विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुँदै

युएईः सर्बाधिक पुरस्कार राशीसहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो ।

सर्बोत्कृष्ट हुने कविले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिलेसम्मकै सर्बाधिक पुरस्कार राशी रहेको सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बिश्वर्काले बताए ।

प्रतिष्ठानले विश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरेर देश बिदेशमा रहने कविहरूबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ । कविता फाल्गुन १ गतेसम्ममा संस्थाको इमेलsahityapratishthan@gmail.com मा पठाउनु पर्नेछ ।

प्रतियोगिताको लागि बढीमा एक सय ५० शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन पनि संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

कविता प्रतियोगिताको नतिजा २०७७ बैशाख १ गते घोषणा गरिने र उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरिनेछ । सोही कार्यक्रममा सर्वोकृष्ट कवितालाई नगद पुरस्कारकोसाथ सम्मान र अन्य उत्कृष्ट १० कविहरुलाई प्रमाणपत्रसहित सम्मान गरिने प्रचार–प्रसार संयोजक अजित क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट १० सहित देश बिदेशका ५१ कविका कविताहरु समेटेर संस्थाबाट एक बर्ष भित्रै कविता संग्रह प्रकाशित गरिने पनि जनाईएको छ । प्रतियोगि कविता कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको हुन नहुने बताइएको छ ।

अंग्रेजी र नेपाल अधिराज्यभित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले पनि प्रतियोगितामा प्रवेश पाउनेछन् । तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनु पर्ने बताइएको छ ।

कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित–प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको संयोजक जिबित खड्काले जनाए ।

प्रतियोगिताले बिश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरूलाई थप उर्जा प्रदान गर्ने विश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष बिश्वकर्माले बताए ।

कमेन्ट गर्नुहोस्