काठमाडौंः विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकन टीमविरुद्ध ओमान ६ विकेटले विजयी भएको छ । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे ।
उसका लागि अकिब इलियासले ७२, मोहम्मद नदीमले अविजित ५५, खवार अलिले ३१, कप्तान जीशान मक्सूदले ११ र सुरज कुमारले अविजित ३२ रन बनाए । बलिङमा अमेरिकन टीमका ४ बलरले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो । उसका लागि इयान हल्यान्डले राम्रो ब्याटिङ गरे । उनले ७८ बलमा ७ चौकाको मद्दतमा ६५ रनको योगदान दिए । यस्तै अक्षय होमराजले ४४, मोनाक पटेलले १९, तमिल पटेलले १६, जेभियर मार्शलले १३, सौरभ नेत्रवलकर अविजित १४, आरोन जोन्सले १२ र रस्टी थेरनले १० रन बनाए ।
बलिङमा ओमान टीमका मोहम्मद नदीमले ३, जीशान मक्सूद, बिलाल खान, अकिब इलियासले २–२ र कलीमुल्लाहले एक विकेट लिए । जारी सिरिजमा ओमानको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा बुधबार नेपाललाई १८ रनले हराएको थियो । नेपालले आफ्नो दोस्रो म्याच शनिबार अमेरिकाविरुद्ध खेल्ने छ ।