काठमाडौंः न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजको पाँचौ तथा अन्तिम खेलमा भारतीय टीमका अलराउन्डर शिवम दुबे पिटिएका छन् ।
१० औँ ओभरमा बलिङ गर्न आएका दुबेले पहिलो ओभरमै बिनाविकेट ३४ रन खर्चिएका छन् । उनले आफ्नो पहिलो ओभरमा ४ छक्का र २ चौकासहित ३४ रन खर्चिएका हुन् ।
सिरिजको अन्तिम खेलमा भारतले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याइरहेको न्यूजिल्याण्डले ११ ओभरमा २ विकेट गुमाएर १ सय ७ रन बनाएको छ ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन नबायो । उसका लागि कप्तान रोहित शर्माले ६०, केएल राहूलले ४५, श्रेयस अय्यरले अविजित ३३ र मनिष पाण्डेले नटआउट ११ रन बनाए । बलिङमा न्यूजिल्याण्डका स्टक कग्लुजेनले २ र हमीश बेनटले एक विकेट लिए ।
सिरिजको अन्तिम खेलमा भारतले एक खेलाडी परिवर्तन गरेको छ । उसले नियमित कप्तान विराट कोहलीलाई विश्राम दिएको छ । आज भारतीय टीमको नेतृत्व रोहित शर्माले गर्दै छन् । भारतीय टीमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले सिरिजको अन्तिम म्याचमा पनि मौका पाउन असफल भए । न्यूजिल्याण्डको टीमले भने आज पनि अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ ।
भारतले पाँच म्याचको सिरिज ४–० ले जितिसकेको छ । तेस्रो र चौथो खेलमा न्यूजिल्याण्डलाई ‘सुपर ओभर’मा पराजित गर्दै भारतले सिरिज जितिसकेको हो ।भारतले न्यूजिल्याण्डमाथि उसकै घरेलु मैदानमा टी–२० सिरिज जितेको यो पहिलाेपटक हो ।