ऐतिहासिक भौतिकवाद के हो ? 

– नवराज ढुंगाना
सामान्य अर्थमा समाज विकासको ऐतिहासिक पृष्ठभूमिमा उत्पादनका व्यवस्थाहरूको अध्ययन गर्ने विधिलाई ऐतिहासिक भौतिकवाद भनिन्छ। यसलाई विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरूले परिभाषित गरेका हुन्। त्यस सम्बन्धमा ऐतिहासिक भौतिकवाद के हो? भन्नुपूर्व हामी सबैले मार्क्सवादको Concept को सामान्य अर्थ बुझ्नु जरूरी छ। मार्क्सवाद मानवजातिको वैचारिक विकासको उच्च चरण हो। विकासको खास चरणमा उत्पन्न अभावको पूर्व स्वरूप यसको उदय भयो। Karl Heinrich Marx (1818-1883) सामाजिक जीवनका जन्मदाता हुन्। उनी जर्मनमा जन्मेता पनि लन्डनमा उनको धेरै समय बित्यो। मार्क्सवाद एउटा सिद्धान्त र विज्ञानको विकसित रूप हो। मार्क्सले द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष र अतिरिक्त मूल्यको सिद्धान्तजस्ता महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गरे। त्यसकारण यो समग्र सिद्धान्त र विज्ञानको रूप नै मार्क्सवाद हो।

ऐतिहासिक भौतिकवाद मार्क्सको समाज र इतिहास सम्बन्धी सिद्धान्त हो। यस सिद्धान्तमा मार्क्सले हेगेलको इतिहासको आदर्शात्मक व्याख्याका स्थानमा आफ्नो भौतिकवादी व्याख्याको स्थापना गरेका छन्। हेगेलको सिद्धान्तमा क्मभब (विचार) लाई प्रमुख मानिएको छ। विचार, आत्मा र विश्वात्मालाई प्रमुख मानिएको छ। तर मार्क्सले यो जगत आत्माको आधारबाट चलेको छैन। पदार्थ पहिलो हो। बाह्य जगत सत्य हो। मार्क्सले The Capital मा भनेका छन्– हेगेलको विचार (मस्तिष्क, आत्मा) ले उभिएको पाए। उहाँले त्यसलाई खुट्टाको सहायताले उभ्याइदिए। त्यसैले ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्वलाई प्रथम र चेतनालाई द्वितीय मान्दछ।

प्रत्येक सामाजिक व्यवस्थाको सम्बन्ध उत्पादन प्रणालीसंग हुन्छ। त्यसैले हामीले कुनै पनि सामाजिक व्यवस्थालाई हेर्ने दार्शनिक आधार उत्पादन प्रणाली हो। मानिसहरू अस्तित्वमा आएपछि उनीहरूको आहार–विहार, सामाजिक सम्बन्ध, त्यसले ल्याएको परिवर्तन, परिवर्तित समाजमा स्थापना भएका मूल्य, मान्यता र आवश्यकताहरूको यो नै ऐतिहासिक भौतिकवाद हो। मानिसहरू एकातिर उत्पादन प्रणालीको निम्ति मिलेर बस्छन् भने अर्कातिर त्यसबाट सिर्जना भएको राजनैतिक, आर्थिक, नैतिक, धार्मिक आदि संरचनाहरूभित्र एकआपसमा सम्बन्धित हुन्छन्। वास्तवमा यही सम्बन्ध नै समाज हो। समाज विकासको आधार भनेको नै उत्पादनप्रणाली हो। उत्पादन प्रणालीमा उत्पादन सम्बन्ध र उत्पादन शक्ति (Labour Force) प्रमुख हुन्छन्। मानिसहरू यो उत्पादन प्रणालीलाई आफ्नो अनुकूल प्रयोग गर्न खोज्दछन्।

यसले गर्दा समग्र उत्पादनप्रणाली नै परिवर्तन हुन खोज्दछ। यसरी उत्पादन प्रणालीमा परिवर्तन आउँदा समाजमा ठूला–ठूला परिवर्तनहरू भैरहन्छन्। यस सन्दर्भमा मार्क्सले लेख्नु भएको छ– “उत्पादनको काम गर्दा मानिसले प्रकृतिसँग मात्र होइन, एकअर्कासँग पनि सम्बन्ध राख्दछन्। एक न एक रूपमा आपसी सहयोग गरेर परस्परमा आफ्ना काम कारबाही आदानप्रदान गरेर नै उनीहरू एक न एक प्रकारको निश्चित सम्बन्ध र नाता राख्छन्। यिनै सामाजिक सम्बन्ध र नाताभित्र रहेर नै उनीहरू प्रकृतिसँग सम्बन्ध राख्दछन्।” उत्पादनका साधन र त्यसमा लाग्ने श्रमलाई उत्पादक शक्ति भनिन्छ। औजारको माध्यमबाट वस्तुमा श्रम लगाएर तयार पारेको चीज नै उत्पादनको वस्तु हो। जग्गा, खानी, कच्चा पदार्थ, यिनहरू उत्पादनका वस्तु हुन्।

उत्पादनको सम्बन्ध स्वामित्वको आधारमा निर्धारण हुन्छ। जस्तै सामाजिक स्वामित्व र निजी स्वामित्व। सामाजिक स्वामित्व कामअनुसार वितरण हुन्छ र आवश्यकताअनुसार वितरण हुन्छ। तर निजी स्वामित्व असमान रूपमा वितरण हुन्छ। कुनै पनि सामाजिक व्याख्यामा सबै उत्पादन शक्तिको विकासको लागि ठाउँ रहेसम्म त्यो कहिल्यै पनि बिलाउँदैन। र पुरानो समाजको गर्भभित्र आफ्ना अस्तित्वका भौतिक अवस्थाहरू परिपक्व हुनु भन्दा अघि नयाँ उच्च सम्बन्धहरू कहिल्यै देखा पर्दैनन्। त्यसैले इतिहासको विकास, विचार, आत्मा, आदर्शमा आधारित छैनन्। यसको वास्तविक आधार त समाजको आर्थिक जीवन, उत्पादन शक्ति र उत्पादनको सम्बन्ध नै हो। यसैले भौतिक मूल्यहरूको उत्पादनको कार्य सबैभन्दा आधारभूत प्रथम आवश्यक र अधिक समस्या ऐतिहासिक घटना हो। यसकारण इतिहास निर्माणमा वास्तवमा श्रमिक मानिसहरूको हात हुन्छ।

मार्क्सको ऐतिहासिक भौतिकवादले सम्पूर्ण मानव समाजलाई ५ भागमा बाँडेर अध्ययन गरेको छ।
१. आदिम साम्यवादी समाज Primitive Communism :
यो मानव समाजको इतिहासको प्रथम चरण हेा। यस चरणमा उत्पादनका साधनहरूमा समुदायको पूर्ण नियन्त्रण थियो। किनकि यसबेला संयुक्त श्रम हुन्थ्यो। व्यक्तिगत सम्पत्तिको अवधारणा नै थिएन। समाज शोषणविहीन र वर्गविहीन थियो। फलफुल, कन्दमुल र सिकारको खेाजी गर्नु आदिम साम्यवादी समाजको उत्पादन कार्य थियो। सामाजिक सम्बन्धका दृष्टिकोणले यो समाज मातृसत्तात्मक समाज थियो। यौन सम्बन्धका दृष्टिकोणले यो समाज यौन स्वच्छन्दता समाज थियो। उत्पदनका नयाँ सम्भावना बढेपछि, उत्पादन शक्तिको विकास हँुदै गएपछि र मानिसमा नैतिक चेतनाको विकास भएपछि नयँँ प्रकारको यौन सम्बन्ध सुरू हुन थाल्यो।

यसरी परिवारको नयाँ स्वरूप बन्न थाल्यो। यो व्यवस्था दशौं हजार वर्षसम्म अस्तित्वमा रह्यो। यस लामो अवधिमा मानिसले लाठी, ढुंगाजस्ता हतियार, औजारबाट सिकार गर्ने, कन्दमुल बटुल्ने काम गर्दथे। सुरूमा ढुंगा, काठ, जीवजन्तुका सिङ र हड्डीबाट हतियारहरू बनाउन थाले। पछि त्यही औजारहरू धनुषबाण, ढुंगा ठेला जस्ता नयाँ–नयँँ औजार र श्रमका साधनहरू पनि आविस्कार भए। मानिसहरू समय विकास सँगै जंगली कन्दमूल र सिकारले नपुगेर ती कन्दमूलहरूलाई उमार्ने, जगेडा गर्ने र पशुहरूलाई पाल्ने काम गर्न थाले। श्रम गर्दै जाँदा श्रमका साधनहरू पनि परिस्कृत हुँदै गए। त्यसपछि श्रमविभाजन देखा पर्न थाल्यो। स्त्रीहरूले केटाकेटीको पालनपोषण गर्ने, घरधन्दाको जिम्मेवारी लिने काम गर्न थाले। पुरूषहरूमा भने सिकार गर्ने, सरसामान खोज्ने काम गर्न थाले। यसैसमयदेखि नै समाजमा वंशको स्थापना भएको पाइन्छ। मानिसको वथानमा वंशको स्थापना भयो। वंश व्यवस्थामा नारीको स्थान प्रमुख नै मानिन्थ्यो।

एंगेल्सले यसबेलाको समयलाई समूह विवाह भनेर परिभाषित गरेका छन्। एउटा मानिसहरूको समूह वा बधानमा भएका सबै पुरूषहरू श्रीमान र सबै महिलाहरू श्रीमतीको रूपमा हुन्थे। प्राग मानवीय युगको मध्यकालमा सुरू भएको श्रम विभाजन पछि गएर विभिन्न समुदाय बीच विशेषीकरणको रूपमा विकसित भयो। सुरूमा पशुपालन र कृषि उत्पादनबीच एक प्रकारको श्रम विभाजन देखियो। पछाडि यसबाट पनि सीप व्यवसायहरू विकसित हुँदै गए। उत्पादन शक्तिमा भएको विकासले उत्पादन प्रक्रियामा नै गतिशिलता आयो। उत्पादन बृद्धिकरण हुन गएको कारणले गर्दा मानिसका आवश्यकताहरू विनियमको प्रथाबाट मात्रै सम्भव हुने भयो। विनियम प्रथाले स्थान लिए पछि संचय अतिरिक्त प्रविधिको विकास साथसाथै यस समयदेखि प्रविधि विकास भयो। यसैबाट सम्पत्तिको विकास भयो र वर्गहरू उत्पत्ति भयो र क्रमशः विकास हुँदै गयो।

२. दासमूलक समाज Slavery Society :
यो यस्तो सामाजिक, आर्थिक व्यवस्था हो, जुन आदिम साम्यवादको अन्त्यपछि सुरू भएको थियो। दास र मालिकवर्गहरूको अभ्युदय यही समयमा भयो। त्यसैले यो वर्गीय समाज सुरू भएको पहिलो अवस्था हो। इतिहासमा सबैभन्दा पहिलो वर्गसंघर्ष यहीबाट सुरू भएको हो। सामूहिक स्वामित्वको ठाउँमा व्यक्तिगत स्वामित्वको उदय भयो। उत्पादनका साधनहरू वा उत्पादन गर्ने मानिसहरूमाथि दास मालिकहरूको अधिनता रह्यो।

यस समाजमा युद्धमा हारेका समुदायहरू दासको रूपमा बाँच्न पाउने भए। यौन सम्बन्धमा पहिले जुन स्त्रीको स्वच्छन्दता थियो, त्यसलाई कम गर्नका लागि समूह मैथुनबाट एक विवाह प्रथाको आरम्भ भयो। तर एक निष्ठ विवाहको नियम खाली स्त्रीहरूमाथि नै कडाईका साथ लागू गरिएको थियो। युरोपका धेरै जातिहरूमा रख्यौली, बेष्या आदि राख्न उनीहरूलाई छुट थियो। एसियामा सुरूबाट नै बहुपत्नीप्रथा देखिन्छ। उत्पादनका दृष्टिकोणले खेती, पशुपालन, घरवरिपरि बगैचा, सागसब्जी लगाउने वस्ती र सहरहरूको विकास भयो। जग्गाको सिचाई गर्ने कुलो, बाँध पोखरी इत्यादि बनाएर सिचाई हुन थाल्यो। अन्न पिन्नका लागि घट्टहरू, खानी र उद्योग धन्दाको विकास पनि हुन थाल्यो। धातुको धाउ, घन, तिनलाई धुलो पार्ने ओखल, त्यसलाई गालेर धातु निकाल्न घट्टी आदि सरल श्रम साधनको प्रयोग हुन थाल्यो। यसको अन्तिम कालमा दास र दासमालिकका बीचमा ठूला ठूला विद्रोहहरू भए। परिणामतः सामन्तवादी युगको जन्म हुन पुग्यो।

३. सामन्तवादी युग Feudal Society
दास प्रथाको निषेध स्वरूप भूमिमा आधारित व्यवस्थालाई सामन्ती व्यवस्था भनिन्छ। यो समाज दास र दासमालिककाबीच वर्गसंघर्षको परिणामस्वरूप उत्पन्न भएको हो। यस समाजमा दास भूदासमा, मालिक सामन्तमा परिणत भयो। सम्पूर्ण उत्पादनका साधनहरूमा सामन्तको नियन्त्रण कायम भयो। कृषि दासहरू सामन्तको अधिनमा रहे। जमीनदार र सामन्तले आफ्नै सेनाहरू राख्न थाले। परिणामस्वरूप भूदास र अर्धदासहरूले ज्यूनको निम्ति भूमि पाउथे। हिजोका दासहरू यो सामन्ती व्यवस्थामा केही खुला र उत्पादनको निम्ति थोरै मात्रामा आफूसँग केही जमिन राख्नसम्म पाउन थाले। तर भूमिमा उत्पादन गरे वापत ती किसानहरूले राज्यको सुरक्षा, राजा, क्षेत्रपति र मठमन्दिरहरूको सुरक्षा गर्नु पर्दथ्यो।

सामन्ती व्यवस्थामा उत्पादक शक्तिहरूको उत्तरोत्तर विकास चालु नै रह्यो। यसै युगमा मानिसहरूले आफ्नो शारीरिक शक्तिका साथसाथै पानी र हावाको शक्तिको रूपलाई पनि व्यापक रूपमा प्रयोग गर्न थाले। पाल भएको डुड्डा घट्टहरू, फलाम निकाल्ने तरिका सिक्दै गए। कागज, बारूद, र मुद्रण साथै अन्य कुराहरूको आविस्कार गर्दै गए। जस्तैः कपासलाई चर्खाको माध्यमबाट धागो निकाल्ने विकास गरे। जसले गर्दा व्यापारको बृद्धि हुँदै गयो। थुप्रै मानिसहरू व्यापार उद्योगधन्दातर्फ लागे। उत्पादनको प्रमुख श्रोत भूमि भएकाले सिचाईलाई व्यवस्थित गर्न थालियो। खनजोत गर्न, नयाँ बिउबिजन र मलको प्रयोग गरेर उत्पादनलाई बढाउन थालियो। तर सम्पूर्ण उत्पादन चाहि सामन्तले लिने गर्दथे। काम गरे वापत थोरै मात्रामा उसलाई जमीन उपलब्ध गराइन्थ्यो।

सामन्तवादको उत्पादन सम्बन्ध पनि प्रभूत्व र पराधिनताको नै रह्यो। तर यस समाजमा सामन्तका लागि अनिवार्य रूपमा गर्नु पर्ने काम गरिसकेपछि उनीहरू आफ्नो निजी काममा लाग्न भने पाउँथे। व्यवस्थित रूपमा राज्ययन्त्र र सेनाहरूको निर्माण हुँदै गयो। समाजमा बौद्धिक जीवनमा धर्मको प्रमुख भूमिका रहन थाल्यो। व्यक्तिगत स्वामित्वको विश्वासिलो सेवक बनेको धर्मलाई शोषकवर्गले श्रमिकको औचित्य सावित गर्न थाले। सामन्ती संस्कृतिमा व्यक्तिगत अधिकारहरू राज्यमा स्थापित गरिएको थियो। राज्यका अधिकारहरू राज्यका सामन्ती महाराजाहरूमा केन्द्रित हुन्थ्यो। चाकरीवाद, स्तुतिगान र ज्यूहजुरीको विकास भयो। त्यसकारण यो अत्याधिक निरंकुश भयो। महिलाहरूलाई उपभोग्य वस्तुको रूपमा सामन्तहरूले राखेका हुन्थे। उनीहरूलाई गुडिया झै बनाएर मन लागेका बेला उपभोग गर्दथे। र यस समाजमा श्रमलाई नराम्रो दृष्टिकोणबाट हेरियो।

सामन्ती उत्पादन व्यवस्था चौथो शताब्दीबाट सुरू भएर युरोपमा सोह्रौ सताब्धीसम्म कायम रह्यो। एशिया, अफ्रिका, ल्याटिन अमेरिका जस्ता धेरै राष्ट्रहरूमा बीसौं सताब्दीसम्म पनि रह्यो। हाम्रो देशमा त अझसम्म पनि सामन्ती उत्पादनप्रणाली कायमै छ। सत्रौं सताब्दीबाट विश्व पूंजीवादी समाजमा प्रवेश गर्‍यो।

४. पूंजीवादी समाज Capitalist Society :
भूदास र सामन्तवीच वर्गसंघर्ष भएर विकसित भएको समाज नै पूंजीवादी समाज हो। समाज विकासको यस चरणमा उत्पादन व्यवस्था पूर्ण उद्योगधन्दामाथि निर्भर रहन्छ। ठूला–ठूला उद्योगधन्दा र कलकारखाना यन्त्र उपकरणको व्यापक प्रयोग हुन्छ। तर उत्पादनका साधनहरूमाथि पूंजीपतिहरूको स्वामित्व रहन्छ भने उत्पादनको सम्पूर्ण कार्य ज्याला मजदुरको हुन्छ। सामन्ती समाजको तुलनामा यस समाजका श्रमिकहरू बढी स्वतन्त्र र उनीहरूसँग सामान्य जीवन निर्वाह गर्नको लागि चल पूंजी हुन्छ। युरोपमा पूंजीवादी व्यवस्था १४ औं सताव्दीमै देखापर्न थाल्यो भने १६औं सताब्दीमा पूर्ण रूपमा पूंजीवादी समाजमा परिणत भएको थियो। यो व्यवस्था वैज्ञानिक समाजवाद विजय नभएसम्म कायमै रहन्छ। यस व्यवस्थामा पूंजीपति र सर्वहारा दुई प्रष्ट वर्गहरू हुन्छन्।

यसको प्रारम्भिक चरणमा उत्पादक शक्तिको क्रमिक विकास र प्राविधिक उन्नति हुन्छ। विनयम मूल्यको कुराले निश्चित गर्दछ कि कुनै चीजमा कति श्रम लागेको छ? या कति श्रमकाल त्यसको उत्पादनमा खर्च भएको छ? कुनै सामानको विनिमय मूल्य सामाजिक दृष्टिकोणले आवश्यक औसत श्रमकालको आधारमा निर्धारण गरिन्छ। जीवन निर्वाहका लागि आवश्यक पर्ने सबै चीजहरू तयार पार्न श्रमकालको आवश्यकता हुन्छ। यसैबाट मजदुरको श्रमशक्तिको विनिमय निश्चित हुन्छ। जसलाई उसले ज्यालामा पूंजीपतिलाई बिक्री गर्दछ। मजदुरको जीवन निर्वाहका लागि उसलाई जत्ति ज्याला मिल्छ त्यसभन्दा बढी उसले जत्ति मूल्य पैदा गर्छ। त्यो सबै पूंजीपतिलाई मुनाफा हुन्छ। आर्थिक दृष्टिबाट सम्पत्ति त्यहीबाट पूंजीपति बन्छ जब त्यसको उपभोग मजदुरवर्गलाई नोकर राख्नको लागि गरिन्छ।

अनि त्यसले उत्पादन समयमा अतिरिक्त मूल्य पैदा गर्छ। यस सम्बन्धमा मार्क्सले भन्नुभएको छ– यदि मजदुरहरूले माटो खाएर बाँच्ने भए पूंजीपतिले उनीहरूका निम्ति कत्ति पनि पारिश्रमिक छुट्याउन्नथे। विशाल यान्त्रिक उत्पादन नै पूंजीवादी व्यवस्थाको प्रमुख विशेषता हो। यस तरिकाबाट पूंजीपतिहरूले श्रमिकहरूमाथि शोषण गरेको मुनाफा अर्को ठाउँमा लगानी गर्छ। र अरू उत्पादन बढाउँछ। यसले गर्दा पूंजीपति दिनदिनै झन बढी झन सम्पत्ति आर्जन गर्दै जान्छ भने श्रमिकवर्ग दैनिक जीवन धान्न नै मुस्किल पर्दै जान्छ। यसरी पूंजीपतिद्वारा हुने उत्पीडनलाई मजदुरहरूले बुझ्दै जान्छन्, संगठित हुन थाल्दछन् र अन्तिममा प्रतिरोध गर्न थाल्दछन्। यसले गर्दा मजदुर र पूंजीपतिकावीच वर्गसंघर्ष देखा पर्छ। लाखौं लाख श्रमिकहरूले ठूला–ठूला उद्योगधन्दामा उत्पादनमा भाग लिइरहेका हुन्छन्। तर यसको सम्पूर्ण स्वामित्व चाहि एक दुई मालिकको हातमा पर्दछ। यसले निम्त्याउने अन्तरद्वन्द्व नै आधारभूत अन्तरद्वन्द्व हो।

पूंजीवादीकोे अन्तिम चरणमा यसले उत्पादनका साधनहरूमा एकाधिकार जमाउन पुग्दछ। यसलाई नै साम्राज्यवाद भन्दछन्। यो अधिपत्य नै साम्राज्यवादकेा प्रमुख लक्ष्य हो। एकाधिकार भनेको पूंजीवादीहरूको विशाल समूह Network हो, जसले उत्पादनको खपत र हिस्सा अत्याधिक मात्रामा आफ्नो हातमा केन्द्रित गरेको हुन्छ। यो व्यवस्थालाई बचाउनको निम्ति पूंजीवादीहरूद्वारा दोस्रो विश्वयुद्ध पछाडि North Atlantic Treaty Organization (Nato) जस्तो सामरिक र सैन्यशक्तिको निर्माण गरेर एकाधिकारवाद वा साम्राज्यवादलाई झन मजबुत बनायो। विश्व वैंक अन्तरर्गत राष्ट्रिय मुद्राकोषको स्थापना गरियो।

साना औद्योगिकरण राष्ट्र जस्ता अन्तरराष्ट्रिय पूंजीवादी संस्थाहरूको गठन गर्न थालियो। साम्राज्यवादी संस्थाहरूको उपनिवेश खडा गर्दै पुरानो राजनीतिलाई त्यागेर विकासोन्मुख राष्ट्रहरूलाई आफ्ना पहुँचमा राख्न दुई पक्षीय वा बहुपक्षीय ऋण लगानी गर्न विश्व बैंक, एशियाली विकास बैंक जस्ता संस्थाहरूको स्थापना गरियो। आफ्ना बजारलाई सुदृढ गर्नका निम्ति आर्थिक उदारीकरण, निजीकरण, विश्वव्यापीकरण वा भूमन्डलीकरण जस्ता कार्यनीति अवलम्बन गर्न थालियो। पूंजीवादी व्यवस्थाले अंगिकार गरेको खुला बजार अर्थनीति, अहस्तक्षेपको नीति, १९३१ को आर्थिक मन्दीको कारणले असफल देखियो। यसलाई संकटबाट मोचन गराउन १९६० को दशकमा राष्ट्रियकरणको नीतिलाई अवलम्बन गर्न थालियो। साम्राज्यवादले १८७६ मा अफ्रिकाको ११ प्रतिशत बजार कब्जा लियो भने १९०० सम्ममा ९० प्रतिशत बजार कब्जामा लियो।

देश–देशमा महाजनी साहूहरूको गिरोहका हातमा धनसम्पत्ति समेट्नुको नतिजा ठूला–ठूला शक्तिहरूका बीच ठूलो परिमाणमा युद्ध छेड्नु हुन्छ। सतही रूपबाट हेर्दा उत्पादन र पूंजीको केन्द्रीकरण हुन्छ। तर यसको परिणाम एक भयानक सामाजिक विपत्ति अर्थात युद्ध नै हुन्छ। साम्राज्यवाद र उपनिवेशवादका विरूद्ध सर्वहारा वर्गको संघर्षले सुनामी रूप लिन थाल्छ। जसको परिणाम सर्वहारावर्गको हातमा राज्यसत्ता कब्जा हुन्छ। र यसको प्रत्यक्ष नेतृत्व कम्युनिष्ट पार्टीले गरेको हुन्छ। जस्तै १९१७ मा मजदुरहरूको पार्टीको नेतृत्वमा रूसमा बोल्सेभिक पार्टीले सर्वहारावर्गको प्रथम पटक राज्य स्थापना गर्‍यो। १९४९ मा चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो। र विश्वभरी एउटा लहर नै फैलियो।

५. समाजवाद वा साम्यवादी समाज Communist Society :
साम्यवादी सामाजिक व्यवस्था समाजवाद र साम्यवाद गरी २ चरणमा विकसित हुन्छ। यो यस्तो सामाजिक आर्थिक व्यवस्था हो, जुन सर्वहारा अधिनायकत्व Proletarit Dicturship अन्तर्गत चल्दछ। मार्क्सवाद, लेनिनवाद र माओ–त्सेतुङ विचारधारा वा ऐतिहासिक भौतिकवादलाई ठोस विश्लेषण गरेर लागू हुन्छ। शोषणमा आधारित व्यवस्थालाई सधैका लागि उन्मुलन गर्ने प्रयत्न स्वरूप समाजवाद सर्वहारा अधिनायकवादको साकार रूप हो। समाजवादी समाजमा राज्य भनेको कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर वर्गको नेतृत्वदायी भूमिका अन्तर्गत निर्मित समस्त जनताको राजनीतिक संगठन हो।

सामूहिक नेतृत्वको सिद्धान्त विशेष महत्वपूर्ण हुन्छ। तर यस समाजमा अन्तरराष्ट्रिय साम्राज्यवादी बुर्जुवावर्ग र निम्न बुर्जुवा विचारधारा विरूद्ध संघर्ष भने चालु नै रहेको हुन्छ। तर उत्पादनका साधनहरूको स्वामित्व समाज वा जनतामा रहन्छ। जसले गर्दा समाजवादी उत्पादन प्रणालीभित्र शोषकको अन्त्य हुन्छ। योग्यता अनुसारको काम र आवश्यकताअनुसारको दामलाई कायम गरिएको हुन्छ। कम्युनहरूको स्थापना हुन्छ। यसको प्रमुख आधार भनेको औद्योगिकरण नै हो। त्यसपछि विस्तारै विस्तारै वर्ग भन्ने समाप्त हुन्छ। वर्गको अस्तित्व समाप्त भएपछि क्रमशः राज्यहरू पनि हराउँदै जान्छ्न्। अड्डा, अदालत, सेना, पुलिसको आवश्यकता रहदैन। पूर्ण रूपमा मानिसहरू बौद्धिक रहन्छन्। र समाज साम्यवादतर्फ फड्को मार्दछ। यो समाज इतिकासको अन्तिम चरण हुनेछ। यो समाज वर्गविहीन, शोषणविहीन, राज्यविहीन हुन्छ। उत्पादनका साधनहरूमाथि पूर्ण रूपमा समाजको अधिनस्थ हुन्छ। हरेक व्यक्ति बुद्धिजिवी बन्छन्।

मानिसहरू शारीरिक श्रमबाट भाग्न बन्द गर्छन्। यस सन्दर्भमा मार्क्सले भन्नुभएको छ– श्रमजीवन यापनको साधन मात्र रहँदैन, वरू स्वयं जीवनको प्रथम आवश्यकता बन्दै जान्छ। त्यसैले हरेक मानिस शारीरिक र मानसिक श्रमलाई समान ढंगले उपयोग गर्दछन्। यसबेला मानिसको संघर्ष प्रकृतिमा केन्द्रित हुन्छ। वर्ग संघर्ष समााप्त हुन्छ। यसरी विभिन्न युग परिवर्तन तथा अन्य युगका सबै परिवर्तन उत्पादन प्रणालीमा हुनु परिवर्तनको परिणाम स्वरूप हुन्छ। यही नै इतिहासको भौतिक व्याख्या वा ऐतिहासिक भौतिकवाद हो।
सन्दर्भ सामग्री :
१. खरेल, दुर्गानाथ (२०६४), मार्क्सवादी सिद्धान्तको परिचय (भाग १)।
२. गौतम, टिकाराम (२०६५), विकासका अवधारणा।
३. दाहाल, ओमप्रकाश, समाजशास्त्रीय र मानवशास्त्रीय सिद्धान्त।

कमेन्ट गर्नुहोस्