काठमाडौंः चोटका कारण न्यूजिल्याण्डसँगको टेष्ट र एकदिवसीय सिरिज गुमाएका रोहित शर्माको स्थानमा मयंक अग्रवाल र शुभमन गिलले मौका पाएका छन् । रोहितको स्थानमा एकदिवसीयमा मयंक र टेष्ट सिरिजमा गिलले मौका पाएका हुन् ।
रोहित न्यूजिल्याण्डसँगको टी–२० सिरिजको अन्तिम खेलमा घाइते भएका थिए । उनीसहित पछिल्लो समय भारतीय टीमका अन्य महत्वपूर्ण सदस्य पनि चोटका कारण विश्राम गरिरहेका छन् ।
अब रोहित नै घाइते भएपछि भारतीय टीमलाई गाह्रो भएको छ । भारतीय मिडियाका अनुसार चोटकै कारण उनले न्यूजिल्याण्डसँगको एकदिवसीय र टेष्ट सिरिज गुमाएका छन् ।
रोहित शर्माः रोहित न्यूजिल्याण्डसँगको टी–२० सिरिजको अन्तिम म्याचमा घाइते भएका हुन् । चोटकै कारण रोहितले न्यूजिल्याण्डसँगको तीन खेलको वानडे र २ म्याचको टेष्ट सिरिज पनि गुमाएका छन् । उनको स्थानमा टेष्टमा शुभमन गिलले मौका पाउने सम्भावना रहेको भारतीय मिडियाले लेखेका छन् ।
इशान्त शर्माः इशान्त भारतीय टेष्ट टीमका महत्वपूर्ण सदस्य हुन् । तिव्र गतिका बलर इशान्त रणजी ट्रफीको एक म्याचका क्रममा घाइते भएका थिए । चोटकै कारण उनले पनि न्यूजिल्याण्डसँगको टेष्ट सिरिज गुमाएका छन् ।
भुवनेश्वर कुमारः भुवनेश्वर हर्नियाको अप्रेशनका कारण अहिल विश्राम गरिरहेका छन् । उनी भारतीय टीमका महत्वपूर्ण सदस्य हुन् । भारतीय मिडियाका अनुसार भुवनेश्वर तत्काल टीममा फर्किने सम्भावना न्यून छ । अनुभवी तिव्र गतिका बलर उनी घाइते हुँदा भारतीय टीमलाई टेष्ट र वानडे सिरिजमा अप्ठ्यारो पर्ने सम्भावना छ ।
हार्दिक पाण्ड्याः भारतीय टीमका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पनि न्यूजिल्याण्डसँगको टेष्ट सिरिज गुमाएका छन् । पूर्णरुपमा ‘फिट’ नभइसकेकाले उनले टेष्ट सिरिज गुमाएका हुन् । हार्दिकले गत अक्टूबरमा ढाडको अप्रेशन गरेका थिए ।
शिखर धवनः भारतीय टीमका अर्का ओपनर शिखर धवन पनि चोटका कारण अहिले आराम गरिरहेका छन् । अष्ट्रेलियासँगको वानडे सिरिजमा फिल्डिङका क्रममा घाइते भएका शिखरले न्यूजिल्याण्डसँगको पूरै सिरिज नै गुमाए । उनी पछिल्लो समय चोटका कारण टीमभन्दा बाहिर नै छन् । शिखरले चोटकै कारण न्यूजिल्याण्डसँगको वानडे र टी–२० सिरिज पनि गुमाए । उनको स्थानमा वानडेमा पृथ्वी शा र टी–२० मा सञ्जु स्यासनलाई मौका दिइएको थियो ।
भारतले न्यूजिल्याण्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज बुधबारदेखि खेल्दै छ । यसअघि भारतले न्यूजिल्याण्ड विरुद्धको पाँच खेलको सिरिज ५–० ले ‘क्लिन स्विप’ गरिसकेको छ ।