काठमाडौंः भारत र न्यूजिल्याण्डले टी–२० क्रिकेट सिरिजको अन्तिम तथा पाँचौ म्याच आज खेल्दै छन् । यी दुई टीमबीचको चौथो म्याच दिउँसो १२ः४५ बजेदेखि सुरु हुनेछ । भारतले पाँच म्याचको सिरिज ४–० ले जितिसकेको छ । तेस्रो र चौथो खेलमा न्यूजिल्याण्डलाई ‘सुपर ओभर’मा पराजित गर्दै भारतले सिरिज जितिसकेको हो ।
भारतले न्यूजिल्याण्डमाथि उसकै घरेलु मैदानमा टी–२० सिरिज जितेको यो पहिलापटक हो । उसले न्यूजिल्याण्डको मैदानमा १२ वर्षदेखि टी–२० सिरिज खेल्न थालेको थियो । र, सिरिज जित्न सकेको थिएन । तर योपटक भने भारतले २ खेल अगावै सिरिज आफ्नो नाममा बनाउँदै इतिहास रचेको छ । भारत अब अर्को इतिहास रच्ने दाउमा छ ।
भारतलाई अब न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा ५–० ले हराउँदै ‘क्लिन स्विप’ गर्ने मौका छ । यदि न्यूजिल्याण्डमाथि सिरिज ‘क्लिन स्विप’ गर्नसके भारतले अर्का इतिहास रच्ने छ ।
पाँचौ खेलमा विराटलाई विश्राम, ऋषभले मौका पाउने सम्भावना
सिरिजको लगातार ४ म्याचमा विश्राम पाएका भारतीय टीमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले अन्तिम म्याचको प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो छ । पन्तले अन्तिमपटक अष्ट्रेलियासँगको वानडे सिरिजको पहिलो खेलमा प्लेइङ ११ मा मौका पाएका थिए । उक्त खेलमा ब्याटिङका क्रममा प्याट कमिन्सको बल हेलमेटमा लाग्दा पन्त दोस्रो इनिङ्समा विकेटकीपिङका लागि आएका थिएनन् ।
सो खेलमा अष्ट्रेलियासँग भारत १० विकेटले पराजित भएको थियो । क्रिकइन्फोका अनुसार सिरिजको अन्तिम म्याचमा भारतीय टीमको कप्तानी रोहित शर्माले गर्ने छन् । उनले चौथो खेलमा विश्राम लिएका थिए । आजको खेलमा टीमका नियमित कप्तान विराट कोहलीले विश्राम लिनसक्ने क्रिकइन्फोले जनाएको छ ।
पाँचौ खेलमा भारतीय टीमको सम्भावित प्लेइङ ११ः रोहित शर्मा (कप्तान), सञ्जु स्यामसन, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पन्त, शिवम दुबे, वाशिङटन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, नवदीप सैनी र जसप्रीत बुमराह ।
न्यूजिल्याण्ड टीमको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेलर, डारेल मिचेल, टिम सेफर्ट, मिचेल सान्टनर, टम ब्रुस, स्कट कुगेलेइजन, टिम साउथी (कप्तान), ईश सोधी र हमीश बेनेट ।