काठमाडौंः बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको छ ।
बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले पक्राउ लिएको हो । बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको हो । घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा आएका थिए ।
तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम खत्रीले कसैलाई पनि पक्राउ नगरिएको बताए ।
आश्रममा प्रहरी आएको थाहा पाएपछि आफूहरू गएको तर प्रहरीले प्रवेश गर्न नदिएको घिसिङको भनाइ छ । केही प्रहरीहरू अहिले पनि आश्रममै छन् ।
बमजनलाई उनका शिष्यहरू ‘महासम्बोधी धर्मसङ्घ गुरु’ भनेर सम्बोधन गर्छन् । बमजनमाथि हत्या, यौन हिंसा र मानिसहरू बेपत्ता पारेको समेत विभिन्न आरोपहरू लाग्दै आएका छन् । त्यसबारे थप जानकारी केही बेरमा दिने सिन्धुलीकी प्रहरी प्रमुख रञ्जु सिग्देलले बताइन् । तर बमजनका अनुयायीहरूले त्यो आरोप अस्वीकार गर्दै आएका छन् ।
आश्रमबाहिर रहेका घिसिङका अनुसार बमजन भने आश्रममा छैनन् । उनी ‘महाध्यान’ मा रहेको उनको भनाइ छ । उनले भने, ‘भौतिक, सांसारिक रूपमा देखिने आवासमा उहाँ हुनुहुन्न । जङ्गलतिर कता हुनुहुन्छ ।’
यसअघि सिन्धुलीकी प्रहरी उपरीक्षक सिग्देलले बमजनलाई खोज्न प्रहरी गएको जानकारी दिएकी थिइन् ।