काठमाडौंः आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज अघि अमेरिकन क्रिकेट टीम भारतको मुम्बईमा अभ्यास म्याच खेलिरहेको छ । अमेरिकाले आज एमसीए ‘ए’ले दिएको २ सय ८० को लक्ष्य पछ्याइरहेको छ । र, उसले आज खराब ब्याटिङ गरेको छ ।
अमेरिकाले एक सय रन नबनाउँदै महत्वपूर्ण ६ विकेट गुमाइसकेको छ । उसले यो समाचार तयार पार्दासम्म १९.३ ओभरमा ६ विकेट गुमाएर ९३ रन बनाएको छ ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एमसीए ‘ए’ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८९ रन बनायो । उसका लागि प्रणय गोरेले उत्कृष्ट ब्याटिङ गरे । उनले ७९ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९७ रन बनाए ।
यस्तै कुणाल चाल्केले ४१, ओम जैसवालले ३९, प्रदीप शाहुले २९, सागर मिश्राले १७, अमोग भटकलले १५ र हिमान्सु पाण्डेले १३ रनको योगदान दिए ।
बलिङमा अमेरिकन टीममा एल्मोर हचिन्सनले सर्बाधिक ४ विकेट लिए । अमेरिकन टीमले यसअघि खेलका २ अभ्यास म्याचमा एकमा जित र एक खेलमा हार बेहोरेको थियो ।
अमेरिकाले यूएई भ्रमण गरेको १४ सदस्यीय टोली नै दोहोर्याएको छ । नेपाल आउनुअघि अमेरिकन टीमले अहिले भारतको मुम्बईमा अभ्यास गरिरहेको छ । त्रिकोणात्मक सिरिजमा अमेरिकी टीमको नेतृत्व बलर सौरव नेत्रभाल्करले गर्ने छन् ।