एजेन्सीः नेइमार पुनः चोटग्रस्त भएका छन् । करङमा लागेको चोटका कारण नेइमार पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टिम बाहिर भएका हुन् ।
पिएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि पिएसजीको टिममा नेइमार रहेका छैनन्।
ब्राजिलियन खेलाडी नेइमारलाई गएको शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा मेडिकल सहायताको खाँचो परेको थियो ।
आइतबार उनले आफ्नो २८ औँ जन्मदिनको भव्य पार्टी गरेका थिए पेरिसमा । ह्वाइट थिमको पार्टीमा मेम्फिस डिपेयी, एन्जल डी मारिया, एडिन्सन काभानी, मार्को भेराटीसहितका खेलाडी सेतो रंगको कस्ट्युममा पुगेका थिए ।
पार्टी लगत्तै घोषणा भएको टिममा नेइमार नपरेपछि पार्टीकै कारण नेइमारलाई टिम बाहिर गरिएको हो कि भन्ने शंका उब्जिएको छ ।
तर प्रशिक्षक थोमस टुसिलले भने पार्टी र टिम छनौटमा कुनै सम्बन्ध नरहेको बताएका छन् । नेइमारले जन्मदिनको अग्रिम पार्टी दिएका हुन् । उनी बुधबारदेखि २८ वर्ष लाग्दै छन् ।