काठमाडौंः कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ । तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।
बरिष्ठ सहित्यकार भुपाल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घ उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्रीविलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा. धनप्रसाद सुवेदी, ओ एस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’लगायतले उपन्यास ‘स्माइल ड्रिम’ लोकर्पण गरेका थिए । कार्यक्रमक्रमा स्माइल ड्रिमको अडियो पनि एकै साथ विमोचन गरिएको थियो । अडियो उद्घोषण राधिका घिमिरेले गरेकी छन् ।
उपन्यासलाई राईजिङ्ग क्रियटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो । ‘अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता सङ्ग्रह, गीत सङ्ग्रह, नेवारी गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम जस्ता २३ वटा कृति सार्वजनिक भइसकेका छन् ।