काठमाडौंः चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई घुस रकमसहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित पक्राउ गरेको हो ।
आयोगका अनुसार पौडेललाई सेवाग्राहीबाट एक लाख घुसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरिएको हो । उनलाई आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले घूससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
यसअघि २ वैशाख २०७६ मा त्यही नगरपालिकाका अर्का अधिकृत पनि पक्राउ परेका थिए । चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईलाई पक्राउ गरेको थियो ।