काठमाडौंः टी–२० क्रिकेट सिरिजको चौथो खेलको सुपर ओभरमा न्यूजिल्याण्डले भारतलाई १४ रनको लक्ष्य दिएको छ । भारतले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित ओभरमा १ सय ६५ रन बनाएपछि आज पनि खेल ‘सुपर ओभर’मा धकेलियो ।
न्यूजिल्याण्डका लागि आज टिम सेफर्ट र कोलिन मुनरोले अर्धशतक बनाए । सिरिजको चौथो खेलमा मुनरोले ६४, सेफर्टले ५७ र रस टेलरले २४ रनको योगदान दिए । बलिङमा भारतीय टीमका शार्दुल ठाकुरले २, जसप्रीत बुमराह र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि मनिष पाण्डेले राम्रो ब्याटिङ गरे । उनले ३७ बलमा ३ चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै केएल राहूलले ३९, शार्दुल ठाकुरले २०, कप्तान विराट कोहली र नवदीप सैनीले ११–११, शिवम दुवेले १२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा न्यूजिल्याण्ड टीमका इश सोधीले ३, हमीश बेनेटले २, मिचेल सान्टनर, स्कट कुग्ललेन र टि साउथीले एक–एक विकेट लिए । भारत र न्यूजिल्याण्डबीचको पाँच म्याचको सिरिजको अन्तिम म्याच आइतबार हुनेछ ।