काठमाडौंः कुखुराको मासुको मूल्य वृद्धि गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । अहिले कुखुराको मासुको मूल्य अस्वभाविकरुपमा बढाएर किलोको ४ सय २० रुपैयाँ पुगेको छ ।
व्यवसायीले कुखुराको मासुको मूल्य बढाउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरिरहेका बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र मङ्गलबारसम्म चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थालिने छ ।
डेढ महिना अघिसम्म २ सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ व्यापारीले चार सय २० रुपैयाँ पुर्याएका छन् । विवाह, वनभोजलगायतका कारण मासुको माग बढी हुने महिनामै व्यवसायीले मासुको मूल्य बढाएका हुन् ।
व्यापारीले लागत मूल्य नपाएको भन्दै गएको मङ्सिर २९ गतेदेखि १० दिनसम चल्ला र चल्ला उत्पादन गर्न ठिक्क पारेका अण्डा नष्ट गरेका थिए ।