काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा न्यूजिल्याण्डलाई ७ रनले हराउँदै भारतले पाँच खेलको सिरिज ५–० ले ‘क्लिन स्विप’ गरेको हो ।
योसँगै भारतले इतिहास रचेको छ । भारतले पहिलोपटक न्यूजिल्याण्डमा टी–२० सिरिज ‘क्लिन स्विप’ गर्दै इतिहास रचेको हो ।
सिरिजको अन्तिम खेलमा भारतले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । उसका लागि रस टेल र टिम सेफर्टले अर्धशतक बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । टेलरले आज ५३ र सेफर्टले ५० रनको योगदान दिए ।
अन्य खेलाडीको ब्याटिङ भने आज सन्तोषजनक रहेन । बलिङमा भारतीय टीमका जसप्रीत बुमराहले ३, शार्दुल ठाकुर, नवदीप सैनीले २–२ र वासिङटन सुन्दरले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन नबायो । उसका लागि कप्तान रोहित शर्माले ६०, केएल राहूलले ४५, श्रेयस अय्यरले अविजित ३३ र मनिष पाण्डेले नटआउट ११ रन बनाए । बलिङमा न्यूजिल्याण्डका स्टक कग्लुजेनले २ र हमीश बेनटले एक विकेट लिए ।
टी–२० मा दुवेले बनाए खराब रेकर्ड!
न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजको पाँचौ तथा अन्तिम खेलमा भारतीय टीमका अलराउन्डर शिवम दुबेले खराब कीर्तिमान बनाएका छन् । उनले एकै ओभरमा ३४ रन दिँदै आफ्नो नाममा खराब कीर्तिमान बनाएका हुन् । दुबे भारतीय क्रिकेटमा टी–२० मा सर्बाधिक रन दिने खेलाडी भएका छन् ।
आज १० औँ ओभरमा बलिङ गर्न आएका दुबेले पहिलो ओभरमै बिनाविकेट ३४ रन खर्चिएका छन् । उनले आफ्नो पहिलो ओभरमा ४ छक्का र २ चौकासहित ३४ रन खर्चिएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्बाधिक रन दिने बलरको कीर्तिमान भने इंग्ल्याण्डका स्टअर्ट ब्रोडको नाममा छ । उनले टी–२० विश्वकपमा एकै ओभरमा ३६ रन दिएका थिए ।