अंग्रेजी शिक्षकका लागि रोमनमा प्रश्न!

काठमाडौंः माध्यमिक तहको अङ्ग्रेजी विषयमा रोमनबाट प्रश्न सोधिएको तथ्य फेला परेको छ । काठमाडौंको गौशालास्थित मङ्गलादेवी माध्यमिक विद्यालयले माध्यमिक तहको अङ्ग्रेजी विषयका राहत शिक्षकका लागि लिइएको परीक्षामा रोमनबाट प्रश्न सोधिएको थियो ।

रोमनबाट सोधिएको प्रश्नका आधारमा लिइएको परीक्षालाई मान्यता प्रदान गरिएको छ । त्यसको नतिजाका आधारमा शिक्षकलाई नियुक्तिसमेत गरिएको छ । विद्यालयले माध्यमिक तहको राहत कोटामा शिक्षक रिक्त भएपछि काठमाडौं महानगरपालिकासँग परीक्षा सञ्चालन गरी शिक्षक नियुक्त गर्न विषयविज्ञ माग गरेको थियो । महानगरपालिकाको शिक्षा विभागले अङ्ग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा. शर्मिला पोखरेललाई विषय विज्ञका रूपमा विद्यालयमा पठाएको थियो । उनले ४० अङ्कको वस्तुगततर्फ रोमनमा प्रश्न तयार गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मधुसूदन ढुङ्गेलले महानगरपालिकाको शिक्षा विभागले गरेको सिफारिसका आधारमा विषय विज्ञलाई प्रयोग गरी प्रश्न तयार गरेको बताउँदै भने, ‘पदपूर्ति समिति गठन गरिएको थियो । महानगरपालिकाका विज्ञले बनाएको प्रश्नलाई मान्यता नदिने भन्ने अवस्था रहेन । परीक्षाको नतिजा सार्वजनिक गरेर शिक्षक छनोटसमेत गरिसकिएको छ ।’ अङ्ग्रेजी विषयमा सरिता राई छनोट भएकी छन् ।

महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले विषय विज्ञलाई स्पष्टीकरण सोधिएको बताउँदै भने, ‘परीक्षार्थीले प्रश्न बुझे । प्रश्नका कारण समस्या भएन । तैपनि आइन्दा यस्तो अवस्था नदोहोरियोस् भनेर सचेत भएका छौँ ।’ यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

 

कमेन्ट गर्नुहोस्