काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्ष्भित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गरेका छन् । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिए ।
उनले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । सो टेलिभिजनका हाल पाँच च्यानल प्रसारण भइरहेका छन् ।
मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान र रेडियो नेपाल सरकारी सञ्चारमाध्यम नभई जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको जनाए । उनले भने, ‘यी संस्था जनता र राज्यका सम्पत्ति हुन् । यसलाई हेर्ने आँखा बदलिनुपर्छ । यही हाम्रा देशका केही धरोहरभित्र पर्छन् । घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ । न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ ।’
मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले भने जस्तै हरेक दिन नयाँ फड्को र नयाँ प्रगति हासिल गर्न कर्मचारी र पत्रकारलाई मौरी झैँ काम गर्न आग्रह गरे । उनले नयाँ उत्साह र उमङ्गका साथ आफ्ना प्रभाव र पहुँच विस्तार गर्दै यही माघ १७ गते इटहरी च्यानलको शुभारम्भ भएकामा बधाई दिए । नेपाली इतिहासको यो पहिलो टेलिभिजन भएपछि अब जनता र दर्शकको छनोटमा पहिलो हुनु यसको चुनौती भएको उल्लेख गर्दै उनले यसपल्ट संस्थाले यस वर्षका लागि व्यापारिक कारोवारका घोषित लक्ष्य पूरा हुने दिशामा अग्रसर भएकामा व्यवस्थापनलाई बधाई दिए ।
‘अब यो बाँच्ने भयो । हाम्रा संस्थाहरुको आर्थिक जीवन स्वस्थ्य नहुँदासम्म सुकेनासले समात्छ । टेलिभिजन आर्थिक सुकेनासबाट भने जोगियो । प्रविधिको रुपान्तरणसँगै पहुँचको विस्तारका लागि आफ्ना लगानीहरु केन्द्रित गर्न आवश्यक छ’, मन्त्री बाँस्कोटाले भने, ‘अब मान्छेको मान जित्नुपर्छ । यसमा लोकसेवामा जाँच दिए जस्तो हुँदैन । उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर दर्शकको मन जित्न सक्ने यसको क्षमता यसले विकास गर्नुपर्छ । दर्शकको मनोविज्ञानले के खोजेको छ, त्यसबारे अनुसन्धान हुन जरुरी छ । सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौतीको सामना गर्न आवश्यक छ ।’
एनटिभीको मोबाइल एप शुभारम्भ
मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन मोबाइल एपको शुभारम्भ गरे । सो एपमा लाइभ टिभी, टिभी सो, भिडियो अन डिमान्ड र न्युज फिचर समावेश छन् । सो टेलिभिजनका हाल पाँच च्यानल हाई डिफिनिशन (एचडी) प्रविधिमा छन् ।
नेपाल टेलिभिजनले पहिलो पटक निर्माण गरी सञ्चालनमा ल्याएको एपबाट नेपाल टेलिभिजनका दर्शकहरुले यसका पाँच वटै च्यानलहरु प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् । एपमा सबै च्यानलहरुको रियल टाइम प्रशारणका साथै समाचार वुलेटिनहरु, डकुमेण्ट्री, कार्यक्रम, टक शो, रियालिटी शो लगायतका कार्यक्रमहरु दर्शकहरुले आवश्यकता अनुसार हेर्न सक्नेछन् । नेपाल टेलिभिजनका पुराना ऐतिहासिक महत्व बोकेका महत्वपूर्ण डकुमेण्ट्री तथा टेलिभिजनसंग रहेका दृश्यहरुलाई पैसा तिरेर किन्न सकिने भिडियो अन डिमाण्डको सुविधा समेत एपमा उपलव्ध गराइएको छ ।
सो टेलिभिजनको स्थापना दिवसका दिन यही माघ १७ गते इटहरी प्रसारणको शुरुआत भएको थियो । विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो ।