टी–२० सिरिजः ‘सुपर ओभर’मा आज पनि भारत विजयी

काठमाडौंः भारतविरुद्धको टी–२० क्रिकेट सिरिजको चौथो खेलमा पनि न्यूजिल्याण्ड ‘सुपर ओभर’मा पराजित भएको छ । ‘सुपर ओभर’मा न्यूजिल्याण्डले दिएको १४ रनको लक्ष्य भारतले एक बल अगावै जित्यो ।

भारतले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा १ सय ६५ रन बनाएपछि खेल आज पनि ‘सुपर ओभर’मा धकेलिएको हो । भारत र न्यूजिल्याण्डबीचको अघिल्लो खेल पनि ‘सुपर ओभर’मा धकेलिएको थियो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः अर्धशतक बनाउन चुके केएल

न्यूजिल्याण्डका लागि आज टिम टिम सेफर्ट र कोलिन मुनरोले अर्धशतक बनाए । सिरिजको चौथो खेलमा मुनरोले ६४, सेफर्टले ५७ र रस टेलरले २४ रनको योगदान दिए । बलिङमा भारतीय टीमका शार्दुल ठाकुरले २, जसप्रीत बुमराह र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि मनिष पाण्डेले राम्रो ब्याटिङ गरे । उनले ३७ बलमा ३ चौकाको मद्दतमा अविजित ५० रन बनाए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः श्रीलंकाविरुद्ध अष्ट्रेलिया १३४ रनले विजयी

यस्तै केएल राहूलले ३९, शार्दुल ठाकुरले २०, कप्तान विराट कोहली र नवदीप सैनीले ११–११, शिवम दुवेले १२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा न्यूजिल्याण्ड टीमका इश सोधीले ३, हमीश बेनेटले २, मिचेल सान्टनर, स्कट कुग्ललेन र टि साउथीले एक–एक विकेट लिए । भारत र न्यूजिल्याण्डबीचको पाँच म्याचको सिरिजको अन्तिम म्याच आइतबार हुनेछ । आजको जितसँगै पाँच खेलको सिरिजमा भारतले ४–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्