कुश्माः पर्वतको कुश्मामा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीको सफल परिक्षण भएको छ । बञ्जी सञ्चालक कम्पनी द क्लिफ प्रालीका अध्यक्ष राजु कार्कीका अनुसार पर्वतको कुश्मा र वाग्लुङको बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा बनाइएको पुलमा बञ्जीको बिहीबार सफल परिक्षण भएको हो ।
कालिगण्डकी नदीबाट पुलको उचाई २ सय २८ मिटर रहेको छ । ‘हामीले पुलबाट २०८ मिटरसम्म बञ्जी गर्छौं, २० मिटर ग्याप हुन्छ, अब हामी विश्वकै दोश्रो अग्लो बञ्जी बनेका छौं ।’अध्यक्ष कार्कीले भने ।
यसको नियमित सञ्चालन आउँदो बैशाखदेखि हुने पनि कार्कीले बताए । हाल विश्वकै अग्लो बञ्जी मकाउमा रहेको छ, जसको उचाई ७ सय ६४ फिट छ ।
हालसम्म स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाईमा रहेको बञ्जीलाई दोस्रो अग्लो बञ्जी मानिँदै आएको छ । तर अब कुश्मामा ७ सय ४८ फिट अग्लो बञ्जी बनेकाले यो नै विश्वको दोश्रो अग्लो बञ्जी बनेको अध्यक्ष कार्कीले बताए ।