नेकपामा गुट भत्काउँदै प्रचण्ड, शक्तिशाली पार्टीका लागि कसिलो कमाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सबै तहको एकता अझै पनि पूर्ण हुन सकेको छैन । केन्द्रीय विभाग, प्रदेश विभागलगायतका कैयन निकाय र तहको एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन ।

यो एकता टुंगामा पुग्न नसक्नुमा पूर्व माओवादी भन्दा पनि पूर्व एमालेभित्रका कतिपय समूह, उपसमूहबीचको विवादले मुख्य भूमिका खेल्दै आएको छ । पूर्व माओवादीभित्र वैचारिक प्रवृत्तिका आधारमा केही समूह अस्तित्वमा रहेको भएपनि तिनले गुटकै रुप भने धारण गरेको देखिँदैन । त्यहाँ कार्यनीतिक सवालमा कतिपय व्यक्तिहरुको कार्यगत प्रवृत्ति मिल्ने आधारमा समूह देखिएपनि वैचारिक र संगठनात्मकरुपमा प्रचण्डको नेतृत्व वरिपरि सबै गोलबद्ध रहेको देखिन्छ । युद्दबाट हुर्केर आएको पार्टी भएकोले स्वभावतः चेन कमाण्ड दरिलो अवस्थामा हुनु स्वभाविकै पनि थियो ।

यता पूर्व एमालेभित्र पनि घोषितरुपमा नै गुटवादले विकास गर्दै आएको देखिन्छ । कतिपय अवस्थामा यी गुटहरु निर्णायक बन्ने गर्दा यसको असर पार्टी र सरकारका काममा समेत पर्ने गरेको देखिन्छ । बिभिन्न निकायमा प्रतिनिधि या सदस्य छनौट गर्दा होस् या नियुक्ति र निर्वाचनका लागि उम्मेदवार घोषणा गर्दा होस्, पार्टीभित्रका पूर्व गुटहरु अहिलेसम्म अस्तित्वमा रहँदा गुटको कोटा या गुटको मनोविज्ञानले निर्णायक असर गरेको देखिन्छ ।

पूर्व एमालेभित्र खासगरी अध्यक्ष ओली समर्थक समूह र माधव नेपाल समूह निर्णायक अवस्थामा देखिन्छन् । जिल्लादेखि केन्द्रसम्म को व्यक्ति कुन समूहसँग भन्ने एउटा स्पष्ट रेखांकन त्यहाँ देखिन्छ । यो रेखांकनका आधारमा जिल्ला या प्रदेश या केन्द्रमा पार्टी एकताका कार्यभार अघि सर्दा को कुन समूहको भन्ने कुरा निर्णायक बन्छ ।

नेकपा माओवादी र नेकपा एमालेबीच पार्टी एकता हुँदा पूर्व एमालेसँगका गुटहरुसँग रणनैतिकरुपमा व्यवहार गरेर प्रचण्डले आफ्नो गुट विकास गर्ने आँकलन कतिपयले गरे ।

विचारका हिसाबले माधव नेपाल समूह र प्रचण्डहरुको विचार मिल्ने भएकोले दुबै मिलेर ओलीलाई किनारामा पार्ने समेत कतिपयको टिप्पणी देखिन्थ्यो । कतिपयले भने ओली र प्रचण्ड मिलेर माधव नेपाललाई अप्ठ्यारोमा पार्ने रणनीति प्रचण्डले लिएका छन् भनेर समेत चर्चा गरे । जिल्ला तहमा समेत दुबै पार्टीका पूर्व समूहहरुले अस्तित्व रक्षाका लागि यो वा त्यो गुट समातेर आफ्नो पूर्व पार्टी भित्रका बिरोधी समूह या गुटलाई समाप्त गर्न सकिन्छ भन्ने बुझाई समेत बनाए ।

याे पनि पढ्नुस  नेकपा सचिवालयको बैठक आज

तर प्रचण्डले भने पार्टी एकतादेखि नै गुटको अवधारणालाई पूर्णरुपमा निषेध गर्दै पूर्व माओवादी नेता तथा कार्यकर्तालाई एउटा दरिलो सन्देश दिए । “पूर्व एमालेभित्रका कतिपय समूहलाई उपयोग गर्ने या एक वा अर्कोसँग लडाउने कार्य तपाईहरु कदापी नगर्नु होला । महाधिवेशन नआउँदा सम्म वैचारिक या अन्य समूहको अर्थ हुँदैन । हामीले उनीहरुभित्रका सबै पक्षसँग समानस्तरको सम्बन्ध विकास गर्नुपर्छ र अग्रगामी एजेण्डाको मर्ममा एकता–संघर्ष–एकताको रणनीतिका आधारमा अघि बढ्नुपर्छ । स्थानीय तहदेखि माथिसम्म हामी कुनै समूहलाई उचाल्ने या निरपेक्ष समर्थन गर्ने काम गर्दैनौं । पार्टी एकतालाई मजबूत बनाउने हाम्रो लक्ष्य हो । त्यसैले यो कुरामा विशेष ध्यान दिनुहोला ।”

प्रचण्डले बिभिन्न समयमा पूर्व माओवादीका नेता तथा कार्यकर्तालाई यसरी स्पष्टरुपमा निर्देशन दिंदै आएका छन् । केन्द्रीय राजनीतिमा पनि कतिपयको आँकलन विपरित उनले न माधव नेपाल समूहलाई पूर्ण सहयोग गरेर केपी ओली समूहलाई कमजोर पार्ने कोशीस गरे, न त केपी ओली समूहसँग मिलेर माधव समूहलाई पछार्ने खेले खेले । बरु पार्टी एकताको पक्षमा, अग्रगमन र जनपक्षिय पार्टी बनाउने स्पिरिटमा उनले एजेण्डा अनुसार सबै पक्षसँग सापेक्ष सम्बन्ध बिस्तार गरे । एजेण्डा प्रधान हुँदा उनी कुनैबेला ओलीसँग मिलेको देखिए, कुनै बेला माधव नेपालसँग मिलेको देखिए । तर वास्तवमा यो कुनै रणनीतिक या नियोजित खेल थिएन भन्ने कुरा घटनाक्रमको विकाससँगै पुष्टि हुँदै गयो ।

याे पनि पढ्नुस  माक्र्स १ हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष प्रचण्ड

तर गुटको मनोविज्ञान हावी भएकाहरुका लागि प्रचण्डको भूमिकाले अमूक समूह या व्यक्तिलाई फाइदा नहुँदा त्यसलाई गुटबाजी गरेको अर्थ लाग्नु स्वभाविकै थियो । प्रचण्डले यो बीचमा पार्टी एकतालाई मजबूत बनाउने र कतिपय अवस्थामा राजनीतिक निकास खोज्ने क्रममा प्रधानमन्त्री तथा अध्यक्षदेखि नेकपाका अन्य शीर्ष नेतासँग सामूहिक र बेग्लाबेग्लै छलफल गरे । यो छलफल गुट बलियो बनाउन थिएन भन्ने कुरा केन्द्रीय कमिटिको बैठकमा साझा दस्तावेज प्रस्तुत भएर सानदार तरिकाले पारित हुनुबाट पुष्टि भएको छ । बिभिन्न चरणमा हुने यसप्रकारका छलफलहरुलाई केहीले गुटको कुरा गरे । तर यी गुट थिएनन बरु पार्टीभित्र गुटगत मानसिकता, गुटगत अभ्यास र गुटप्रेरित निर्णयविरुद्ध चालिएका कदम थिए ।

यो कदमबाट प्रचण्डले गुट भत्काउन खोजेका छन्, एजेण्डा र विचारमा आधारित पार्टी निर्माण गर्न खोजेका छन् भन्ने स्पष्ट सन्देश दिएको छ ।

व्यक्तिगतरुपमा फाइदा खोज्ने हो भने प्रचण्डले पार्टी एकतादेखि नै पूर्व एमालेका यो वा त्यो समूहलाई अन्ध समर्थन गर्दै अर्को समूहविरुद्ध उपयोग गर्ने नीति लिन सक्थे । यसो गर्दा व्यक्तिगतरुपमा प्रचण्डलाई लाभ हुन्थ्यो होला । तर प्रचण्डले त्यसो गरेनन् । उनले सबै पक्षसँग छलफल गरे, सहमति गरे, असहमतिका विषयमा घनिभूत बहस गरे । अनि पार्टीलाई मजबूत बनाउने र कार्यकर्ताबीच गुट र समूहको मनोविज्ञान तोडदै बलियो एकीकृत पार्टी बनाउने पक्षमा योगदान गर्न सफल भए ।

प्रचण्ड पार्टीभित्र अल्पमत या बहुमतको खेलमा लागेनन् । सही लागेको कुरा उनले दरिलो अडान लिए, व्यक्तिगत या समूहगत स्वार्थका कुरामा उनले अडान लिएनन् । यसलाई कतिपयले उनी कमजोर भएको अर्थमा समेत लिए । तर यो उनले लिएको सही रणनीति थियो । अनावश्यक कुरामा, अबस्तुवादी विषयमा समूह या गुटलाई फाइदा हुन्छ भन्दै अनावश्यक इगो या अडान आवश्यक छैन् भन्ने कुरा उनले पुष्टि गरे । यो गुट भत्काउन शुरु गरिएको महत्वपूर्ण शिक्षा हो ।

याे पनि पढ्नुस  सरकारले भोलिसम्म पूर्णता पाउँछ : प्रचण्ड

स्वयम् प्रधानमन्त्रीले समेत अहिले गुटको अस्तित्व नरहेको तर्क दिन पुगेका छन् । पत्रपत्रिकाहरुले यो कमजोर त्यो बलियो, यो नेता यो कित्तामा, यो नेता त्यो कित्तामा भनेर प्रचार गरेकोमा उनले बिरोध गरेका छन् । प्रचण्डले पार्टी एकतादेखि नै खोजेको कुरा पनि यही थियो । एजेण्डा र विचारका आधारमा नेता यो वा त्यो समूहमा भएपनि त्यसले पार्टीलाई जीवन्त राख्न सहयोग गर्छ तर त्यो गैर वैचारिक गुटमा रुपान्तरिक भए यसले समस्या सिर्जना गर्छ भन्नेमा प्रचण्डले सुरुदेखि नै सचेतता अपनाएको देखिन्छ ।

गुट रहेसम्म त्यसले विचारको निषेध गर्दछ । विचार र एजेण्डा भन्दा गुटको स्वार्थ बलियो भने पार्टी जनताबाट टाढा हुन्छ । सदस्य संख्या बढ्दैमा या निर्वाचनमा जीत हासिल गर्दैमा पार्टी बलियो हुँदैन । मुख्य कुरा पार्टीभित्र विचारको प्रधानतासहित एउटा मिशनमा सबै कार्यकर्ता सामूहिक भावनाले हिंडने अवस्था सिर्जना गर्नु हो । यो कुरामा प्रचण्डको मेहनतले सफलता प्राप्त गरेको छ । अहिले दोश्रो केन्द्रीय कमिटिसम्म आइपुग्दा पूर्व एमालेभित्रका कतिपय अस्थायी, स्थायी, प्रत्यक्ष र अप्रत्यक्ष गुट र समूह भत्किन थालेका छन् । यो आवश्यक थियो ।

पार्टी एकतादेखि अहिलेसम्म आइपुग्दा के साँच्चिकै प्रचण्डले गुटबाजी गरेको लाग्छ ? के साँच्चिकै उनले पूर्व एमालेभित्रका कुनै अमूक समूहलाई मात्रै बोकेर अरुलाई कमजोर पार्न खोजेको देखिन्छ ? यदि सबै भूमिकालाई गम्भीररुपमा समीक्षा गर्दा यसो कदापी देखिँदैन ।

कमेन्ट गर्नुहोस्