काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ एकविदसीय क्रिकेट विश्वकपमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज क्वार्टरफाइनलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । पाकिस्तान नवौंपटक सेमिफाइनलमा प्रवेश गरेको हो । पाकिस्तानले सेमिफाइनलमा भारतको सामना गर्नेछ । पाकिस्तान र भारतबीचको खेल ४ फेब्रुअरीमा हुनेछ ।
आज अफगानिस्तानले दिएको १ सय ९० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पाकिस्तानले ४१.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे । उसका लागि मोहम्मद हुरियाले ६४, हैदर अलिले २८, मोहम्मद हरिसले अविजित २९, कप्तान रोहेल नाजिरले २२ र कसिम अकरमले नटआउट २६ रन बनाए । बलिङमा अफगानिस्तान टोलीका नूर अहमदले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका लागि कप्तान फरहाल जाखिलले सर्बाधिक ४० रन बनाए । बलिङमा पाकिस्तान टीमका मोहम्मद आमिर खानले सर्बाधिक ३ विकेट लिए । भारतले हालसम्म ४ पटक यू–१० विश्वकपको उपाधि जित्न सफल भएको छ । पाकिस्तानले भने २ पटक मात्र यू–१९ विश्वकपको उपाधि हात पारेको छ ।