तराई–मधेस आउँदा माइतीघर आए जस्तो लाग्छः प्रचण्ड

सिरहाः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई–मधेसबाट गरेको बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कार कट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी तराई–मधेसबाट गरेको थिएँ र जनयुद्धमा पनि यहाँबाट नै सबैभन्दा बढी सहादत भएको छ । नेपालको इतिहासमा यति ठूलो वलिदान, त्याग र तपस्या अर्को कुनै आन्दोलनमा भएकै थिएन । यस अर्थमा म तपाईहरुको ऋणी छु ।’

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटनामा नेकपा नेताको मुत्यु

मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको उनको भनाई छ । उनले तराई–मधेस–हिमाल पहाडको एकता टुट्न नदिने जिम्मेवारी आफूले महशुस गर्ने गरेको पनि बताए ।

उनले थपे, ‘आउने दिनमा हाम्रो पार्टी आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्ने र संविधानको संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा सकारात्मक रहेको म जानकारी दिन चाहन्छु ।’

याे पनि पढ्नुस  प्रचण्डले भने, ‘देउवाले पोखरामा दिएको अभिव्यक्ति झुठो र अनैतिक’

‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ’, उनले भने, ‘तराई–मधेस बिनाको पहाड र पहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्न । इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन् ।’

उनले तराई–मधेस, पहाड, हिमाललाई जोडेर समृद्धिको यात्रा तिर देशलाई लिएर जाने र आफ्नो बाँकी जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताए ।

कमेन्ट गर्नुहोस्