रानाथारू सूचीकृतः पूरा भयो सांसद नारदमुनी रानाको प्रमुख चुनावी एजेण्डा

काठमाडौंः विसं २०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्यो । तर, त्यसमा रानाथारू समुदाय अटाएन ।

सरकारको त्यो निर्णयप्रति रानाथारू समुदाय असन्तुष्ट थियो र त्यहीँ समयदेखि उक्त समुदायले सूचीकृतका लागि निरन्तर दवावमुलक आन्दोलन गर्दै आएको थियो ।

अन्ततः उक्त समुदाय आदिवासी जनजातिमा सूचीकृत भएको छ । माघ २० गतेको मन्त्रिपरिषद् बैठकले रानाथारुको मागका आधारमा आदिवासी जनजातिको पहिचान दिने निर्णय गरिसकेको छ र बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले साप्ताहिक पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै रानाथारू समुदायलाई आदिवासी जनजातिमा सूचीकृत भएको निर्णय सुनाउनेछन् ।

कैलाली–५ बाट निर्वाचित सांसद नारदमुनी रानाका अनुसार बाँस्कोटाले त्यो निर्णय सुनाइरहँदा रानाथारू समुदाय भने सरकारको पछिल्लो निर्णयका स्वागतमा कैलाली र कञ्चनपुरका १३४ गाउँमा दीपावली मनाइरहेको हुनेछ ।

नारदमुनी रानाको चुनावी एजेण्डा !
२०७४ सालको प्रतिनिधिसभा चुनावमा कैलाली–५ निकै चर्चामा थियो । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो, कैलाली–५ । देउवा २०७० सालको चुनावमा त्यहाँबाट विजयी भएका थिए ।

याे पनि पढ्नुस  शुरू भयो नेकपा स्थायी कमिटी बैठक

०७४ सालको चुनावमा देउवाले श्रीमती आरजुलाई उम्म्दवार बनाएका थिए । त्यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि सो क्षेत्रबाट कांग्रेसबाटै मेयर र उपमेयर निर्वाचित भएका थिए ।

उक्त क्षेत्रमा तत्कालीन एमाले तथा बाम गठबन्धन (हाल नेकपा) का उम्मेदवार थिए, नारदमुनी राना । प्रतिस्पर्धा निकै थियो । प्रमुख प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारले विभिन्न एजेण्डा मतदाता माझ प्रस्तुत गरिरहेका हुन्थे । त्यसमा पनि प्रमुख एजेण्डा रानाथारू समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गर्ने थियो ।

कांग्रेसका उम्मेदवार आरजु राणा देउवाले पनि उक्त एजेण्डलाई जोडतोडका साथ उठाइरहेकी थिइन् । तर, उनकोे आश्वासन मतदाताले पत्याएनन् । कारण, अघिल्लो चुनावमा पनि रानाथारू समुदायलाई सूचीकृत गर्ने भन्दै कांग्रेस उम्मेदवार आरजुका श्रीमान तथा कांग्रेस सभापति देउवाले आश्वासन बाँडेका थिए । जनताले त्यसलाई ‘देउवाले पुरा गर्न नसकेका आश्वासन आरजु बाँड्दै’भन्दै पन्छ्याए ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद्को पुनर्गठनः यी हुन् सम्भावित हट्ने र नयाँ बन्ने मन्त्री !

तर, रानामाथि भने धेरैको विश्वास थियो । आफ्नै समुदायबाट उम्मेदवार, गरेका बाँचा पुरा गर्ने नेताको छवि बनाएका रानाले प्रत्येक गाउँगाउँमा गएर रानाथारू जातिलाई सूचीकृत गराएरै छाड्ने बाँचा गरेका थिए । कैलाली–५ मा रानाथारू समुदायको मत निर्णायक मानिन्छ ।

त्यहीँ कारण रानालाई मतदाताले विश्वास गरेर अत्याधिक बहुमतका साथ विजयी गराए । प्रतिनिधिसभा रानाथारू समुदायको प्रतिनिधित्व गर्ने एक्ला सांसद बने नारदमुनी राना ।

०७० को चुनावमा देउवाले आश्वासन बाँडेर पुरा नगरेकोबारे जानकार राना विजयी लगत्तै चुनावी एजेण्डा पुरा गर्नतर्फ लागे । सो क्रममा उनले रानाथारू समुदायसँग सल्लाह सुझाव लिँदै चुनावमा गरेका बाँचा पुरा गर्नका लागि धाउन थाले । रानाथारू समुदायलाई आदिवासीको सूचीमा सूचीकृत गराउने बाँचा पुरा गर्नका लागि उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतलाई ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउँदै गए ।

दुई वर्षको प्रयास र मेहनतपछि अन्ततः सांसद नारदमुनी रानाको प्रमुख चुनावी एजेण्डा ‘रानाथारू जातिलाई आदिवासी जनजातिमा सूचीमा सूचीकृत गराउने’ पुरा भएको छ ।

याे पनि पढ्नुस  पूर्वलडाकु र सहिद परिवारप्रति गोहीको आँशु नचुहाउन ओली र बादललाई वर्षमानको चेतावनी

यसअघिसम्म ५९ वटा आदिवासी जनजाति सूचीकृत भएकोमा अब रानाथारू थपिएपछि नेपालमा ६० वटा आदिवासी जनजाति सूचीकृत भएका छन् ।

रानाथारू समुदाय आदिवासी जनजातिमा सूचीकृत भएपछि खुसी व्यक्त गर्दै सांसद रानाले भने, ‘हाम्रो समुदायको माग पनि यही नै थियो, चुनावमा पनि जनताले रानाथारुको पहिचान स्थापित गराउनकै लागि भोट दिएका थिए । जे होस ढिलै भए पनि सरकारले हाम्रो माग सुनेको छ । हाम्रो अलग्गै पहिचान स्थापित भएको छ ।’

उनले थपे, ‘सरकारले उक्त निर्णय गरेकामा हामीहरू उत्साहित भएका छौं । अब हामीहरूको पहिचानसँगै थप अधिकार प्राप्तिको आधार खुलेको छ र हाम्रो भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउन सहज भएको छ ।’

नेपालमै कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारू समुदायको जनसंख्या साढे ३ लाख रहेको भएपनि यसअघि यो समुदायलाई अन्य थारू समुदायमै सूचीकृत गरेको थियो ।

कमेन्ट गर्नुहोस्