१० वर्षसम्म फुटबल खेलेका चन्द व्यावसायिक बाख्रापालनमा

कञ्चनपुर: दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेका छन् ।

विगतमा यु–१३ र १४ नेपाली फुटबल टोलीको कप्तानीसमेत गरेका चन्द यु–१९ सम्मको फटुबलमा गोलकिपरको भूमिकामा थिए । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) स्तरसम्मको फुटबलको अनुभव लिइसकेका चन्द २०७३ सालमा खेलबाट अलग्गिएका थिए ।

‘सानैदेखि आफ्नै ठाउँमा केही गर्ने चाहना थियो’, गोवरियामा रहेको चन्दाज गट एण्ड एग्रिकल्चर फर्म सञ्चालन गरिरहेका फुटबलर चन्दले भने ‘बुबासितको सल्लाहबमोजिम काठमाडौंमा विलासी दैनिकीलाई प्रवाह नगरी गृहनगर आएर बाख्रापालन शुरु गर्‍यौं ।’

वीरेन्द्र विसं २०५८ देखि जिल्ला फुटबल सङ्घको नेतृत्व हुँदै एन्फाको केन्द्रीय सदस्यसमेत रहिसकेका फुटबलप्रेमी गणेशबहादुर चन्दका जेठा छोरा हुन् । निर्माण व्यवसाय क्षेत्रमा लामो समय काठमाडौंमा काम गरेका चन्दले आफू २५ वर्षदेखि खेल क्षेत्रको व्यवस्थापकीय भूमिकामा रहेको बताए ।

याे पनि पढ्नुस  ४ दिनको शिशुमा पनि कोरोना !

‘सुदूरपश्चिम प्रदेशमा मासु आयात विस्थापन गर्ने अवधारणाका साथ लागेका छौं’, चन्दले भने, ‘यहाँका किसानसित सहकार्य गरेर एक सय आधुनिक बाख्रा फर्म सञ्चालनमा ल्याउने लक्ष्य पनि छ ।’ ‘सोच बदलौं जुन काम गरे पनि स्वदेशमै गरौं भन्ने भावले छोरालाई बाख्रापालनमा सक्रिय बनाएँ”, हाल जिल्ला फुटबल सङ्घ कञ्चनपुरका अध्यक्षसमेत रहेका चन्दले भने, ‘कान्छो छोरा इञ्जिनियर र छोरी डाक्टर भइसके ।’

आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने भावनाका साथ छोरासँगको सल्लाहमा बाख्रपालन थालेको गणेशबहादुरले बताए । तीन करोड रुपैयाँको लागतमा अत्याधुनिक खोरसहित व्यावसायिक बाख्रापालनमा लागेका चन्दले अष्ट्रेलियाबाट बाख्रा भित्र्याएका छन् ।

‘छोरालाई व्यावसायिक रुपमा बाख्रापालनमा लगाउनैका लागि विभिन्न अध्ययन अवलोकन गरेर अघि बढेको हुँ’, गणेशबहादुरले भने, ‘अहिले आधुनिक प्रविधिबाट बाख्रपालन हेर्न देशका विभिन्न ठाउँबाट अवलोकनकर्ता दिनहुँजसो आउँछन् ।’

याे पनि पढ्नुस  कोरोनाका कारण सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु

फुटबलको जुनियर टिममा महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले आफू सिनियर टिमको बन्द प्रशिक्षणसम्म सहभागी भएको बताए । ‘अझै पनि फुटबलको व्यवस्थापकीय भूमिकामा आउने सोच छ’ उनले भने, ‘बाख्रापालनलाई बढाउँदै सुदूरपश्चिममा बाह्य मासु खपत कम गर्ने योजना छ ।’

चन्दले एक बिघा जमिनमा खोर बनाएर बाख्राका लागि छ बिघा खेतमा घाँसखेती गरिएको जानकारी दिए । ‘सुदूरपश्चिम प्रदेशमा मासु आयात विस्थापन गर्ने अवधारणाका साथ लागेका छौं’, चन्दले भने, ‘यहाँका किसानसित सहकार्य गरेर एक सय आधुनिक बाख्रा फर्म सञ्चालनमा ल्याउने लक्ष्य पनि छ ।’

व्यावसायिक रुपमा अष्ट्रेलियाबाट उन्नत जातको बाख्रा भित्र्याउन प्रक्रियागत झन्झट रहेको चन्दको दुखेसो छ । ‘किसानलाई भारतलगायत अन्य मुलुकबाट कृषि औजार भित्र्याउन भन्सार शुल्क सहुलियत हुने कुरा पनि गफजस्तै रहेछ’, चन्दले भने, ‘अझै दोस्रो चरणमा अष्ट्रेलियाबाट बाख्रा ल्याउने तयारी छ ।’

याे पनि पढ्नुस  बङ्गलादेशसँगै अन्तिम खेल खेल्दै नेपाल, हारको बदला लिने अवसर

‘बोयर’ जातको बाख्रा पोषणका लागि सहज र रोगसँग लड्न सक्ने क्षमता बढी हुने भएकाले बाख्रापालन फस्टाउनेमा उनी आशावादी छन् । ‘यहाँ आउनुअघि काठमाडौँमा पनि बाख्रापालनको विषयमा तालीम लिएर आएँ’, चन्दले भने, ‘फिल्डमा काम गर्दै जाँदा पनि अनुभव बढ्दै गएको छ ।’

अष्ट्रेलियामा प्रतिबोयर दुई लाख २६ हजार पर्ने ५३ उन्नत जातका बाख्रा भीमदत्तनगर पहिलो पटक भित्र्याउनुभएका चन्दले दुई सय बाख्रा अटाउने क्षमताको आधुनिक खोरसमेत निर्माण गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्