काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा न्यूजिल्याण्डलाई ७ रनले हराउँदै भारतले पाँच खेलको सिरिज ५–० ले ‘क्लिन स्विप’ गरेको हो । योसँगै भारतले इतिहास रचेको छ । भारतले पहिलोपटक न्यूजिल्याण्डमा टी–२० सिरिज ‘क्लिन स्विप’ गर्दै इतिहास रचेको हो ।
सिरिजको अन्तिम खेलमा भारतले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो ।
भारत र न्यूजिल्याण्डबीचको पाँच खेलको सिरिजको अन्तिम म्याचमा विभिन्न कीर्तिमान पनि बनेका छन् । कस्ता कीर्तिमान बने सिरिजको अन्तिम खेलमा?
टी–२० मा दुवेले बनाए खराब रेकर्ड!
न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजको पाँचौ तथा अन्तिम खेलमा भारतीय टीमका अलराउन्डर शिवम दुबेले खराब कीर्तिमान बनाएका छन् । उनले एकै ओभरमा ३४ रन दिँदै आफ्नो नाममा खराब कीर्तिमान बनाएका हुन् । दुबे भारतीय क्रिकेटमा टी–२० मा सर्बाधिक रन दिने खेलाडी भएका छन् ।
आज १० औँ ओभरमा बलिङ गर्न आएका दुबेले पहिलो ओभरमै बिनाविकेट ३४ रन खर्चिएका छन् । उनले आफ्नो पहिलो ओभरमा ४ छक्का र २ चौकासहित ३४ रन खर्चिएका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्बाधिक रन दिने बलरको कीर्तिमान भने इंग्ल्याण्डका स्टअर्ट ब्रोडको नाममा छ । उनले टी–२० विश्वकपमा एकै ओभरमा ३६ रन दिएका थिए ।
बुमराहको नाममा बन्यो विश्वकीर्तिमान
भारतीय क्रिकेट टीमका स्टार फास्ट बलर जसप्रीत बुमराहले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी–२० क्रिकेटमा सर्बाधिक ‘मेडन ओभर’ बलिङ गर्ने बलरको कीर्तिमान बनाएका हुन् ।
दायाँ हाते बुमराहले आज न्यूजिल्याण्डसँगको टी–२० सिरिजको अन्तिम खेलमा मेडन ओभर’ बलिङ गर्दै यो उपलब्धि हासिल गरे । उनले टी–२० अन्तर्राष्ट्रिय म्याचमा सातौंपटक ‘मेडन ओभर’ बलिङ गरेका हुन् ।
रोहितले बनाए अर्को कीर्तिमान!
भारतीय क्रिकेट टीमका उपकप्तान रोहित शर्माले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी–२० क्रिकेटमा सर्बाधिक अर्धशतक बनाउने क्रिकेटरको कीर्तिमान बनाएका हुन् । आज न्यूजिल्याण्डविरुद्ध ६० रन बनाउँदै रोहितले यो उपलब्धि हासिल गरेका हुन् । अब टी–२० मा उनको नाममा २५ अर्धशतक भएको छ ।
टी–२० क्रिकेटमा सर्बाधिक अर्धशतक बनाउने क्रिकेटको सूचीमा विराट कोहली दोस्रो स्थानमा छन् । उनले टी–२० मा २४ अर्धशतक बनाएका छन् । यो सूचीको तेस्रो स्थानमा आयरल्याण्डका पउल स्ट्रलिङको नाम आउँछ ।
उनले टी–२० क्रिकेटमा १७ अर्धशतक बनाएका छन् । रोहितले टी–२० मा २ हजार सात सय ७३ रन बनाएका छन् । जसमा उनको सर्वाधिक स्कोर १ सय ८ रन हो ।
राहूलले तोडे विराटको कीर्तिमान!
भारतीय क्रिकेट टीमका ब्याट्सम्यान–विकेटकीपर लोकेश राहूलले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी–२० सिरिजमा सर्बाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । राहूलले न्यूजिल्याण्डसँगको पाँच खेलको सिरिजमा सर्बाधिक २ सय २४ रन बनाउँदै यो उपलब्धि हासिल गरे । योसँगै उनलले कप्तान विराट कोहलीको रेकर्ड भंग गरेका छन् । विराटले सन् २०१६ मा अष्ट्रेलिया विरुद्धको टी–२० सिरिजमा १ सय ९९ रन बनाएका थिए । विराटले उक्त रन ३ खेलको सिरिजमा बनाएका थिए ।
टेलरले रचे इतिहास
न्यूजिल्याण्ड क्रिकेट टीमका अनुभवी ब्याट्सम्यान रस टेलरले नयाँ कीर्तिमान बनाएका छन् । उनले न्यूजिल्याण्डका लागि सर्बाधिक टी–२० म्याच खेल्ने कीर्तिमान बनाएका हुन् ।
टेलरले आज भारतसँगको टी–२० सिरिजको पाँचौ म्याच खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । श्रीलंकाविरुद्ध २००६ मा डेब्यू गरेका टेलरले अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक हजार ८ सय ५६ रन बनाएका छन् । जसमा उनले ६ वटा अर्धशतक बनाएका छन् । टी–२० मा टेलरको उच्च स्कोर ६३ रन हो ।