काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा न्यूजिल्याण्डलाई ६ विकेटले हराउँदै बंगलादेश पहिलाेपटक फाइनलमा प्रवेश गरेको छ । फाइनलमा अब बंगलादेशले उपाधिका लागि शनिबार भारतसँग खेल्ने छ ।
दोस्रो सेमिफाइनलमा न्यूजिल्याण्डले दिएको २ सय १२ रनको लक्ष्य बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे ।
आज बंगलादेशको जितमा महमूदुल हसन रोयले शतक बनाए । उनले १२७ बलमा १३ चौकाको मद्दतमा १०० रनको योगदान दिए । यस्तै टूहिट हृदब्वाइ र कप्तान शहादत हुसेनले ४०–४० रन बनाए । बलिङमा न्यूजिल्याण्ड टीमका ४ बलरले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायो ।
उसका लागि बेकहम व्हीलर–ग्रीनलले अविजित सर्बाधिक ७५ रन बनाए । बलिङमा बंगलादेश टीमका शरीफुल इस्लामले ३, शमीम हुसेन, हसन मुरादले २–२ र रकीबुल हसनले एक विकेट लिए ।