इनरुवाः संघीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी शौरभ राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
एक ४० वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा राणाविरुद्ध प्रहरीमा बिहीबार उजुरी आएकाले अनुसन्धानका लागि आइतबार सुनसरी जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेपछि एसएसपी राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा गएर आत्मसमर्पण गरेका हुन् ।
वि.सं. २०६६ सालदेखि राणासँग चिनजान भएकोमा यस वर्षको साउन २५ गते इटहरीको पाथिभारा होटेलमा फकाएर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख गरिएको छ । पीडितले बिहीबार प्रहरीमा दिएको उजुरीमा ‘चिनजान भएको र साउन २५ गते आफूमाथि बलात्कार भएकाले कार्बाही गरी न्याय पाउँ’ भनिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी हाल्ने धरानकी ती महिलाले सरकारी वकिलमार्फत् मुद्धा फिर्ता लिने चाहे पनि फिर्ता नभएको बताइएको छ । आफूलाई अरुले जवरजस्ती उजुरी दिन लगाएको भन्दै अहिले मुद्धा फिर्ता लिन आग्रह गरेको पाइएको छ ।
वि.सं. २०४९ सालमा इन्सपेक्टर पदमा भर्ना भएर राणाले प्रहरी सेवामा प्रवेश गरेका थिए । निलम्बित हुनुअघि राणा संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख थिए ।
राणाले जागिरे जीवनको अधिकांश समय पूर्वी नेपालमै बिताएकोमा डिएसपी भएपछि झापा सरुवा भएको थियो । त्यहीँ उनको ती महिलासँग भेटघाट भएको थियो ।
एसपीमा बढुवा भएपछि राणाको कार्यालय झापासँग सीमा जोडिएको सुनसरी जिल्लाको प्रहरी प्रमुख भए पनि भेटघाट भइरहने बताइएको छ ।