्य जस्ता चिजहरु थिएनन् । जसलाई आदिम समाज, वा आदिम साम्यवादी समाज वा विभिन्न नामले लिइन्छ । जुन बेलामा नीजि सम्पत्ति भन्ने थिएन । त्यतिबेला विपरीत लिङ्गीहरुबीचको सम्बन्ध भनेको स्वतन्त्रतामा आधारित हुन्थ्यो, आफ्नो इच्छामा आधारित हुन्थ्यो र त्यो स्थायी प्रकृतिको हुँदैनथ्यो । बच्चाहरु जन्मिन्थे र त्यो सिङ्गै कुलको बच्चा हुर्काउने जिम्मा हुन पुग्थ्यो ।

कसैको व्यक्तिगत बच्चा भन्ने हुँदैनथ्यो । र त्यहाँ बाबुहरु प्रष्ट नचिनिने भएको हुनाले, आमाहरु मात्रै चिनिने भएको हुनाले आमाको नामबाट नै बच्चाहरु हुर्किन्थे, उनीहरुको गोत्र प्रणाली आमाको नामबाट चल्थ्यो । त्यो बेलाको एउटा सम्बन्ध थियो । यौन सम्बन्धमा आधारित एउटा जीवन थियो । त्यतिबेला के भनिन्थ्यो होला एकले अर्काप्रति गरिने यौनमा आधारित मायालाई ?

समाज परिवर्तन भयो । फलामको आविष्कार भयो । त्यसपछि खेतीपाती हुन थाल्यो । त्यसपछि सम्पत्ति जम्मा हुन थाल्यो । सम्पत्ति जम्मा भइसकेपछि त्यो उपयोग गरेर नसकिएको सम्पत्ति कसको भन्ने प्रश्न उठ्यो । त्यसपछि त्यहाँ जो चलाख थियो, जो बलवान थियो वा जो षडयन्त्रकारी थियो उसले आफ्नो नीजि बनायो । त्यसपछि नीजि सम्पत्तिको जन्म भयो ।

नीजि सम्पत्तिको जन्म भइसकेपछि त्यो आफुले जीवनभर लुटेर जम्मा गरेको वा छलेर जम्मा गरेको नीजि सम्पत्ति आफु मरिसकेपछि आफ्नै मान्छेको हातमा जाओस् भन्ने चाह्यो, त्यो पुरुषले ।आफ्नै मान्छेको हातमा जानका निम्ति उसले चाहीँ आफ्नै बच्चा हो भन्ने ग्यारेन्टी गर्नुपर्‍यो । आफ्नै बच्चा हो भन्ने ग्यारेन्टी गर्नका निम्ति त्यस्ती महिला उसलाई चाहियो जो अरुसँग नजाओस् । आफैसँग मात्रै बसोस् । त्यसले गर्दाखेरी शुरुमा विवाह भनेको लुटेर शुरु भयो ।

अरु कुलहरुबाट लुटेर छोरी मान्छेहरुलाई ल्याएर एकल विवाह प्रणाली शुरु गरियो ता कि उसको मात्रै श्रीमती भएपछि उसले जन्माएको बच्चा आफ्नै हुन्छ भन्ने ग्यारेन्टी भयो । ता कि उसले आफ्नो सम्पत्ति आफ्नै नाम गरेको बच्चामा दिन पाइयोस् । अब त्यो लुटेर ल्याएको श्रीमतीसँग गरेको मायालाई हामी के भन्छौँ होला ? त्यसरी शुरु हुन्छ विवाह भन्ने चिज । आज विवाह भनेको निकै पवित्र चिज हो भनेर जो भन्छन् पुरुषहरुले लेखेको ग्रन्थमा, यसको शुरुवात त्यस्तो छैन ।

त्यसपछि दास युग शुरु भयो । दासहरुको बीचमा पनि एक आपसमा माया हुन्थ्यो । बच्चाहरु जन्मिन्थे । मालिकहरुको पनि जन्मिन्थ्यो । त्यसपछि बिस्तारै सामन्तवादी युग शुरु भयो । सामन्ती युगमा महिलाहरु अर्धदासीको रुपमा रहे । र त्यहाँ मागी विवाहको प्रचलन आयो । अब मागी विवाह भनेको कुलले, आफ्नै धर्मका मान्छेले, आफ्नै खलकले जोडी खोजी दिने कुरा हो ।

त्यहाँ पुरुषलाई पनि अधिकार थिएन, महिलालाई पनि अधिकार थिएन छान्ने । राजा महाराजाहरुले चाहीँ आफैले लुटेर पनि ल्याउँथे, छानेर । नत्र भने आम जनताको निम्ति भने पुरुषले पनि छान्न पाउँदैनथ्यो । त्यसपछि अरुले जुटाईदिएको जोडी भेट भईसकेपछि शुरु हुने माया, त्यसलाई हामी के भन्छौँ ? त्यो कस्तो प्रकारको थियो ? हामी अहिले पनि अनुभुति गर्न सक्छौँ नेपाली समाजमा । अहिले पनि मागी विवाह चलिरहेकै छ ।

त्यसकारणले यो यौन सम्बन्धलाई व्यवस्थित गर्ने पुरुष र महिला बीचको भावनात्मक सम्बन्धका युगपिच्छैनै फरक फरक आयामहरु छन् । फरक फरक नामहरु छन् । कैयौँ भाषामा शब्दहरु फरक फरक हुन्छन् । तर कैयौँ भाषामा एउटै शब्दले काम चलाउनुपर्ने हुन्छ । त्यसले गर्दाखेरी त्यतिबेला माया भनिन्थ्यो । माया चाहीँ आम रुपमा प्रचलित कुरा हो । त्यो चाहीँ अब छोराछोरीलाई गर्ने पनि माया, लोग्ने स्वास्नीको बीचमा हुने पनि माया ईत्यादि ।

अब जब पुँजीवादको युग शुरु भयो, आजभन्दा ४/५ सय वर्ष अगाडी जब जर्ज स्टेफेन्सनले बाफबाट भल्ने इन्जिनको आविष्कार गरे त्यसपछि घरेलु रुपमा काम गरिरहेका दस्तकारहरु र व्यापारीहरु मिलेर उद्योगको निर्माण हुन थाल्यो । कपडा कारखानाहरु बन्न थाले । तानहरु जो व्यक्तिले चलाउँथे अब धेरै वटा तान राखेर एउटै इन्जिनले घुमाइदिने भयो । र हजारौँ हजार थान कपडाहरु निस्किन थाले । सबै चिजमा उत्पादन बढ्न थाल्यो । ठुला ठुला कारखानाहरु चल्न थाले ।

अब कारखानाहरु चल्न थालिसकेपछि मानिसहरु टाढा टाढाबाट त्यहाँ मजदुरको रुपमा भर्ती हुन थाले । आफ्नो गाउँ छोडेर, आफ्नो शहर छोडेर वा आफ्ना चाहीँ बस्तीहरु छोडेर, आफ्नो जाती, कुल, धर्म भएको ठाउँ छोडेर उनीहरु कारखानामा केन्द्रित हुन थाले । युवायुवतीहरु कारखानमा काम गर्न थालेपछि उनीहरुको यौन जीवनलाई व्यवस्थित गर्न उनीहरु अब गाउँ फर्केर, आफ्नो धर्म भएको ठाउँमा, आफ्नो कुल भएको ठाउँमा, आफ्नो लमी भएको ठाउँमा फर्केर जोडा खोज्न सम्भव थिएन ।

त्यसपछि उनीहरुले त्यहाँ जो भेटे, जोसँग मनको अनुराग गाँसियो, जोसँग नजिक हुन उनीहरुले पाए उनीहरुसँग नै आफैले निर्णय गरेर, आफैले छानेर जोडी रोज्न थालियो । त्यसपछि नै यो अहिलेको आधुनिक प्रेम भनेर जसलाई भनिन्छ, विपरीत लिङ्गीहरुबीचको प्रेम भनेर जेलाई भनिन्छ त्यो अवधारणा चाहीँ पूँजीवादले निर्माण गरिदिएको हो ।

प्रेम भन्नाले मुलतः दुई वटा कुरा आधारभुत हुन् यसका । एउटा, यसले यौन जीवनलाई व्यवस्थित गर्न साथी छनौटको अधिकारसँग सम्बन्धित छ यो । आफैले छनौट गर्ने अधिकार । दोश्रो, प्रेमको अर्को आधार के हो भने यो समानता तिर अगाडी बढ्छ । किनकी प्रेम भन्दा अगाडीका जति पनि सम्बन्धहरु छन् केटाकेटी बीचको, त्यो असमानतामा आधारित छ ।

त्यसले समानताको माग गर्दैन । मन परे पनि, मन नपरे पनि जुराएपछि सँगै बस्नुप¥यो । त्यहाँ छनौटको स्वतन्त्रता छैन । आफ्नो निर्णयको स्वतन्त्रता छैन त्यहाँ । तर प्रेमको अवधारणा आइसकेपछि दुई वटा आधार छन् यसका । एउटा साथी छनौटको अधिकारसँग सम्बन्धित छ प्रेम भन्ने अवधारणा । दोश्रो, यो पुरुष र महिलाहरुको समानता तिर अगाडी बढ्नेसँग सम्बन्धित छ यो । जब अर्कोले असमान अनुभुति गर्छ, आफुलाई उत्पीडन अनुभुति गर्छ भने उसले छुट्टिन सक्छ । त्यसकारणले महिला र पुरुष बीचका यस्ता सम्बन्धहरुको युग पिच्छै नै यसका अवधारणाहरु, यसका जीवन व्यवहारहरु फरक छन् ।

र आज हामी जो पुँजीवादको युगमा छौँ, व्यक्तिगत स्वतन्त्रताको युगमा छौँ भने आजको प्रेम चाहीँ मुलतः दुई वटा कुरामा आधारित छ । एउटा, छनौटको स्वतन्त्रतामा आधारित छ । अर्को समानतातिर अगाडी बढ्नुपर्छ भन्ने यसको अवधारणा छ ।

२) तपाईँले प्रेममा रोज्ने स्वतन्त्रता हुन्छ त्यो भनेको छोड्ने स्वतन्त्रता पनि हो भन्नुभयो । यहाँ प्रेम सम्बन्ध तोडेर जानेहरुलाई चाहीँ धोका दियो, घात ग¥यो भनेर आरोप प्रत्यारोप गर्ने गरिन्छ । यस्तो आरोप लगाउन मिल्ने कि नमिल्ने ?

—त्यो चाहीँ व्यक्तिहरु बीचको आपसी करार वा समझदारीमा भर पर्छ । त्यो अरुले भन्ने कुरा होइन । जस्तो कि उनीहरु प्रेम सम्बन्धमा हुँदा एकले अर्काप्रति कस्तो प्रतिक्रिया जनाएका थिए ? एक अर्काप्रति उनीहरुले गरेको प्रतिबद्धता तोड्ने काम भयो भने एकले अर्कोलाई धोकेबाज भन्न सक्ने भयो । तर उनीहरुले कस्तो प्रतिबद्धता गरेका थिए भन्नेमा भर पर्छ । त्यो समाजले चाहीँ, फलानोले फलानोलाई धोका दियो भनेर भन्न सक्दैन । किन सक्दैन त भने, समाजसँग उसले प्रतिबद्धतै कायम गरेको होईन ।

जब कोही मान्छे प्रेम सम्बन्धमा गाँसिन्छन् भने, उनीहरुले सँधै बुझ्न सक्नुपर्दछ, कि यो मागी विवाह जस्तो ७ जन्मको खेल होइन । हिन्दूहरुको मागी विवाहमा जस्तो मारे पाप पाले पूण्यवाला त प्रेम होइन त्यो त । त्यो त एकअर्काप्रति दासत्व हो । विशेष त महिलाको पुरुषप्रतिको दासत्व हो ।

मारे पाप पाले पूण्य भनेको त महिलाको पुरुषप्रतिको दासत्व हो । दासत्व भनेको त लडाईँबाट मात्रै मुक्ति हुने कुरा हुन्छ । त्यसमा धोका भन्ने हुँदैन । प्रेम भनिसकेपछि जब कसैले कसैलाई रोज्न पाउँछ भन्देखी त्यहाँ स्वतः नै के आउँछ भने त्यहाँ छुट्न पनि पाउँछ । त्यो त स्वतः गाँसिएर आउने कुरा हो नि । तपाईँले कुनै ढोका खोल्नुहुन्छ भने भित्र जान पाइन्छ भन्नुको मतलब त्यो ढोकाको अर्थ हो, बाहिर निस्किन पनि पाइन्छ । निस्किने ननिस्किने त उसको कुरा हो । त्यसकारणले गर्दा प्रेममा धोका भयो भनेर आरोपित गर्ने विषय होइन ।

मान्नुस् तपाईँ कसैलाई प्रेम गर्नुहुन्छ । तर उसले तपाईँलाई अस्वीकार गरिदियो, केही समयपछि वा कुनै मुद्दामा र उसले अर्को मान्छेसँग आफ्नो सम्बन्ध बनायो भने तपाईँ यदि साँच्चै उसलाई प्रेम गर्नुहुन्छ भने त तपाईँ त खुशी हुनुपर्ने हो नि । किनकी तपाईँले प्रेम गरेको मान्छेको खुशी तपाईँ चाहानुहुन्छ भनेपछि त उसलाई त्यसो गर्दा खुशी हुन्छ नि त ।

३) तर यो त त्यति व्यवहारिक कुरा त होइन नि । आफुलाई पर्दा त गाह्रो हुन्छ नि त ।

—यो त चेतनाको कुरा हो । किनकी मानिसहरु अहिले पनि प्रेम किन गरिराखेका छन् त भन्दाखेरी विवाह गर्न गरिराखेका छन् । विवाह गर्न जब मान्छे कोही प्रेम गर्छ भने त उ त सामन्तवाद मै छ नि ।

४) त्यसो भए प्रेम चाहीँ के को लागि गर्नुपर्ने थियो त ?

—प्रेम त स्वभाविक रुपमा उसको जीवनको आवश्यकता भयो । एउटा उसको यौनको आवश्यकता होला । अर्को उसको मानसिक रुपमा उसलाई तन्दुरुस्त बनाइराख्नका लागि आवश्यकता होला । जे पनि आवश्यकता होला नि ।

त्यसकारणले मानिसलाई स्वभाविक रुपमा विपरीत लिङ्गीहरुको साथ चाहिन्छ वयस्क भएपछि भनिसकेपछि त उसका यावत आवश्यकताहरु हुन्छन् । उनीहरु सँगै बस्ने, सँगै बच्चा पैदा गर्ने ठाउँसम्म पुग्न पनि सक्छन् । र धेरै जसो पुग्छन् नै । तर कोही पुग्दैन । त्यहाँ पुगेन भनेदेखी नपुग्न पनि सक्ने भो नि । तपाईँ कुनै गाडी चढ्नुहुन्छ र निश्चित ठाउँको निम्ति यात्रा गर्नुहुन्छ भने अधिकांश गाडीहरु पुग्छन् । कुनै कुनै नपुग्न पनि सक्छन् ।

५) भनेपछि पुग्नुपर्ने ठाउँ त विवाह नै हो त उसो भए ?

—विवाह होइन । पुग्नुपर्ने ठाउँ चाहीँ उनीहरु सह जीवन शुरु गर्ने ठाउँमा पुग्नुपर्ने हो । विवाह भनेको र सह जीवन भनेको फरक फरक कुरा हो । ठीक छ अहिलेको समाजमा बुझ्नका लागि विवाह नै भनौँ । तर विवाह भनेर के बुझिन्छ भने नि, विवाह भइसकेपछि चाहीँ तोड्न हुँदैन भन्ने बुझिन्छ के नेपालमा ।

विवाह बन्धनमा बाँधियो भनिन्छ । बन्धनमा कोही किन बाँधिने त ? स्वतन्त्रता पो खोज्छ मान्छेले । त्यसकारणले छुट्न सक्ने स्वतन्त्रता सहितको सम्बन्ध नै हुन्छ प्रेम भनेको । र मेरो विचार त विवाह भनेको पनि त्यही हो । विवाह नै यदि कसैले भनिहाल्छ भने पनि आजको समय अनुसारको विवाहको परिभाषा गर्नुप¥यो ।

हिजोको विवाह भनेको एक अर्कासँग गाँसिएपछि महिला ७ जुनीसम्म छुट्न पाएन । पुरुषको निम्ति त हावा कुरा हो, लेख्या मात्रै हो । अपवादले बाहेक कसैले मान्ने होइन । उ वाध्य थिएन ।

अहिलेको नयाँ विवाहको परिभाषा गर्ने हो भने चाहीँ, उनीहरुले स्वतन्त्रतामा आधारित, प्रेममा आधारित र समानतामा आधारित सह जीवन शुरु गर्ने । त्यसलाई विवाह भन्ने हो भने विवाहको नयाँ परिभाषा हुन्छ । कुनै पक्षलाई छुट्न मन लाग्छ भने छुट्न पाउने स्वतन्त्रता सहितको सह जीवन हुन्छ त्यो । अबको विवाह त्यस्तो हुनुपर्छ ।

६) मैले अलि वौद्धिक रुपमा माथी उठेकाहरुसँग कुरा गरिरहँदा, प्रेम भनेको त विवाहसँगको कुरा होइन भन्नुहुन्छ, तपाईँले पनि त्यही भन्नुभयो । तर अहिले जति पनि युवाहरु प्रेम भनेर गरिरहेका छन् उनीहरु चाहीँ प्रेम भनेपछि विवाह नै गर्नुपर्छ भन्ने सोँचाई राख्छन् । उसो भए उनीहरुले प्रेम नै गरेका होइनन् त ?

—त्यो त हामीले कसरी भन्ने, कसले के गरिराको हो भनेर । त्यो त गाह्रो छ तर मुख्य कुरा के हो भने सरल कुरा छ, समाजशास्त्रीय ढंगले सोँच्दाखेरी विपरीत लिङ्गीहरुबीचको आकर्षण त्यो जुनै प्रकारको होस् त्यसको केन्द्रिय तत्व यौन हो । अरु कुरा धेरै फूलबुट्टा भर्नु परेन ।

प्रेमको भन्नुस् वा आकर्षणको भन्नुस् विपरीत लिङ्गीहरु बीचको केन्द्रिय तत्व यौन नै हो । खुला खुला भन्नुप¥यो नि आजको समाजमा । त्यो केन्द्रिय तत्व प्राप्त गर्नका निम्ति मानिसले आफ्नो हृदयदेखीको भावना देखी लिएर सबैकुरा मिल्नुपर्ने हुन्छ । त्यो मिल्छ भने त्यो प्रेम भयो । त्यो विवाहमा परिणत हुन पनि सक्छ, नहुन पनि सक्छ । र विवाहमा परिणत हुनु भन्दा पहिले नै टुट्न पनि सक्छ, विवाह गरिसकेपछि टुट्न पनि सक्छ । वा नटुट्न पनि सक्छ । धेरैजसो टुट्दैन ।

७) विपरीत लिङ्गीहरु बीचको केन्द्रिय तत्व यौन हो भनेर मान्ने हो भने, विवाहमा पुग्नु भन्दा अघि उनीहरु बीचमा हुने यौन सम्बन्ध स्वभाविक नै हो ?

—पहिलो कुरा के हो भने, प्रेम छ भने यौन सम्बन्ध छ कि छैन भनेर प्रश्न सोध्नु नै वाहियात कुरा हो । त्यो उनीहरु दुई जना के चाहन्छन् भन्ने विषय हो । प्रेममा हुँदा यौन सम्बन्ध नराख्न पनि सक्छन् या राख्न पनि सक्छन्, त्यो त उनीहरुको कुरा भयो ।

प्रेमको स्तरमा पुग्ने भनेको त सम्पूर्ण रुपमा एकले अर्कोलाई समर्पित गर्ने स्तरमा पुग्ने भनेको हो । प्रेमको स्तरमा पुग्ने भनेको त एकले अर्कोलाई खुशी पार्दा खेरी आफुलाई आनन्द हुने चरण भनेको हो । त्यो चरणमा पुगेका मान्छेहरुको बीचमा चाहीँ यौन सम्बन्ध छ कि छैन भनेर कसैले सोँच्नु वा सोध्नु नै हाँस्यास्पद कुरा हो ।

८) तर केही मान्छेहरु चाहीँ प्रेम पहिले विकृत भयो भन्छन् । र उनीहरुको संकेत नै के हुन्छ भने, पहिले प्रेम सम्बन्धमा यौन सम्बन्ध मिसिन्थेन तर अहिले चाहीँ एक दुई पटक भेटेपछि यौन सम्बन्ध राख्न तिर लाग्छन्, त्यसैले विकृत भयो प्रेम सम्बन्ध भन्छन् नि । त्यसो भए उनीहरुको यो भनाई ठीक होइन ?

— उनीहरुले प्रेम भनेको के हो भनेर नबुझेको कुरा भयो त्यो त । जो मान्छे प्रेम मै छैन के, उसले प्रेमीहरुको आलोचना गरेर पनि त किन समय खेर फाल्नु प¥यो र ? व्यक्तिगत स्वतन्त्रता भन्ने, अनि त्यसले त्यो ग¥या विकृति भो भन्ने, त्यस्तो पनि हुन्छ ? त्यो हुँदैन । त्यो त अदालतले पनि मान्दैन । नेपालको सर्वोच्च अदालत असाध्यै ¥याडिकल भनिन्छ । कतिपयले त पुरातनपन्थी पनि भन्छन् । तर अदालतले पनि मान्दैन यो कुरा त । किनकी अदालतले बच्चा जन्मिनुलाई विवाह भएको मान्दैन । बच्चा जन्मेकोलाई वैधानितकता दिन्छ । बच्चालाई वैधानिक बनाउँछ । तर उनीहरुको बीचमा विवाह भएको मान्दैन । विवाह नभइकन पनि बच्चा जन्मिन सक्छ भन्या के हो ? नेपालको जस्तो सर्वोच्च अदालतले समेत पनि प्रेममा यौन सम्बन्ध हुन सक्दछ, बच्चा पनि जन्मिन सक्दछ र त्यो पनि वैधानिक हो भनिसक्यो भनेपछि अनि यो के विकृति ?

९) धेरै मान्छेहरु प्रेम भनेको त दुई जना तयार भएपछि कसैले वाधा गर्दैन, यो त निरपेक्ष चिज हो भन्या जस्तो कुरा गर्छन । प्रेम गर्नेहरु कति स्वतन्त्र छन् नेपाली समाजमा ?

—नेपाली समाज वा अर्को देशको समाज भन्दा पनि त्यो समाजको चरित्र कस्तो हो भन्नेमा भर पर्छ । व्यक्तिगत स्वतन्त्रता वा छनौटको अधिकार भनेको पूँजीवादी समाजमा मात्रै हुन्छ । पूँजीवादी समाज भन्दा अगाडीका अथवा सामन्तवादी समाजमा व्यक्तिगत स्वतन्त्रता हुँदैन । व्यक्तिगत स्वतन्त्रता नभएपछि त प्रेमको स्वतन्त्रता हुने कुरै भएन । पूँजीवादी समाजमा मात्रै प्रेमको स्वतन्त्रता हुन्छ ।

त्यसबाहेक पनि सामन्तवादी समाजमा केही जनजाती समुदायहरुमा कविला युगको एकप्रकारको अवशेष जस्तो उनीहरुमा केही आफ्नो कुल जात भित्र चाहीँ जोडी छनौटको स्वतन्त्रता भए जस्तो केही चिजहरु थिए । त्यहाँ केही प्रेम विवाह जस्ता छनौट गरेर हिँड्ने, भाग्ने जस्ता चिजहरु थिए तर मुलतः पूँजीवादी समाजमा मात्रै प्रेमको स्वतन्त्रता हुन्छ । अहिले नेपाली समाज पूँजीवादी समाज नै हो तर सामन्तवाद संस्कृतिको क्षेत्रमा यावत रुपमा जकडिएर बसेको छ ।

जस्तो मुस्लिम समाज भन्नुस्, मधेशी समाज भन्नुस्, त्यसैगरि सुदुरपश्चिमको कर्णाली नदी काटेर गइसकेपछि पहाडी भू—भाग भन्नुस् जहाँ महिलालाई करीब करीब पुरुष सरहको मानिस नै ठानिँदैन । किनकी पुरुषले मात्रै प्रेम गर्न चाहेर हुँदैन नि । महिलालाई पनि छनौटको स्वतन्त्रता हुनुप¥यो । त्यति भएपछि मात्रै प्रेम सम्बन्ध विकास हुन्छ । त्यसकारणले नेपाली समाज अहिले प्रेमका सन्दर्भमा संघर्षशील समाज भन्न सकिन्छ । त्यो दिशामा जानका निम्ति संघर्ष गरिरहेको । र अभिभावकहरुले पनि आफुले रोजेर बिहे गरेकै राम्रो भन्ने मौखिक सहमतिसम्म पुगेको । साँच्चै आफ्नो घरमा त्यो परिघटना घट्दा असाध्यै ठुलो बबण्डर हुने तर बाहिर बोल्दा खेरी चाहीँ रोजेरै ग¥या राम्रो नि भन्न मौखिक सहमति गर्ने ठाउँसम्म पुगेको तर आम युवाहरुको निम्ति चाहीँ प्रेम अहिले पनि आधारभुत रुपमा संघर्ष कै विषय हो, लडाईँ कै विषय हो । किनकी प्रेम भन्ने बित्तिकै नेपालमा जातको कुरा आउँछ ।

प्रेमीहरु कलेजमा भेट्छन् तर त्यहाँ त फरक फरक जातबाट आएका हुन्छन् । अन्तमा परिवारले स्वीकार्ने बेलामा जातको कुरा आएर अड्किन्छ । अर्को कुरा सम्पत्तिको कुरा आएर अड्किन्छ । अर्को कुरा धर्मको कुरा आएर अड्किन्छ । अर्को कुरा भेगको कुरा आएर अड्किन्छ । कति जना पहाडको केटी मानिसहरुले मधेशीहरुसँग बिहे गरे त ? इतिहासमा गन्ने हो भने २ दर्जन पुग्न पनि गाह्रो होला । त्यसैगरि कति जना पहाडका खस—आर्य वा जनजाती केटाहरुले मुस्लिम महिलाहरुसँग प्रेम विवाह गरे त ? भन्यो भने असाध्यै कम होला । यो के ले छेकिराको छ भन्दाखेरी यो चाहीँ सामन्तवादी संस्कृतिले छेकिराको छ । त्यसो भएको हुनाले नेपाली समाज प्रेमको मामलामा चाहीँ सम्पूर्णता तिर जानलाई संघर्ष गरिरहेको समाजको रुपमा बुझ्नु नै ठीक हुन्छ ।

१०) अहिले प्रेम गर्नेहरुले समाजबाट जे जस्ता उल्झन्हरु व्यहोरिरहनु परेको छ त्यो हट्ने अवस्थामा चाहीँ कहिले पुग्ला नेपाली समाज ?

— समाजवादी समाज बिना त यो सम्भव छैन । पूँजीवाद रहेसम्म त यसका पनि सिमा छन् । समान्तवाद भन्दा पूँजीवाद धेरै नै प्रगतिशील छ । यसले व्यक्तिगत स्वतन्त्रता दिन्छ । तर व्यक्तिगत स्वतन्त्रता यसले सम्पत्तिको कठघरामा थुपारिदिन्छ । जति सम्पत्ति भयो त्यति स्वतन्त्रता हुन्छ । जति सम्पत्ति कम भयो त्यति कम स्वतन्त्रता हुन्छ । एउटा वाधा त यसको छ ।

त्यसकारण समाजवादी समाजको निर्माण बिना त प्रेमको पनि उन्नयन सम्भव छैन । स्वतन्त्रतायुक्त प्रेमको समाज सम्भव छैन । तैपनि हिजोको सामन्तवादको दाँजोमा चाहीँ नेपाली समाजमा जति धेरै पूँजीवादको विकास हुन्छ, जति धेरै पूँजीवादी संस्कृतिको व्यवहारिक रुपमा लागु हुँदै जान्छ यो प्रेमको विषय पनि त्यति नै सरल हुँदै जान्छ ।

११) तपाईँले कतै भन्नुभएको मैले पढेको थिएँ — अहिले प्रेम गर्नेहरु जसरी न्युरोडमा सँगै आइसक्रिम खाएर हिँडिरहेका छन् यो स्वतन्त्रतासम्म आइपुग्नका लागि इतिहासमा प्रेम गर्नेहरु शंखमुलमा काटिएका पनि छन् । त्यो हिजोको अवस्था कति जटिल थियो भनिदिनोस् न ।

— नेपाली समाजमा विवाहका अथवा सामाजिक यौन जीवनका भनौँ न, सह जीवनका ३—४ वटा आयामहरु थिए । एउटा मागी विवाह, अर्को गन्धर्व विवाह अथवा भागी विवाह, तेश्रो लुटी विवाह पनि थियो ।

पश्चिमका खसहरु र जनजाती समुदायमा मन परेको केटी मान्छे केटाले लुटेर लाने । यी ३ प्रकारका विवाहहरु नेपाली समाजमा थिए । वि.सं.१९९० पछि नेपालमा लोकतान्त्रिक आन्दोलन पनि चल्न थाल्यो । शिक्षा पनि बिस्तारै, त्रिचन्द्र कलेज खुल्ने, बनारस गएर पढ्ने हुन थाल्यो । बनारस गएर पढ्ने नेपालका युवाहरुले हिन्दी फिल्म हेर्न थाले । प्रेममा आधारित फिल्महरु बन्थे । ती फिल्महरु हेरेर फर्के । अब पढेर पनि फर्केका, जान्ने बुझ्ने भएर पनि फर्केका, प्रेम गरेको फिल्म पनि हेरेर फर्केका भएपछि स्वभाविक रुपमा उसलाई आफ्नो जोडी चाहीँ मैले छान्न पाउनुपर्छ भन्ने सोँचाई हुने नै भयो । उसले बाउ आमालाई भन्यो, मैले केटी हेर्न पाउनुपर्छ । अब कमाउन सक्ने भएर आएको छोरा, पढेर आएको छोरा , उसको कुरा नमान्ने भन्न गाह्रो भयो । अनि केटी देखाइदिन थाले । केटी देखाइदिने भनेको, केटीले पनि हेर्ने कुरा भयो । खासै हेरेर त के हुन्थ्यो र तैपनि । त्यहाँबाट शुरु हुन्छ प्रेमको भु्रण नेपालमा । जोडी छनौटको भु्रण ।

बिस्तारै समाज अगाडी बढ्दै गयो र नेपालमा कलकारखानाहरु खुल्न थाले । ५ विकास क्षेत्रमा औद्योगिक क्षेत्रहरु खुल्न थाले । शहर बजारहरु खुल्न थाल्यो । एअरपोर्टहरु बन्न थाले । पूँजीवाद त विकास हुन थाल्यो । कलेजहरुमा मान्छेहरु भेटघाट हुन थाल्यो । यो क्रममा जाँदा त्यो छनौटको स्वतन्त्रता बिस्तारै अगाडी बढेर भाउजु, मामाहरु कोठा बाहिर बसेर भित्र चाहीँ केटा र केटीलाई २०—२५ मिनेट सँगै कुरा गर्न दिनेसम्म अगाडी बढ्यो ।

त्यहाँबाट अगाडी आएर अहिले आईपुग्दा खेरी चाहीँ मौखिक स्वीकारोक्तिको रुपमा चाहीँ आफैले रोजेर गरेको राम्रो भन्ने ठाउँसम्म अहिले पुग्यो । पूँजीवाद समाजले सामन्तवादी समाजलाई जति कमजोर पार्दै गाछ त्यति नै यो (छनौटको स्वतन्त्रता) अगाडी बढ्दै आछ । यसो गर्नका निम्ति पनि यो त्यत्तिकै भाको त होइन । त्यहाँ त विद्रोहीहरु थिए र छलाङ मार्दै आ छ । जङ्गबहादुरको मुलुकी ऐनलाई हेर्ने हो भने राणाकालमा अन्तरजाती र अन्तरजात विवाह गरेकाहरु कम्तीमा पनि जेल पर्थे । नत्र भने उनीहरुले काटिन समेत पथ्र्यो । शंखमुलमा लगेर काटिन्थ्यो काठमाण्डुमा ।

१२) अन्तरजात विवाह गरेकै कारण काटिनुपथ्र्यो ?

— हो नि । नत्र भने जेल त स्वभाविक रुपमा पथ्र्यो । जेलमा जन्मिएका त थुप्रै साथीहरु अहिले पनि छन् नि । जवाहर रोक्का जेलमा जन्मेको हो । अन्तरजात विवाहका कारण जातै जान्थ्यो । जात जाने भनेको अहिले जस्तो थिएन । त्यतिबेला सजाय पाउने कुरा थियो । त्यो गाउँबाट बहिष्कार हुन्थ्यो । सम्पूर्ण हैसियत कमजोर भएर जान्थ्यो ।

अब जय गोविन्द शाह भनेको उनको नाम नै जेल गोविन्द शाह हो । जेलमा जन्मेको हुनाले । त्यतिबेलाका ती प्रेमीहरुले त्यो साहस नगरेको भए अहिलेका प्रेमीहरुले सँगै बसेर आइसक्रिम खाने दिन आउँदैनथ्यो । ती पाश्र्व क्रान्तिकारीहरु हुन् ।

३०/३५ सालमा नेपालमा महिलाहरुले पाइन्ट लाउने भन्ने कुरा ठुलो विद्रोहको कुरा थियो । मेरो गाउँमा ३ जना दिदीबहिनीहरुले पाइन्ट लगाको २ जनाको त बिहे नै भएन पाइन्ट लगाकै हुनाले । तिनीहरुले त्यो पाइन्ट लगाएर सबै गाली खाइदिएको हुनाले नै अहिले नेपालको प्रत्येक सदरमुकाममा महिलाहरुले जिन्स लगाउँदा खेरी कसैले केही भन्न नसक्ने भाको हो । त्यसकारणले यो त क्रमश समाजमा विद्रोहीहरुले नै यहाँसम्म ल्याएका हुन् ।

१३) प्रेम गर्नेहरु धेरै चाहीँ जोसँग प्रेम गरेको हुन्छ उसैसँग विवाह गर्नु नै जीवनको लक्ष्य हो भन्ने सोँच्छन् । के प्रेम जीवनको लक्ष्य हुनसक्छ ?

— महिला पुरुषले एउटा सह जीवन शुरु नगर्दासम्म त्यो सह जीवनलाई उनीहरुले लक्ष्य बनाउन सक्छन् । त्यो सह जीवनमा प्रवेश गर्नुभन्दा अगाडी चाहीँ प्रेम एउटा सह जीवनको लक्ष्य बन्न सक्छ । तर जीवन त उसको त्यसपछि पनि बाँकी रहन्छ । एकले अर्कालाई त पाइसक्यो नि, त्यसपछि त जीवनमा नयाँ काम गर्ने लक्ष्य हुन्छ होला नि त । सम्पत्ति कमाउन मन लाग्छ होला, बच्चा बच्चीलाई राम्रो जीवन दिउँ भन्ने सपना हुन्छ होला ।

कसैको कवि बन्ने सपना हुन्छ होला, कसैको चार्टर एकान्टेण्ट बन्ने हुन्छ होला । जीवनको लक्ष्य त प्रेम हुँदै हुँदैन, जीवनको एउटा खण्डको लक्ष्य चाहीँ हुनसक्छ । तर त्यो मुल लक्ष्यको अधिनमा हुन्छ ।

हुन त नेपालमा गीत पनि कस्तो कस्तो गाउन थाले भने “यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ” भन्ने गीत गाउँछन् नि हैन ? त्यो माया र देशभक्ति चाहीँ विपरीत चिज जस्तो के । त्यस्तो होइन । सँसारका सबभन्दा ठुला क्रान्तिकारीहरु सबभन्दा ठुला प्रेमीहरु थिए । इसा मसिह धेरै ठुलो प्रेमी हुन् । वेश्याको कोठामा पनि उनी प्रेमपूर्वक जान्थे । र उनको मृत्युमा उनको लास कुरेर बस्ने मध्ये एकजना वेश्या थिइन् । उनीहरुलाई देशभक्ति त्यसले रोकिएन केही पनि । त्यसकारण प्रेम एउटा आम मानिसको जीवनको प्रगतिको वाधक चिज होइन । त्यसको सहयोगी चिज हो । त्यसकारणले गर्दा जीवनको मुल लक्ष्यको अधिनमा हुन्छ यो ।

१४) अब अलिकति फरक कुरा गरौँ न, अहिलेका युवा कस्तो सपना देखिरहेका छन् ?

— बहुसंख्यक युवा अहिले उपभोक्तावादी ढंगले सपना देखिरहेका छन् । पूँजीवादले सामान उत्पादन ग¥या छ, उसलाई बेच्नु प¥या छ । त्यो बेच्नका लागि उसले अनेक रुचीहरु जगाईदि राख्या छ । लतहरु विकास गरिराख्या छ । त्यो लतको भुमरीमा युवाहरु बत्तिने क्रम बढेर गएको छ ।

जस्तो भनौँ न, एउटा मान्छे मोबाइलको जम्मा ३ वटा एप पनि चलाउँदैन तर उसलाई आइफोन, ग्यालेक्सी वा नयाँ ब्राण्डको मोबाइल आउने बित्तिकै लिन मन लाग्छ । जसले इमेल नै चलाउँदैन उसलाई पनि स्मार्ट फोन चाहिएको छ । किन चाहियो त ? जो मान्छे नेपालमा बसेर सामान्यत गाडी चढी राख्या छ वा जागीर खाइराख्या छ, परिवार राम्रैसँग चलाइराख्या छ तर त्यो मान्छेलाई अमेरिका जान मन लाग्छ ।

जो नेपालमा बसेर जीवन धान्न धौ धौ भइराख्या छ उ खाडी गइराख्या छ । त्यो अर्कै कुरा हो । उ उपभोक्तावादी होइन । उ त जीवन बचाउनै गयो त । तर जसलाई मोटामोटी जीवन चाहीँ चलिराख्या छ र एकदम गएगुज्रेको हालतमा छैन, त्यो मान्छे अमेरिका र युरोप गइराख्या छ । भनेपछि मूलभुत रुपमा नेपाली समाजलाई अहिले उपभोक्तावादले युवाहरुलाई नराम्रोसँग बत्ताउँदैछ । आधारभुत रुपमा बहुसंख्यक युवाहरुलाई ।

अब थोरै संख्यामा युवाहरु पनि छन् जो कसरी यो देशलाई बदल्ने, यो समाजलाई कसरी बदल्ने, हाम्रो जीवनलाई सार्थक कसरी बनाउने, जन्मिनु भनेको खानको लागि मात्रै होइन, खान त बाँच्नका लागि पो हो त भनेर सोँच्ने एउटा सँधैभरि छ । अहिले पनि छ । त्यसकारण मुल चरित्र, आम युवाको चरित्र चाहीँ उपभोक्तावादी बन्दै गएको छ । यो निकै नै डरलाग्दो कुरा हो ।

१५) त्यसो भए युवाहरुको सपना के हुनुपथ्र्यो ?

— पहिलो कुरा यो दुनियाँमा हजारौँ हजार दुःखहरु छन् । यसो सोँचौँ न, सिरियामा मात्रै ६ वर्ष भित्र ३ लाख मानिसहरुको हत्या भइसक्यो । हामी एकपटक सोचौँ, त्यो किन भयो ? नेपाल प्राकृतिक स्रोत साधनले यति धनी हुँदा हुँदै नेपालीहरु ४५ लाख भन्दा बढी विदेशमा रोजगारी गर्न जान वाध्य किन भए ? कि त हामीले भन्नुप¥यो भाग्यको खेल । होईन भने त जे कारणले करोडौं करोड मानिसहरुलाई दुःख भइराखेको छ, त्यो कारणको विरुद्ध लड्नुलाई लक्ष्य बनाउनुप¥यो नि । नत्र यो समयमा जन्मिनु नै किनप¥यो मान्छे ?

जब तपाईँ मानिसहरुको दुःखको विरुद्धमा लड्न चाहानुहुन्न, मानव समाजलाई अगाडी बढाउनका निम्ति र त्यो सँगसँगै आफु पनि अगाडी बढ्नका निम्ति तपाईँले आफुलाई समर्पित गर्नुहुन्न भने त्यो मानिस यो धर्तीमा आउनुको अर्थ कति धेरै हुन्छ ? खाने, पिउने, मोज गर्ने मात्रै त किरा फट्याङ्ग्राले पनि गरिराखेको छ नि । उसले आफ्नै तरिकाले ग¥या छ । एउटा माकुराले झिंगा समात्यो भने उ पनि त दशैं मनाउँदो हो । त्यो त केही ठुलो कुरा भएन ।

अहिले सँसारको ८० प्रतिशत सम्पत्ति, मान्छेले श्रम गरेर जन्माएको सम्पत्ति सँसारको १५ प्रतिशत परिवारमा केन्द्रित छ । र बाँकी ८५ प्रतिशत मानिसहरुको हातमा जम्मा जम्मी २० प्रतिशत मात्रै सम्पत्ति छ । जबकी १५ प्रतिशत मान्छेले ८५ प्रतिशत सम्पत्ति खाइदिएको छ । हाम्रो गरीबिको मुल कारण त त्यो हो नि । हामीलाई छट्पटी हुने, निन्द्रा पनि नलाग्ने कारण त त्यो हो नि । त्यसको विरुद्ध लड्ने सपना चाहीँ नदेख्ने, अनि गाली कसलाई गर्ने त भन्दा आफ्नो बाउलाई, आफ्नो आमालाई, जो स्वयम उत्पीडित छ ।

त्यसकारणले दृष्टिकोण जुन उपभोक्तावादले बनाइदिएको छ, त्यहाँबाट मुक्तिका निम्ति नयाँ ढङ्गले सोँच्नका निम्ति युवाहरुले आफुलाई तयार पार्नुपर्छ । त्यो सपना देख्नुप¥यो नि । अब बाढी आको छ, म पनि बग्दै जाने हो भन्यो भने त त्यो त सिन्का पनि बग्छ नि बाढी मा त । मान्छे हो नि चाल्न खोज्ने त । बाढीमा त फोहर पतिङ्गर जे पनि बगेर जान्छ । फोहर पतिङ्गर जस्तै तपाईँ बग्नुहुन्छ कि चालेर तपाईँ निस्किन खोज्नुहुन्छ ? निस्किन खोज्ने चाहीँ मान्छेको चरित्र हो । जीवको चरित्र हो । बाढीसँगै बगेर जाने चाहीँ, मालसामानको चरित्र हो ।

१६) अहिले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर हेर्दाखेरी युवाहरु जता भिड छ त्यतै लाग्ने प्रवृत्तिको भएको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई ?

— मानव समाजको सबै इतिहास हे¥यो भने, जहिले पनि एउटा आधारभुत चरित्र यस्तै हुन्छ । यो कस्तो हुन्छ भन्दाखेरी, जनता महान छन् भनिन्छ नि, जनता महान छन् भन्या चाहीँ सबैखाले सँधैभरि जनता महान छन् भन्या भनेर बुझ्नु हुँदैन । जब जनता संगठित हुन्छ र जब जनता संघर्षमा उत्रिन्छ त्यो बेला चाहीँ त्यो महान हो । अरु बेला चाहीँ जनता महान होइन । चोर पनि जनता नै हो, फटाहा पनि जनता नै हो, डांका पनि जनता नै हो, धेरै मान्छे असल हुन्छन् त्यो पनि जनता नै हो । तर जुनबेला वैचारिक रुपमा संगठित भएर, एउटा लक्ष्यको सपना देखेर उ विद्रोहमा उत्रिन्छ त्यो बेलाको जनता मात्रै महान हो । त्यसरी बुझ्नुपर्ने हुन्छ । त्यसकारण आमरुपमा चाहीँ मान्छेको जीवन यस्तै हुन्छ ।

१७) सँधै तपाईँको समाज बारे, इतिहास बारे विचारहरु सुनिराखेको तर आज चाहीँ अलि फरक कुराकानी भयो । विशुद्ध प्रेमकै विषयमा केन्द्रित भयौँ र पछिल्लो केही मिनेट चाहीँ युवाको विषयमा कुरा ग र्‍यौं । तपाईँ आफैलाई चाहीँ कस्तो महसुस भयो आज ?

— पहिलो कुरा, नेपाली समाजलाई सामन्तवादबाट मुक्त गर्नु भनेको ढोंगी प्रवृत्तिबाट मुक्त गर्नु हो । नेपाली समाज निकै ठुलो ढोंगमा बाँचेको समाज हो । सामन्ती समाज त्यस्तै हुन्छ सबै ठाउँमा, यहाँ अझ बढी छ । किनकी यहाँ जात व्यवस्था पनि भएको हुनाले जातमा आधारित ढोंग पनि थपिएको छ यहाँ । यो ढोंगबाट बाहिर निकाल्नु भनेको प्रगतिशील काम हो । क्रान्तिकारी काम पनि हो । राम्रो काम आफैमा हो । त्यसकारणले प्रेम एउटा कुनै बर्जित विषय होइन । यौन एउटा कुनै बर्जित विषय होइन । त्यसलाई व्यवस्थित, सुसङ्गत र सुसंस्कृत कसरी बनाउने भन्ने मात्रै हाम्रो छलफल हो । त्यसलाई ढोंगबाट लिपपोत गरेर छोपेर हुँदैन । त्यसलाई बाहिर निकाल्नुपर्छ । तपाईँले भित्र जे भन्नुहुन्छ, बाहिर त्यही भन्न सक्ने मान्छे तयार पार्ने हो । र यस्ता छलफलहरु अलि व्यापक स्तरमा गर्नुपर्छ नेपालमा भन्ने मलाई लाग्छ ।

थाहा सञ्चार नेटवर्कमार्फत सोमबार राती सवा ९ बजे प्रसारण हुने कार्यक्रम बहकिने मनमा साहित्यकार आहुतिसँग महावीर विश्वकर्माले गर्नुभएको कुराकानी ।

कमेन्ट गर्नुहोस्