काठमाडौंः नेपालमा टेनिस खेल्न आएका अष्ट्रेलियन युवा टेनिस खेलाडी केन्ट यामाजाकीको मृत्यु भएको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधवार खेल्ने क्रममा कोर्टमै ढलेका उनी अचेत बनेका थिए । उनको टाउको भुँइमा ठोक्किएको थियो । त्यसपछि उनी फेरि होसमा आएनन् । उनको मृत्युको खास कारण अहिलेसम्म पत्ता लागेको छैन ।
नेपाल टेनिस संघमा महासचिव मनोहर मुलले यामाजाकीको मृत्यु भएको पुष्टि गरे । बुधबार अभ्यासका क्रममा मैदानमै बेहोस भएर ढलेपछि उनलाई हस्पिटल लगेको र त्यहाँ पुर्याउँदा उनको मृत्यु भएको बताए ।
‘नेपालकी प्रेरणा कोइरालासंगै उनले बुधबार टेनिस कोर्टमा ट्रेनिङ गरिरहेका थिए । त्यही बेला उनी बेहोस भएर कोर्टमै ढले । नेपाली खेलाडीको प्यारेन्ट्सले उनलाई कारमा नजिकैको बीएण्डबी हस्पिटल लैजान भनेका थिए । तर यामाजाकीका बुबाले एम्बुलेन्समा लैजानुपर्छ भनेर कुरेछन् । त्यसले गर्दा १५ मिनेट जति ढिला भयो’ मुलले भने ‘पछि फेरि कारमै उनलाई हस्पिटल लगियो । तर उनको होस आएन र मृत्यु घोषणा भयो ।’
संघले यस बारेमा सबैलाई जानकारी गराएको र अष्ट्रेलियन राजदूतावासलाई पनि जानकारी गराएको मुलले बताए ।