धनगढीः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका औद्योगिक तथा वाणिज्य क्षेत्रको अवलोकन गर्न प्रदेश भ्रमणमा आएका छन् । मन्त्रालयका उच्च पदाधिकारीसहित यस क्षेत्रका मुख्य औद्योगिक योजनाहरूको अध्यनका क्रममा मन्त्रीसहितको टोली यँहा आएको हो ।
बिहिवार धनगढी पुगेका लेखराज भट्टले धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस क्षेत्रमा रहेका बिशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्रहरूको अवलोकन गर्न मन्त्रालयको सचिवस्तरीय टोलिसहित सुदूरपश्चिम आएको बताए ।
उनले कैलालीको हरैयामा रहेको बिशेष आर्थिक क्षेत्र, कन्चनपुरको छेलामा रहेका औद्योगिक क्षेत्र, दोधारा चाँदनीमा रहेका सुख्खा बन्दरगाहलगायतका क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको बताए । ‘बिशेष गरेर हामी झलारीको छेला, दोधारा चाँदनीको सुख्खा बन्दरगाहको योजनालाई छिटो भन्दा छिटो कार्यान्वय गर्न सकिन्छ भनेर अध्ययन गर्ने छौं’, मन्त्री भट्टले भने, ‘कैलालीका हरैया आर्थिक क्षेत्र र डुडेझारी औद्योगिक क्षेत्रको पनि अध्ययन गर्ने छौं र त्यहि अध्ययनको आधारमा रिपोर्ट तयार पार्ने छौ ।’
उनले गेटा–धनगढी रोडमा पनि औद्योगिक करिडोरको कामलाई अगाढी बढाइने बताए ।